आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीनको चाहना : असोजसम्म ओलीनै प्रधानमन्त्री !

आइतबार, ०२ साउन २०७३, १४ : १३
आइतबार, ०२ साउन २०७३

काठमाडौं – प्रधानमन्त्री केपी ओलीविरुद्ध कांग्रेस–माओवादी मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएपनि चीन भने केही समय अहिलेकै सरकार रहिराखोस् भन्ने पक्षमा देखिएको भारतीय पक्षको दाबी छ । कम्तिमा चिनियाँ राष्ट्रपति सि जिनपिङले गर्ने भनेको नेपाल भ्रमणसम्म यही सरकार रहिरहोस् भन्ने चिनियाँ पक्षको इच्छा रहेको बताइएको छ ।

माओवादीले सरकारको समर्थन फिर्ता गरेर कांग्रेससँग नयाँ गठबन्धन बनाएपछि चिनियाँ पक्ष यति बेला काठमाडौंमा विभिन्न पार्टीका नेताहरुसँग छलफलमा रहेको छ । उनीहरुले हालको गठबन्धन नभत्किन दिन लबिङ गरिरहेको भारतीय पक्षले जनाएको छ ।

यस विषयमा इन्डियन एक्सप्रेसले लेखेको छ, ‘एउटा चिनियाँ डेलिगेसन काठमाडौंको याक एण्ड यति होटलमा बसेर प्रधानमन्त्री ओलीको पक्षमा बहुमत बनाउन खुलेर लागेको छ । कम्तिमा चिनियाँ राष्ट्रपति सि जिनपिङको हुने भनिएको नेपाल भ्रमणसम्म चीन यही सरकारको निरन्तरता चाहन्छ ।’

यसअघि असोज ३० गते चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्ने समाचार आएको थियो ।

हङकङको पत्रिकाले नेपालको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै सम्मेलन सकिएको दिन अर्थात् अक्टोबर १६ ९असोज ३०० गते नेपाल आउने जनाएको थियो ।

यही विषयमा चिनियाँ पक्षले माओवादी अध्यक्ष प्रचण्डदेखि कांग्रेस सभापति शेरबहादुर देउवासम्मलाई भेटेर कुराकानी गरेको बताइएको छ ।

यस्तै, पूर्व राजासँग पनि चीनले छलफल गरेको इन्डियन एक्सप्रेसमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले बाहिरिसकेको माओवादीको नेतृत्वमा सरकार गठन गर्न आफूले समर्थन गर्ने प्रस्ताव फेरि पठाएको विषयलाई पनि चिनियाँ पक्षको सक्रियताको परिणामको रुपमा विश्लेषण गरिएको छ । एक राष्ट्रिय दैनिकले माओवादी नेताको भनाई उद्धृत गर्दै ओलीले प्रचण्डको नेतृत्वमा ९ महिनाको लागि सरकार गठन गर्नका लागि प्रस्ताव गरेको समाचार प्रकाशित गरेको थियो । यद्यपि, माओवादीले भने उक्त प्रस्ताव अस्विकार गरेको बताइएको छ ।

सरकार परिवर्तनको खेलसँगै दुई छिमेकी राष्ट्र चीन र भारतको नेपालमा चाँसो बढेको छ । प्रधानमन्त्री केपी ओलीले खुलेरै आफ्नो सरकार गिराउन भारत लागेको आरोप लगाएका छन् भने भारतले त्यसको खण्डन गर्न शुरु गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप