बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

थाहा पाउनुस् नायक संजय दत्त कसरी बने ‘खलनायक’

शुक्रबार, १४ साउन २०७३, १० : ५३
शुक्रबार, १४ साउन २०७३

बलिउड अभिनेता संजय दत्तको आज (जुलाई २९ तारिख) जन्मदिन हो । कहिले नायक त कहिले खलनायक बनेर मानिसहरुको मन जित्ने संजय दत्तको जीवनको कहानी कुनै फिल्मभन्दा कम छैन । कहिले नशाको लत छुटाउनका लागि सुधार केन्द्र त कहिले अवैध हतियार राखेको आरोपमा जेल जानुपर्ने बाध्यता । आज हामी तपाईंलाई संजय दत्तको जीवनका यस्तै आरोह अवरोह पस्कँदै छौं ।

संजय दत्तको जन्म २९ जुलाई सन् १९५९ मा चर्चित अभिनेता सुनील र अभिनेत्री नरगिस दत्तको छोराको रुपमा भएको थियो । संजयको जीवन एक राजकुमारको जस्तै बितेको थियो । आमाबुवा फिल्मी दुनियाँसँग जोडेका कारण उनले अभिनय विरासतमा पाएका थिए । संजयले सन् १९८१ मा फिल्म रकीबाट आफ्नो करियरको सुरुवात गरेका थिए । त्यसपछि उनको हरेक वर्ष २ देखि ३ वटासम्म फिल्म रिलिज हुनथाल्यो । ९० को दशकमा संजयले बक्स अफिसमा राज गर्न थालेका थिए । एकातर्फ संजय बलिउडमा नाम कमाइरहेका बेला १२ मार्च सन् १९९३ मा मुम्बईमा बम हमला भयो । २५० भन्दा बढी मानिसहरुको मृत्यु भयो । पूरा भारत रोइरहेका बेला संजय दत्तको गिरफ्तारीले पूरै देशलाई चकित बनाइदियो ।

उनीमाथि मुम्बई हमलाको क्रममा अवैध हतियार राखेको आरोप लागेको थियो । यही आरोपसँगै उनी फिल्मी दुनियाँका हिरोबाट रियल लाइफका भिलेनमा परिवर्तन भए । उनलाई सन् १९९३ को अप्रिल १९ तारिखका दिन फिल्मको सुटिङ सकेर मोरिससबाट फर्किरहेका बेला पक्राउ गरिएको थियो । यद्यपी उनले १८ दिनपछि मात्र जमानत पाएका थिए । सन् १९९४ जुलाई ४ मा जमानत रद्द भएपछि उनलाई पुनः जेल जानु परेको थियो । यसपटक भने उनी धेरै दिनसम्म जेलमा बस्नुपरेको थियो । दोस्रो पटक जेल पुगेका उनले १२ महिना १८ दिन काटे । मुम्बई बम हमला पछि संजय दत्त दुई वर्षभित्र चार पटक जेल गए । चौथो पटक जब संजय दत्त जमानतमा छुटेर जेल बाहिर निस्किए, तब एक पटक फेरी उनको जिन्दगी पुरानो ढर्रामा फर्कियो । संजय फिल्मको सुटिङ गर्न थाले । उनको केस टाडा कोर्टमा चलिरह्यो । १२ वर्षपछि १८ मे सन् २००७ मा जब यो मामलाको सुनुवाई सिद्धियो तब संजय दत्त टाडाको आरोपबाट मुक्त भए तर अवैध हतियार राखेका कारण उनलाई आम्र्स एक्टको आधारमा ६ वर्षको सजायँ सुनाइयो । संजयलाई आर्थर रोडको जेलको ब्यारेकमा शिफ्ट गरियो । संजय दत्तले सुप्रिम कोर्टमा अपिल गरे । उनको अपिलमा सुनुवाई हुञ्जेलसम्मको लागि नोभेम्बर २००७ सम्मको लागि उनलाई जमानत दिइयो । सन् २००८ मा संजयको भेटघाट मान्यता दत्तसँग भयो । दुबैले गोवामा विवाह गरे । २१ मार्च सन् २०१३ मा सुप्रिम कोर्टले संजय दत्तमाथि लागेको आरोपलाई सही बतायो । यद्यपी, टाडा कोर्टले सुनाएको ६ वर्षको सजायँलाई ५ वर्ष बनाइदियो । संजय दत्त पुनः एकपटक यरवदा जेल पुगे । राम्रो व्यवहार र कैदीले पाउने सरकारी छुट्टीका कारण संजय दत्त साढे चार महिना पहिले नै जेलबाट बाहिर आए र आफ्नो जिन्दगी पुनः सुरु गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप