आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालीको प्रगति : जापानमा आठ रेष्टुरेन्टका मालिक

सोमबार, ०३ साउन २०७३, १२ : १४
सोमबार, ०३ साउन २०७३

पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट आईएस्सी सकेपछि गुल्मीको वामीका सुदीप सापकोटाको सपना डाक्टर बन्ने थियो । तर औसत नेपालीको जस्तै उनको सपनामा पनि तगारो बन्यो धन । गाउँ छिमेकमा जापान जाने लहर चलेकाले आफन्त र नातेदारबाट जापानका लागि दबाब आएपछि उनले थेक्न सकेनन् । थेगुन् पनि कसरी, भनेअनुसारको पढाउन परिवारले नसक्ने, भविष्य पनि हेर्नैप¥यो । त्यसपछि पढ्ने इच्छा तिलाञ्जली दिएर जापान भास्सिएका ३३ वर्षीय सापकोटा दाजु किसन सापकोटासंगै व्यवसाय गरेर अहिले करोडपति भएर निस्के । सापकोटाले आफ्नो जीवन भोगाइक्रममा रातोपाटीकर्मी भरत पाण्डेयसँग साटेको अनुभूति :

बिहानभरि घाँस काटेर दूध बेचेर स्कुल

इच्छा त डाक्टर बन्ने नै थियो । गाउँमा जन्मेको घरको स्थिति त त्यही त हो हामी औसत नेपालीको । बिहानभरि घाँस काटेर नै स्कुल जानुपर्ने । भैँसीको दूध दुहेर दूध बजारमा बेचेर, त्यही पैसाले पढेको न हो । गुल्मीबाट एसएलसी सिध्याएर पाल्पामा आईएस्सी पढ्दै थिएँ । दाजु जापान जाउनुभयो । दाजु जापान गएपछि मैले पनि बुटवल झरेर कम्प्युटर इन्स्टिच्युट चलाएको थिएँ । तर, सबै गाउँमा जापान जाने माहोल, ठूलाबाको छोराछोरी पनि उतै । हाम्रोतिर सबैतिर जापानको माहोल । मलाई पनि घरपरिवार सबैबाट दबाब आयो । त्यही देखेर केही होला भनेर विदेश गएको हो । बुवाले जे गर्न सक्नुभयो एकदम राम्रो भयो । तर, त्योभन्दा अगाडि हामीले देखेको भएर न यहाँसम्म आइयो । त्यसैले कसैले पनि आफूले गर्न सक्ने गर्नुपर्छ ।

भाँडा माझ्ने कामबाट सुरु गरेँ, त्यो पनि त डिग्री

डाक्टर पढ्न आँटेको मान्छे । अनि वर्किङ भिसामा जान मिल्नेगरी अवसर आयो । लामो समय बसौँला भन्ने त लागेको थिएन । गए पनि बरु अस्ट्रेलिया, अमेरिका जाने सोच थियो । एउटा माहोल नै जापान जाने भएपछि गइयो । २००४ मा त्यहाँ गएँ । मैले रेष्टुरेन्ट लाइनमा गर्दै नगरेको मान्छे । वर्किङ भिसामा जापान पुगेर मज्जाले रेष्टुरेन्टमा काम गरेँ । सुरुमा त किचनमा गर्नुपर्ने, सानो कामदेखि सुरु गरेँ । त्यसपछि किचनको ठुल्ठूलो काम हुँदै म्यानेजमेन्टसम्मको पनि काम सिकेँ । सुरुमा त यहाँ त्यस्तो काम नगरेको मान्छे । भाषा जानेको छैन । साह्रै गाह्रो भयो नि । अहिले आफ्नै काम गर्छु । त्यो पनि मेरो पढाइ हो भन्ने लाग्छ । त्यो डिग्री नै हो । सायद मैले होटल म्यानेजमेन्ट गरेको भए त्यो कुरा सिक्न पाउने थिएन होला ।

नेपालमा सबैलाई सधँै फुर्सद देख्दा अचम्म

नेपालमा हेर्दा त सबै सधँै फुर्सदमा देख्दा अचम्म लाग्छ । हामी त बिहानदेखि राति १०/१२ बजेसम्मै काम गरिरहनुपर्छ । त्यहाँ गएर हेरेपछि नेपालमा पनि सबैले त्यस्तै मेहेनत गरेमा नेपाल चाँडै बन्थ्यो भन्ने लाग्छ । यहाँ त गफ गर्यो बस्यो । हुन त रोजगारी पनि नभएर होला । फेरि सानो काम भनेर पनि धेरैले काम गर्दैनन् । तर, काम सानो ठूलो हुँदैन । आफ्नै काम पनि गरेमा त भइहाल्थ्यो नि । सानो कामबाट गरेर ठूलो हुने त हो नि । मेरो आफ्नो हेर्दा पनि कति समस्या भयो नि । सुरुमा त यहाँ त्यस्तो काम नगरेको मान्छे । भाषा जानेको छैन । साह्रै गाह्रो भयो । पहिला त भाषा नै गाह्रो, त्यहाँ । भाषा सिक्नलाई पनि समस्या । त्यहाँ कतै पढ्न गएर सिकौँ भन्ने पनि समय हन्थेन । नेपालमा भाषा पनि नसिकी गएको । मान्छेले कुरा गरेको सुनेर सिकेको ।

नेपालीको बानी जहाँ गए पनि अरूको डाहा गर्ने

मैले जापानमा आएर सिकेको अर्को कुरा नेपालीले अरूको विरोध गर्ने प्रवृत्ति विदेशमा आएर सुध्रेको छैन । सँगै काम गर्ने साथीले नै अलि नबुझिदिने । अहिले आफू को छु भन्ने भन्दा पनि हिजो आफू पनि त्यसरी आएको हुँ भनेर नबुझ्ने के । डाहा गर्ने, ईश्र्या गर्ने, मैले केही कुरा सिकाएँ भने उसले मलाई जित्छ कि भन्ने । त्यो प्रवृत्ति विदेशमा पनि देखाउँछन् नेपाली साथीहरूले । भर्खर आएको छ, केही पनि थाहा छैन भनेर दुःख दिने । सुरुमा त समस्या हुन्छ नि । मैले त सुरुमा आएकोलाई राम्ररी गर्नुस्, एकपटक दिन आउँछ भन्छु तर उनीहरूले त्यो पनि नभन्ने । अनि काम गरेको छ । गरे पनि जस दिँदैनन् । गाली गर्ने । अपशब्द बोल्ने । कुनै काम गरे पनि जस नदिने । त्यसबाट धेरै कुरा सिकेँ मैले ।

जापानी असाध्यै सहयोगी

अर्को कुरा सुरुमा भाषा जान्न अत्यन्तै कठिन । २० वर्षमा पनि नसकिनेजस्तै । तर, जेनतेन सिकियो । तर, जापानीमा नेपालीमा जस्तो डाहा छैन । बुझिस् कि बुझिनस् भनेर सोध्छन्, नजानेसम्म सिकाउँछन् ।

सुरुमा त म ओसाकामा आएँ । त्यसै दिन टोकियो पुगेँ । अर्को दिनबाट काम सुरु भयो । त्यसै दिन मैले किचनमा गर्नुपथ्र्यो । भाँडा माझ्नेदेखि किचनमा सघाउनेसम्म काम गरेँ । नेपालमा सीप सिकेरै आएको भए पनि समस्या भइहाल्छ । त्यहाँको नियम फरक हुन्छ तर पनि सीप सिकेकोमा केही न केही फरक भइहाल्छ । सुरुमा म जाँदा ५० हजार जापानीयेन जति हुन्थ्यो होला । १२/१४ घन्टा काम गरेँ । त्यो बेला भाषाचाहिँ सिक्नैपर्ने रहेछ भन्ने भयो, सिकियो ।

छोराको खुसी देख्न नपाउँदै आमा बित्नुभयो

अलि–अलि कमाएपछि केही गरौँ भन्ने सोच आयो । आफ्ना मान्छेले पनि यस्तै गरेका अरूको पनि देखेर यस्तो भयो । आफैँले गरेर राम्रो हुन्छ कि भनेर दुई भाइले मिलेर आफैँ रेष्टुरेन्ट सुरु ग¥यौँ । खुसी भएर २००६ मा ममीबुवालाई पनि जापान घुम्न लिएर गएँ । जाँदाको तेस्रो दिन ममीलाई प्यारलाइसिस भयो । टुरिस्ट भिसामा गएकालाई इन्स्योरेन्स पनि नहुने । उपचार गर्दागर्दा कमाएको पैसा सकियो । अनि उपचारका लागि नेपालमा पनि धेरै समय बसियो । तर, आमालाई बचाउन सकिएन ।

आठ रेष्टुरेन्टमा ३० नेपालीलाई रोजगारी

त्यसपछि फेरि कमाएर २००६ तिरबाट बिजनेस सुरु गरेको हुँ । अहिले आठ रेष्टुरेन्ट छन् । ३० नेपालीले रोजगारी पाउनुभएको छ । चार जापानी । जापानमा न्यूनतम तलब १ लाख ८० हजार नेपाली छ । त्योभन्दा माथि नै छ । एउटा रेष्टुरेन्टको थोरै भनेको पनि ५०÷६० लाख लाग्छ । भनेको अहिले पाँच करोडभन्दा बढीको लगानी छ । यहाँ नेपालीले सबै कुरा सम्हालेका छन् ।

नेपालमा पनि हनुमानको चेन रेष्टुरेन्ट

अब जुन कुरा मैले सिकेँ, त्यो नेपालमा लागू गराउन मन छ । जुन मेहेनत गरियो त्योअनुसार यहाँ केही गरौँ भनेर सोच छ । मेरो जापानमा हनुमान रेष्टुरेन्ट छ । त्यो त ब्रान्ड नै बनिसकेको छ । त्यसको चेन ब्रान्चका रूपमा यहाँ खोल्ने योजना छ । आफैँले केही नगरी राज्यलाई दोष दिन पनि भएन । पहिला आफूले गर्न प¥यो । अनि त्यसपछि के समस्या हुन्छ समाधान गर्दै जाने हो ।

जापान र नेपालमा फरक

व्यवसायमा त्यहाँ इन्स्योरेन्स हुन्छ । सबै कुराको सुनिश्चितता हुन्छ । सुरक्षा हुन्छ । व्यावसायिक वातावरण हुन्छ । काम गर्नेक्रममा पनि डाक्टर, इन्जिनयर र लेबर को ? ठूलाले ऐस गर्ने सानाले काम गर्ने भन्ने हुँदैन । काममा सबैले मेहेनत गर्नुपर्छ । साहुले पनि लेबरले जस्तै काम गरिरहेको हुन्छ । लेबरले पनि साहुलाई फुल्ली सपोर्ट गरिरहेको हुन्छ । तर, यहाँ जे गरे पनि हुन्छ भन्ने कुरा छ । युनियन भनेको छ, बन्द हुन्छ, हडताल हुन्छ । राजनीतिक स्थिरता छैन । एकदम गाह्रो छ । होटलमा ९० प्रतिशत जापानी नै आउनुहुन्छ । बाँकी १० प्रतिशतमात्रै नेपाली र अरू । जापानीबीचमा हाम्रो हनुमान रेष्टुरेन्टको एउटा ब्रान्ड नै बनेको छ । उहाँहरूले यस्तो ठाउँमा खाली छ, अर्को खोल्नुस् भनेर सल्लाह सुझाव पनि दिनुुहुन्छ ।

जापानमा रूखमा पैसा फल्दैन

अब नेपालबाट जापान जान कोही जानुहुन्छ भने त्यहाँ पुगेकाले कमाएको देखेरमात्रै हुँदैन । उसले जापान गयो । यत्रै घर ठड्यायो भनेर जानुहुँदैन । काम गर्न निकै दुःख छ । काम गरेर दुःख गर्ने हो भने नेपालमै पनि कमाइ त छ नि । तर यहाँ केही समस्या छन्, सुनिश्चितता छैन भन्नेमात्र हो । जापानमा रूखमा पैसा फल्दैन । मैले पनि १५÷१६ घन्टा काम गरेकै हो । विदेशमा जाने चाहने हो भने अरूको देखासिकी गरेर जाने होइन । काम सिकेर जानूस् । दुःख गर्नुपर्छ । रूखमा पैसा फल्दैन भन्ने सोचेर जानुस् । अनि यहाँ सोचेभन्दा त्यहाँ पुगेर बढी मेहेनत त भइहाल्छ । बल्ल केही कमाइ हुन्छ ।

त्यसैले सकेसम्म नेपालमै काम गर्नुस् । नेपालमा २० हजार नै बचत भए पनि त भयो नि । त्यहाँ कोठाभाडा मात्रै डेढ लाख तिर्नुपर्छ । दुःख १६ घन्टा । यहाँ नेपालमा त्यो त पर्दैन नि । आफ्नै घरमा बसेर कमाइ हुन्छ । फेरि नेपालमा लगानी गरेको मान्छे कर्मचारीले हो काम गर्ने भनेर बस्छ । तर, उसले मैले लगानी गरेपछि किन काम गर्ने भन्छ । आफूलाई चाहिने काम त गर्नुपर्यो नि । काम गरेर घटिँदैन, आफैँलाई फाइदा हुन्छ । अर्को कुरा नेपालमा राजनीति धेरै हुन्छ । फेरि यहाँ एउटाको कुरा काट्ने, अर्काको कुरा काट्ने यस्तै छ ।

संस्था खोलेरमात्र सामाजिक कार्य हुँदैन

योक्रममा मैले सामाजिक काम गरेको छु । तर, संस्था नै खोलेर हैन । सामाजिक काम संस्था नै खोलेर गर्नुपर्छ भन्ने ठीक होइन । मैले पढेको स्कुललमा १० लाख १० रुपैयाँको अक्षयकोष स्थापना गरेको छु । त्यसको ब्याजबाट गरिब तथा जेहेनदार विद्यार्थीले छात्रवृत्ति पाउँछन् । भूकम्पको बेला प्रधानमन्त्री राहतकोषमा सहयोग जुटाइयो । गाउँमा भत्केको विद्यालयलाई ४०÷५० लाख सहयोग गरेर निर्माण गरियो । यस्तै सरसहयोग हुँदै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप