मकवानपुरमा पहिरो : ससुरालीमा बस्दै आएका टेकबहादुरको परिवारका तीनै जनाको मृत्यु
मङ्गलबार, ११ साउन २०७३, १० : २२
काठमाडौं–मकवानपुरको भिमफेदी–५ मा आज बिहान ४ बजे गएको पहिरोमा परी ३ जनाको घटनास्थलकै मृत्यु भएको छ ।
मनमाया साङताङ (सासु) को घरमा बस्दै आएका अन्दाजी २३ वर्षीया पार्वती रुम्बा (छोरी), अन्दाजी ३१ वर्षीय टेकबहादुर रुम्बा (ज्वाई) र अन्दाजी ७ वर्षीय विकास रुम्बा (नाती)को मृत्यु भएको हो ।
प्रहरीका अनुसार मनमायाको २ वटा घर भएपनि उनी ज्वाईछोरीसँग छुट्टै अर्को गोठजस्तो घरमा बस्दै आएकी थिइन् ।
घटना घटेको जानकारी भएलगत्तै घटनास्थलमा पुगेर प्रहरीले तत्कालै पहिरोबाट बाहिर निकाल्दा उनीहरुको मृत्यु भइसकेको जानकारी दिएको छ ।
पहिरोबाट १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा अहिले नेपाली सेना, नेपाल पुलिस र सशस्त्र प्रहरीको टोली पुगेको छ ।