नियमविपरीत सञ्चालनमा रहेका कालिमाटीको ६० वटा तरकारी पसल हटाइयो
काठमाडौँ - नियमविपरीत सञ्चालन हुँदै आएको कालिमाटीको झन्डै ६० वटा तरकारी पसल भत्काउने काम सुरु भएको छ ।
कालिमाटी फलफूल तथा तरकारी विकास समिति, स्थानीय बासिन्दा र व्यवसायी मिलेर आजबाट उक्त तरकारी पसल भत्काउने काम सुरु गरिएको हो ।
झन्डै पाँच वर्षदेखि उक्त स्थानमा पसल सञ्चालन गर्दै आउँदा स्थानीय बासिन्दा र उक्त स्थानमा रहेका अन्य व्यवसायीलाई समेत समस्या परेकाले उक्त पसल हटाउन सुरु गरेको समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।
निर्देशक पौडेलका अनुसार अव्यवस्थितरुपमा पसल सञ्चालन गर्दा फोहर पनि अत्याधिक रुपमा बढेकाले समितिले बजार सुधार गर्न त्यस्ता पसल हटाउन बाध्य बन्नु परेको हो ।
भत्काउन लागिएको ६० वटा पसलले समितिमा सम्झौता नै नगरी सञ्चालन गर्दै आएका थिए ।
पसल निर्माण गर्दाको समय समिति चुपचाप बसेको र अहिले बिनासूचना आएर आफ्नो गरिखाने भाँडो खोसेको भन्दै व्यवसायी भने आक्रोसित बनेका थिए ।