आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वर्षाका कारण बालिङ–हुवास सडक अवरुद्ध

शुक्रबार, ०७ साउन २०७३, १६ : ४६
शुक्रबार, ०७ साउन २०७३

पर्वत - लगातारको वर्षाका कारण आएको पहिरोले दक्षिण पर्वतका एक दर्जनभन्दा बढी गाविसलाई जोड्ने वालिङ–हुवास सडक अवरुद्ध बनेको छ ।

पर्वतको हुवास र स्याङ्जाको कालिकाकोट गाविसको सिमानास्थित डुम्रेभञ्ज्याङमा सडकमाथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो । गएरातिदेखि सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिएका छन् ।

निर्माणाधीन अवस्थामा रहेको उक्त कच्ची सडकका पाँच–छ ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको उनले बताए । वर्षा नरोकिएकाले सडक खुलाउन समस्या परेको छ । सडक अवरुद्ध हुँदा हुवास, त्रिवेणी, रानीपानी, बर्राचौरलगायतका ठाउँमा जाने सवारी साधन चिसापानीमा अलपत्र परेका छन् भने अन्यत्रबाट आएका सवारी साधन डुम्रेभञ्ज्याङमा अलपत्र परेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

वर्षा रोकिएपछि सडक खुलाउन पहल गरिने उनले बताए । उक्त सडक अवरुद्ध भएपछि दक्षिण पर्वतका हुवास, त्रिवेणी, भोर्ले, रानीपानी, वहाकी, शालिग्राम, रानीपानी, बर्राचौर, उरामपोखरा, होश्राङ्दी, भोर्ले, सरौखोला गाविसवासी प्रभावित बनेका छन् ।

पर्वत सदरमुकामसँग सिधा सडकको पहुँच नपुगेका उक्त क्षेत्रका बासिन्दा वालिङ, हुवास सडक हुँदै स्याङ्जा र कास्की घुमेर सदरमुकाम कुश्माबजार आउन बाध्य भएका छन् ।

पोखरा–बागलुङ एकतर्फी

मोदीखोलामा आएको बाढीको कटानका कारण गएरातिदेखि अवरुद्ध बनेको पोखरा–बागलुङ राजमार्ग आज बिहान ९ बजेदेखि एकतर्फी रुपमा सञ्चालन भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१२ स्थित पराधीमा मोदीखोलाको कटानका कारण सडक भत्किएको थियो । मोदी खोलामा आएको बाढीको उच्च बहावले पक्की सडक नै भत्काएर लगेपछि भित्तातर्फको पहाड काटेर एकतर्फी रुपमा सडक सञ्चालन गरिएको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।

सडक सञ्चालन भएसँगै रातिदेखि अलपत्र बनेका लामो तथा छोटो दूरीका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई जोड्ने एकमात्र सडक अवरुद्ध हुँदा सिङ्गो धौलागिरि अञ्चल प्रभावित हुने गर्छ । उक्त सडकबाट दैनिक एक हजारभन्दा बढी सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् ।

सेतीवेणीबजार खतरामा

बिहीबारदेखि परेको लगातारको वर्षाका कारण पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा रहेको सेतीवेणीका बासिन्दा त्रसित बनेका छन् ।

कालीगण्डकीमा पानीको सतह बढेर बजारसम्म आइपुगेपछि स्थानीयवासी रातभर जाग्राम बसेका छन् । नदीको बहाव बजारसम्म आइपुग्न अब दुई फिटमात्रै बाँकी रहेको स्थानीय प्रहरी चौकीका प्रमुख चन्द्र न्यौपानेले जानकारी दिए । उनले भने –“अहिले स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जाने तयारीमा रहन आग्रह गरिएको छ । वर्षा कम नहुने हो भने जुनसुकै बेला पनि बजार डुबानमा पर्न सक्ने खतरा बढेको उहाँले बताउनुभयो ।

मुलुककै सबैभन्दा ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको छ ।

विगत छ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । बिहीबारदेखिको वर्षा र बाढीले स्याङ्जातर्फको भागमा कटान सुरु गरेकाले बाढीको मात्रा बढेमा जुनसुकै बेला पनि बाढी पसेर बजार बगाउन सक्ने देखिएको छ ।

शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबिनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जानै नसक्ने अवस्था आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप