आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पानी पसेर कैदीको बेहाल

सोमबार, ०३ साउन २०७३, १६ : २१
सोमबार, ०३ साउन २०७३

बर्दिवास - लगातार परिरहेको पानीको निकास नहुँदा महोत्तरी कारागारका कैदी थुनुवाको बेहाल भएको छ । शनिबार रातिदेखि परेको पानी नथामिएसँगै कारागारभित्र पानी भरिएपछि खान, बस्न र सुत्न नपाउँदा कैदी थुनुवाको बेहाल भएको हो ।

जिल्ला सदरमुकाम जलेश्वर नगरको गहिरो ठाउँमा रहेको कारागारमा परेको पानी र बाहिरबाट बगेर आएको फोहर थुप्रिदा परिसरमा हिँड्डुल गर्नसमेत अप्ठ्यारो परेको छ । कैदी थुनुवा कक्षका खाना पकाउने र बस्ने सुत्ने ठाउँमा नगरका ढलबाट बगेर आएका फोहर जम्मा हुँदा आपूmहरुलाई परेको अप्ठ्यारोसँगै अब महामारी फैलिनसक्ने त्रास बढेको कैदी थुनुवा बताउँछन् ।

‘आँगन नाघेर बाहिरबाट बगेर आएको फोहर खाना पकाउने र बस्ने सुत्ने ठाउँमै पानीमाथि तर परेको छ,’ कारागारमा अपहरण मुद्दाका पुराना कैदी ७० वर्षीय रामदेव मुखियाले भने – ‘खान, बस्न र सुत्न त अप्ठ्यारो छ नै, अब त बाहिरी फोहरको डुङ्गुर नै भित्र थुप्रिँदा महामारी समेत फैलिने त्रास बढेको छ ।’

पुरुष र महिलाका लागि छुट्टाछुट्टै दुई कक्ष रहेको कारागारमा अहिले क्षमता भन्दा झन्डै तेब्बर कैदी थुनुवा हुँदा व्यवस्थापनमा निकै अप्ठ्यारो परेको कारागार प्रशासनले पनि स्वीकार गरेको छ । जम्मा एकसय ३५ कैदी थुनुवा राख्ने क्षमताको कारागारमा अहिले महिला कक्षमा तीन आश्रित बालबालिकासहित ४० महिला र पुरुष कक्षमा ३५६ सहित जम्मा ३९६ कैदी थुनुवा रहेका कारागार प्रमुख शोभेन्द्र ठाकुरले जानकारी दिए ।

पछिल्लो पटक गत शनिबार रातिदेखि परेको पानी र नगरबाट आएको फोहरसमेत कारागार परिसरमा थुप्रिँदा निकै सकस परेको कारागार प्रशासनले जनाएको छ । परेको पानीको निकास र नगरको ढलबाट कारागार परिसरमा थुप्रिने फोहर बाहिर ढल व्यवस्था गरेर मिलाउन कारागार विभाग, स्थानीय प्रशासन, जिविस र नगरपालिकालाई कैयौं पटक गुहारिएको भए पनि सुनुवाइ नभएको कारागार प्रमुख ठाकुरले दिक्दारिँदै बताए ।

वर्षात्को मौसममा प्रत्येक साल यस्तो हाल बेर्होनु कारागारका कर्मचारी, सुरक्षाकर्मी र कैदी थुनुवाको नियति जस्तै बनिसकेको कारागारका अन्य कर्मचारीको दुःखेसो छ । विसं १९१३ मा बनेर त्यसयता मर्मतसम्भार नपाएको कारागार भवनमा पछिल्ला १० वर्षयता थपिएको तलाले गर्दा भवन नै ढल्ने डरसमेत बढेको कर्मचारी र कैदी थुनुवा एक मुखले बताउँछन् ।

यसैबीच, कारागारका कैदी थुनुवाले समयमा खान, बस्न र सुत्नसमेत नपाउने दुःखद अवस्था बनेको मानवअधिकारवादी संस्था इन्सेकका जिल्ला प्रतिनिधि अजय साहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप