आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेगा बैंक सातौँ बर्षमा : बैंकलाई संघीय संरचना अनुसार लैजाने घोषणा

शुक्रबार, ०७ साउन २०७३, १५ : १०
शुक्रबार, ०७ साउन २०७३

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेड शुक्रबारबाट सातौँ बर्षमा प्रवेश गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंकको प्रधान कार्यालयमा शुक्रबार आयोजित छैटौं बार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मेगा बैंकलाई अब संघीय संरचना अनुसार लैजाने घोषणा गरे । उपत्यकाबाहिरका ग्राहकहरुलाई लक्षित गर्दै बैंकले वुटवलमा क्षेत्रीय कार्यालय स्थापना गरिसकेको जानकारी दिँदै उनले संघियताको कार्यान्वयनसँगै मेगा बैंकलाई संघिय संरचनामा लैजाने गरि गृहकार्य भइरहेको बताए ।

यसैगरी, मेगा बैंकलाई देशकै अग्रणी बैंकका रुपमा उभ्याउन मर्जर र एक्वीजिशनलाई प्राथमिकता दिने उनले बताए । मर्जरबाहेक हकप्रद शेयर जारी गरेर राष्ट्र बैंकले तोकेको पुँजी अभिबृद्धिको मापदण्ड पूरा गर्ने योजना पनि रहेको उनको भनाइ छ । ‘गएको बैशाखबाट वुटवलमा प्रधान कार्यालय रहेको पश्चिमाञ्चल विकास बैंकलाई हामीले मेगा बैंकमा मर्ज गरिसकेका छौँ, हामीसँग मर्जरका लागि अन्य बैंकहरुले ल्याएको प्रस्तावमा पनि छलफल भइरहेको छ ।,’ अध्यक्ष शाहले भने– ‘मर्जरमा जाने कि हकप्रद शेयर जारी गर्ने विकल्प रोज्ने भन्नेमा हामी आन्तरिक छलफलमा छौँ, छिट्टै त्यसको टुंगोमा पुग्छौं ।’

मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी भइरहेको जानकारी दिए । त्यसका लागि औपचारिक प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै उहाँले राष्ट्र बैंकको नियमानुसार संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गरिएको बताए । ‘यसले लगानीकर्ताहरुको लगानी गर्ने क्षमता अभिबृद्धि गरेको छ ।’– उनले भने ।

सिइओ शाहका अनुसार, मेगा बैंकले गत आर्थिक बर्षमा अछाम र डडेल्धुरामा शाखा विस्तार गरेको छ । ‘चालु आर्थिक बर्षमा पनि राजधानीसहित बैंकिङ सेवा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक सेवासहितको शाखा विस्तार गर्ने योजना रहेको छ, त्यसका लागि सम्भाव्यता अध्ययन भइरहेको छ ।’– उनले भने ।

गत आर्थिक बर्षमा भिसा डेबिट र क्रेडिट कार्ड तथा ट्राभल कार्ड संचालनमा ल्याइएको बताउँदै सिइओ शाहले आगामी दिनमा कार्ड तथा इ–च्यानलका नवीनतम र प्रभावकारी सुविधाहरु थप गरिने तथा रेमिट्यान्सको अन्तर्राष्ट्रिय सञ्जाल विस्तारलाई तीव्रता दिइने बैंकको योजना रहेको जानकारी दिए ।

‘हलोदेखि हाइड्रोसम्म भन्ने नारा बमोजिम मेगा बैंकले साना मझौला व्यवसाय ९एसएमई० र लघुबित्तलाई प्राथमिकतामा राख्दै आएको छ । गत आर्थिक बर्षमा निक्षेप संकलन १० अर्ब बढेर ३१ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह पनि करिब १० अर्ब बढेको छ । गत आर्थिक बर्ष कर्जा प्रवाह १८ अर्बबाट बढेर २८ अर्ब पुगेको हो । ग्राहक संख्या पनि झण्डै एक लाख बढेको छ । गतबर्ष करिब १ लाख ४३ हजार रहेकोमा अहिले २ लाख २५ हजार पुगेको छ । कर्जाको औसत आकार २५ लाख ५० हजार र निक्षेपको १ लाख ४४ हजार रहेको छ ।

मेगा बैंकको ४४ वटा शाखा र एउटा एक्सटेन्शन काउन्टर छ । यसैगरी, ४५ वटा एटीएम सञ्जाल छन् । देशका ५४ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले करिब १४ सय स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको छ ।

सहयोग हस्तान्तरण

यसैबीच, वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा गरिएको कार्यक्रममा आर्थिक अवस्था कमजोर भएर पढाइ छाड्न बाध्य बालबालिकालाई पढाउँदै आएको बैंकले ‘चिल्ड्रेन एण्ड युथ फस्ट’ नामक संस्थालाई ९० हजार रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।

कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संस्थाका संस्थापक सदस्य हौसला थापालाई सहयोग रकम हस्तान्तरण गर्नुभयो । मेगा बैंकले हरेक बर्ष बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थालाई सहयोग गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप