आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गोलभेँडा खेतीप्रति युवा आकर्षण बढ्दै

शुक्रबार, ०७ साउन २०७३, १२ : ११
शुक्रबार, ०७ साउन २०७३

ललितपुर - पछिल्लो समय गोलभेँडा खेतीप्रति युवा जमातको आकर्षण बढ्दै गएको छ ।

थोरै लगानीबाट मनग्य आम्दानी लिन सकिने भएकाले गोलभेँडा खेतीप्रति युवा आकर्षित भएका हुन् । खेती गर्न उनीहरूले भाडामा जग्गा लिएर व्यवसाय सञ्चालन गर्दै आएका छन् । अन्य व्यवसायमा विभिन्न समस्या देखिएपछि युवाको यस व्यवसायप्रति लगाव बढेको हो ।

बज्रबाराही नगरपालिका– ८ का राधाकृष्ण महर्जन १० रोपनी जग्गा भाडामा लिएर पाँच वर्षदेखि गोलभेँडा खेती गर्दै आएका छन् । उक्त खेतीका लागि उनले १० वटा प्लास्टिकका टनेल निर्माण गरेका छन् । न्युनतम् चार मिटर चौडाई र १५ मिटर लम्बाइ रहेको टनेलमा गोलभेँडा खेती गर्दै आएको उनले दुईजना कामदार समेत राखेका छन् ।

“बजारको माग अनुरूप गोलभेँडाको उत्पादन गर्नुपर्ने हुन्छ,” उनले भने । मौसमीभन्दा बेमौसममा उत्पादन भएको गोलभेँडाले उचित मूल्य पाउने गरेको छ ।

यस्तै बज्रबाराही नगरपालिका– १३ का शिवराम थापा गोलभेँडा खेतीको आम्दानीले परिवारको गुजारा चलाउन सहज भएको बताउँछन्। “वैदेशिक रोजगारमा जानुभन्दा कृषि व्यवसायमा लाग्नु नै ठिक छ,” उनले भने । तरकारी सङ्कलन केन्द्रको स्थापना स्थानीय रूपमै हुनसके कृषकको मनोबल बढ्ने उनको भनाइ छ । उनले पाँच रोपनी जग्गा भाडामा लिएको र यसबाट आफ्नो आर्थिक अवस्थामा सुधार हुँदै गएको बताए ।

बज्रबाराही नगरपालिका–९ का बालकृष्ण श्रेष्ठ गोलभेँडा खेतीबाट घरखर्चको जोहो गर्न सहज हुने बताउँछन् । युवालक्षित स्वरोजगार कार्यक्रमअन्तर्गत जिल्ला कृषि विकास कार्यालयबाट गोलभेँंडा खेतीका लागि आवश्यक सहयोग प्राप्त भएको उनले बताए ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपककुमार शर्माले युवालाई गोलभेँंडा खेतीमा आकर्षणका लागि अनुदान दिने गरेको बताए । उनले गोलभेँंडा खेतीमा निर्माण हुने टनेलमा लाग्ने प्लास्टिकमा कार्यालयले सहयोग गर्ने गरेको बताए । उत्पादन गरेका कृषिजन्य बस्तुको बजार व्यवस्थापनका लागि कार्यालयले चाँपागाउँलगायत विभिन्न स्थानमा तरकारी सङ्कलन केन्द्रको स्थापना गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप