आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोरियामा चम्केका नेपाली डाक्टर

सोमबार, ०३ साउन २०७३, १२ : ०१
सोमबार, ०३ साउन २०७३

मन्दमुस्कानसहित बिरामीसँग मिजासिलो तरिकाले बोल्दै रोगीको रोग आधा कम गर्न सक्ने सामथ्र्य राख्ने वंशगोपाल भक्तपुरमा पिता हृदयकृष्ण मल्ल र माता मैयाँ मल्लको कोखबाट ३२ वर्ष अगाडि ज्येष्ठ सुपुत्रका रूपमा जन्मेका हृदयेशप्रताप मल्ल अहिले दक्षिण कोरियामा नेपालीमाझ परिचित छन् भने कोरियालीप्रति पनि लोकप्रिय डाक्टरका रूपमा चिनिन्छन् ।

क्युङ हि युनिभर्सिटी हस्पिटल होइगी सोलको न्युरो सर्जरी डिपार्टमा सन् २०१३ देखि सक्रिय डाक्टर मल्लले एसएलसीसम्मको अध्ययन एभरेष्ट स्कुल भक्तपुरबाट र आईएस्सी काठमाडौं युनिभर्सिटी धुलिखेल हुँदै एमबीबीएस वेइफाङ मेडिकल युनिभर्सिटी चाइना एवम् एमएस पीएचडी क्युङ हि युनिभर्सिटी दक्षिण कोरियाबाट पूरा गर्दै छन् ।

जब डाक्टर हृदयशले एमबीबीएस चीनबाट सिध्याए तब उनलाई आफ्नो देशमै केही गर्नुपर्छ म पहिले नेपाली हुँ, मैले नगरे कसले गर्ने भन्ने सिद्धान्तले नेपाल फर्कायो भने नेपालमा डाक्टरी पेसा अवलम्बन गर्नका लागि एनएमसी परीक्षामा सन् २००८ मा सामेल हुँदै उत्तीर्णपश्चात् ८५६१ को अनुमतिअनुसार आफ्नो पेसालाई काठमाडांै मोडल हस्पिटलबाट सेवामा सुरु गरेको बताउने डाक्टर मल्ललाई न्युरो सर्जन बन्ने ठूलो आकांक्षा काठमाडौं मोडल हस्पिटलबाट पलाए पनि अपसोस नेपालमा न्युरो सर्जरीको रेसिडेन्सी पाउन ज्यादै कठिन भएको र वर्षमा न्युरो सर्जरीको सिट केवल दुई वा तीनभन्दा बढी नहुने अनी विकल्पका रूपमा विदेशमा गएर पढ्न पथ्र्यो भने नेपालीका लागि चीन, पाकिस्तान, बंगलादेश, इन्डिया, जापान जानुबाहेक अर्को कुनै उपाय थिएन ।

डाक्टरी पेसा सुरु गरेपछि सुख–दुःखका घटना मेरो मानसपटलमा धेरै छन् । जब म आफूले उपचार गरेका बिरामी निको भएर घर गएको देख्दा त्यत्तिकै खुसी लाग्छ । अनि आफ्नो पेसाप्रति गर्व अनुभूति हुन्छ । तर, जिन्दगी सधैं एकनाशले कहाँ अगाडि बढ्छ र ? बिरामीका लागि देउता मानिने हामी डाक्टर जब देवता बन्न सक्दैनौ अनि हीनताबोध हुन्छ । यस्तै घटनाले मेरो जिन्दगीलाई एउटा टर्निङ प्वाइन्ट दियो । काठमाडौं मोडल हस्पिटलमा काम गर्दा हाम्रो वार्डमा ३८ वर्षीया महिला ब्रेन ट्युमर भएर भर्ना भएकी थिइन् । उनको पहिले पनि ब्रेन ट्युमर भएर सर्जरी भए पनि पुनः ट्युमर वृद्धि भई उपचारका लागि भर्ना भएकी थिइन् भने ट्युमर हाइग्रेड गिलोमामा थियो । उपचार सफल भए पनि ६ देखि नौ महिनाभन्दा बढी बाँच्न नसक्ने हामीले अनुमान गरेका थियांै । खुसी परिवारसाथमा सानो चञ्चले स्वभावको छोरो जहिले पनि राउन्डमा जाँदा मेरो ममीलाई के भएको, कहिले ठीक हुन्छ भन्दै सोधिरहने तर हामी नाजवाफ हुन्थ्यांै । दुर्भाग्य बिरामीको किमोथेरापी गर्दैगर्दा मृत्यु भयो, जसको जानकारी उनको श्रीमान्लाई दिँदा र उनको जवाफ पाउँदा मन भारी भयो । यसै घटनाले गर्दा पनि म आफूलाई न्युरो सर्जनमा निपूर्ण बनाउन दक्षिण कोरियामै पहिलोपटक सिटीस्कान मेसिन ल्याएर उपचार थालनी गरेको क्युङ हि युनिभर्सिटीमा आबद्ध हुँदै आफूलाई अझ निखारिरहेको छु ।

गर्बसाथ उनी भन्छन्, ‘मलाई कोरियाले धेरै सिकाएको छ भने अझै धेरै सिक्न बाँकी छ । यहाँको उपचार पद्धित धेरै एड्भान्स छ । यो पद्धतिलाई जतिसक्दो छिटो नेपालमा लागू गर्न जरुरी छ । हामी डाक्टरले काम गर्ने भनेको बिमारीका लागि हो । बिरामीको सही तरिकाबाट उपचार गरेरै हामी अगाडि बढ्न सक्छौं । बिरामीलाई निको पार्न आफ्नो ज्ञान र सीपलाई नियमित अपडेट गर्दै जानुपर्छ । यसको बोध मलाई कोरियाबाटै भयो ।’ कोरियाबाट मलाई नेपालको हस्पिटलमा भएको पेपरलेस प्रणाली लैजान मन छ । उनी थप्छन्, ‘जब बिमारी हस्पिटल छिर्छन, आफनो रिपोर्ट बोक्दै डाक्टर खोज्दै हिँड्नुपर्ने नेपाली अस्पतालमा यो इएमआर (इलेक्ट्रोनिक मेडिकल रेकर्ड) भन्ने प्रविधि उपयोग गर्न पाए सर्वसुलभ र छिटोछरितो बिरामीले उपचार पाउन सक्छन् ।’

कोरियामा नेपाली समुदायले गरेका विभिन्न स्वास्थ्य शिविरमा पुग्न नछुटाउने डाक्टर मल्ल पछिल्लो समय कोरियामा नेपाली कामदारले आत्महत्या किन गर्छन् भन्ने विषयमा तमाम नेपालीलाई जानकारी दिन लागिपरेका छन् भने आत्महत्याको कारण डिप्रेसन नै रहेको उनको निष्कर्ष छ । साथै डिप्रेसनचाहिँ नेपालीबीच बढेको तनावको तह अनि तनावचाहिँ यहाँको काम गर्ने शैली, खानपिन, रहन–सहनलाई उपयुक्त तरिकाले एडप्ट गर्न नसक्नु हो भने दोस्रो पारिवारिक तनाव नै हो । यी र यस्ता जीवनीले नेपाली आत्महत्या गर्न बाध्य छन् । यी विषयमा हामी नेपाली नै सचेत हुनुपर्छ । एकले अर्कोलाई उचित परामर्श दिन सके आकस्मिक घटनामा कमी आउने उनको तर्क छ ।

हँसिलो मुद्रामा बोल्ने हृदयेशप्रतापलाई डाक्टर बन्ने प्रेरणा बुवा हृदयकृष्णबाट प्राप्त भएको हो । छोरोले समाजका दीनदुःखीमाथि न्याय गरोस् भन्ने उनको अठोटले हृदयेशप्र्र्रतापलाई कहिल्यै आर्थिक अभाव परेन भने श्रीमती रोशनी उलकले पनि होस्टेमा हैँसे गरिन् । संयोग अहिले श्रीमती रोशनी उलक पनि क्युङ हि युनिभर्सिटीबाट प्रसूति तथा स्त्रीरोग विषयमा पीएचडी गरेकी छन् । यति हुँदाहुँदै पनि डाक्टर हृदयेशप्रताप आफूलाई अभागी सम्झन्छन् । डाक्टर भएर दीनदुःखीको सेवा गर्न प्रेरणा दिने पिताको सन् २०१२ मा मेरो कामको सही मूल्यांकन नगरी निधन भयो ।

उनी भन्छन्, ‘म नेपाली हुँ । मैले जति नै प्रगति गरे नि मेरो मातृभूमिप्रति मैले केही गर्न नसके म के नेपाली ? अनि आफूलाई के चेतनशील प्राणी सम्झौं । तसर्थ, म नेपाल र नेपालीकै लागि केही गर्ने छु । मेरो प्रत्येक उपलब्धि नेपाल र नेपालीका लागि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप