सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संसदमा प्रस्ताव दर्ता गराएका काँग्रेस र एमाले सांसदले भने : महाअभियोग लगाउँछौं

सोमबार, १७ साउन २०७३, १५ : १४
सोमबार, १७ साउन २०७३

काठमाडौं – नेपाली काँग्रेसका नेता धनराज गुरूङ्ले आफूहरुले अख्तियार दुरूपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध छलफलको लागिमात्रै कुरा नउठाएको दाबी गरेका छन् । उनले भने,‘उहाँमाथि गम्भिर आरोप लागेको छ, यो देश र जनताको लागि अत्यन्तै महत्वपूर्ण विषय हो, नयाँ सरकार गठन भएसँग संसदमा ५ सय ९६ सदस्यहरुवीच अवश्य छलफल हुन्छ, छलफल भैसकेपछि वास्तविक कुरा बाहिर ल्याउने विषयमा संसदीय छानविन समिति गठन भएर महाअभियोग लगाउन सम्म सकिन्छ ।’ सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद गुरूङ्ले भने,‘हामीले उठाएको विषय र संसदमा दर्ता भएको प्रस्ताव नेपाली जनताको पक्षमा छ, नयाँ सरकार गठनसँगै यो विषयलाई छलफलमा लैजाने सहमति भइसकेको छ ।’ उनले यो वीचमा अख्तियारले उल्टासुल्टा काम गरेको गुनासोहरु व्यापक रुपमा बाहिर आएकोले आफूहरुले उक्त विषय उठान गरेको दाबी गरे । गुरूङ्ले संसदीय समितिले छलफलको लागि बोलाउँदा प्रमुख आयुक्त कार्कीले बहाना बनाएर संसदलाई छलेको आरोप समेत लगाए । उनले अघि थपे,‘समितिमा बोलाउँदा डाक्टरले नबोल्नु भनेको छ भनेर झुक्याउने काम भयो, घाँटी दुःखेको बहानामा संसद छल्न पाईन्छ र ?’ उनले विरामी भएकै कारण समितिमा भाग लिन नमानेका कार्कीले खुलमखुल्ला टेलिभिजनमा अन्र्तवार्ता दिएकोवारे प्रश्न गर्दै भने,‘उही लोकमान हो कि अर्को हो, तर त्यही अनुहार गरेको व्यक्ति त बडो शानका साथ टिभिमा अन्र्तवार्ता पो दिईरहेको छ, डाक्टरले पनि कस्तो प्रिस्क्रिप्सन दिँदा रहेछन्, समितिमा बोल्न नहुने अनि टिभीमा चाहीँ ठूलो स्वरले बोल्न मिल्ने ?’ उनले अख्तियार प्रमुखमाथि काठमाण्डौं विश्वविद्यालय प्रवेश परिक्षा, गोकर्ण रिसोर्टको शेयर काण्ड र सार्वजनिक लेखा समितिले सुन काण्डबारे अडियो–भिज्यूयल प्रमाण पेश गर्दासमेत कुनै चासो नदेखाईएकोले उसको कार्यक्षेत्रमा व्यापक प्रश्न उठेको गुनासो गरे । काँग्रेस–माओवादी केन्द्रको नयाँ गठबन्धनमा नयाँ सरकार गठन भएपनि नेकपा एमालेले संविधान कार्यान्वयनको लागि रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । उनले विगतमा काँग्रेस–एमालेको सरकार हुँदापनि तत्कालिन एमाओवादीले संविधान जारी गर्ने विषयमा जिम्मेवार ढंगले सहयोग गरेको उल्लेख गर्दै भने,‘अहिले एमालेपनि संविधान कार्यान्वयनको लागि त्यस्तै भूमिका निर्वाह गर्न जरूरी छ ।’ नेकपा एमालेका नेता रविन्द्र अधिकारीले संसदमा सार्वजनिक महत्वको विषयमा छलफल हुने निश्चित भईसकेको उल्लेख गर्दै आफ्नो पार्टीले पनि छलफलमा भाग लिने दाबी गरे । उनले भने,‘सार्वजनिक महत्वको प्रस्ताव भएकोले हाम्रो पार्टीले भाग नलिने भन्ने कुरै आउँदैन, छलफल गर्दै जाने हो यसले अरु धेरै बाटोहरु खोल्छ भन्नेमा म विश्वस्त छु ।’ अधिकारीले एक दुईवटा राम्रो काम गरेको बहानामा संसदलाई छल्ने काम गर्न नमिल्ने बताए । उनले अघि थपे,‘अख्तियारलाई बलियो बनाउनुपर्छ, यसको अर्थ लोकमानलाई बलियो बनाउने होईन नि ।’ अधिकारीले संवैधानिक निकाय मर्यादित भएर बस्नुपर्ने उल्लेख गर्दै भने,‘संसदले बोलाउँदा अनि संसदीय समितिले बोलाउँदा संवैधानिक निकायले जवाफ दिनुपर्छ, विरामी भएको बहानामा संसदलाई छल्ने काम गर्नुहुँदैन, संसदले बोलाउँदा नगएपछि हामीले कसरी उहाँलाई उत्तरदायित्व मान्ने त ?।’ अधिकारीले आक्रोश पोख्दै भने,‘अख्तियार र यसका प्रमुख भागेका छन्, यस्तो तरिकाबाट राज्य कसरी चल्छ ?।’ आफ्नो क्षेत्राधिकारभन्दा बाहिर आएर काम गरिएको भन्ने प्रश्न आएकाले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको उल्लेख गर्दै भने,‘संसदलाई चित्त बुझेन र संविधानको बर्खिलाप भएको पुष्टि भयो भने छानविन समिति बनाएर अनुशन्धान गछौं र निर्णय लिन्छौं ।’

तर नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले अख्तियार प्रमुख आयुक्तलाई महाअभियोग लगाउन नमिल्ने ठोकुवा गरे । उनले भने,‘संसदमा दर्ता भएको पत्र ध्यानाकार्षण पत्र मात्रै हो, यो महाअभियोगको लागि आएको विषय होईन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप