सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पार्टीले गणतन्त्र स्वीकारेको छैनः राप्रपा नेपाल

बिहीबार, १३ साउन २०७३, २१ : ५९
बिहीबार, १३ साउन २०७३

काठमाडौं – राप्रपा नेपालले आफ्नो पार्टीले संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डा नछाडेको स्पष्ट पारेको छ । गणतन्त्रको एजेण्डालाई स्वीकार गरेर राप्रपासँग एकीकरण हुन नसक्ने सो पार्टीको भनाई छ । राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले बिहिबार एक कार्यक्रममार्फत राप्रपा नेपालले एकताका लागि गणतन्त्र र संघीयतालाई स्वीकार गरिसकेको बताएका थिए । तर, राप्रपा नेपालले भने त्यसमा कुनै सत्यता नरहेको भन्दै आफूहरु राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डामा अडिग रहेको स्पष्ट पारेको हो ।

पार्टी प्रवक्ता राजाराम श्रेष्ठले राप्रपा नेपालले आफ्नो एजेण्डा नत्यागेको र नत्याग्ने भन्दै राप्रपा अध्यक्षबाट आएको अभिव्यक्तिले आफ्नो पार्टीलाई दुःखी बनाएको रातोपाटीलाई बताए । ‘लामो समयदेखि हिन्दुत्व र संवैधानिक राजसंस्थाको एजेण्डा राप्रपा नेपालले बोक्दै आएको छ, यही एजेण्डाको कारण जनताले विश्वास गर्नुभएको छ, राप्रपाले एजेण्डा छाड्नु भएको जनतालाई धोका दिनु हो’, श्रेष्ठले भने, गणतन्त्र र संघीयतालाई स्वीकार गरेर एकतामा जाने भन्नेमा कुनै सत्यता छैन ।’ उनले हाललाई आ–आफ्नो एजेण्डा बोकेर एकतामा जाने समझदारी यसअघि नै बनेको र सोहि अनुसार आगामी साउन १६ गतेभित्र एकता गर्ने दुबै पार्टीले केन्द्रीय कार्यसमितिको बैठकमार्फत निर्णय गरेको पनि बताए । तर, ति दुई एजेण्डा मध्ये कुन लिने भन्नेमा एकतापछि हुने महाधिवेशनले टुंग्याउने उनको भनाई थियो । एकता महाधिवेशनबाट चाहिँ गणतन्त्र वा राजतन्त्र, धर्मनिरपेक्ष वा हिन्दुराष्ट्र के मान्ने भन्ने विषयमा जे निर्णय हुन्छ त्यही मान्न आफूहरु तयार हुने उनको भनाई छ । यसैबीच राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले पनि राप्रपा नेपाल आफ्नो एजेण्डाप्रति अविचलित रहेको स्पष्ट पारेका छन् ।

कतिपयले राप्रपा अध्यक्षको अभिव्यक्तिसँगै एकता प्रक्रिया भाँडिन सक्ने समेत विश्लेषण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप