सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तिलाठी सीमा बाँध विवादको समाधान कूटनीतिक तवरमा गरिनुपर्ने सरोकारवालाहरुको माग

सोमबार, १७ साउन २०७३, १७ : २३
सोमबार, १७ साउन २०७३

काठमाडौं– सरोकारवालाहरुले सप्तरीको खाँडो खोलामा भारतले एकतर्फी रुपमा बलमिच्याँई गरेर बाँध निर्माण गरेकोले सिमामा समस्या उत्पन्न भएको दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा खाँडो खोला सिमा बाँध पिडित, फियान नेपाल, युचेप नेपाल, खाद्य अधिकारका लागि राष्ट्रिय सञ्जालको संयुक्त आयोजनामा गरिएको पत्रकार सम्मेलनमा बोल्ने अधिकांश वक्ताहरुले नेपाल–भारतवीच खुल्ला सीमाना रहेकोले यस्ता खाले समस्याहरुको दीर्घकालिन समाधानको लागि सरकारी स्तरमै कूटनीतिक पहल गर्नुपर्ने धारणा राखेका हुन् । कार्यक्रममा बोल्दै सप्तरी जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तेजुलाल चौधरीले सिमामा देखिने डुबानको समस्या अहिलेको मात्रै नभएर पूरानै समस्या भएको बताए । उनले उक्त समस्या समाधान गर्नकोलागि सरकार गम्भिर भएर प्रस्तुत हुनुपर्ने बताए ।

खाँडो नदीको संरक्षणको लागि राष्ट्रपति चुरे कार्यक्रममा समेत उक्त कार्यक्रम राखिएको उल्लेख गर्दै थपे,‘यसको लागि वर्षेनि बजेट पनि छुटिन्छ, तर खर्च हुन्छ कि हुँदैन, अहिलेसम्म हामीलाई थाहा छैन्, तर त्यो क्षेत्र सँधै डुबानमा पर्छ ।’ अर्का सांसद सुरेन्द्र प्रसाद यादवले पनि द्धिपक्षीय सम्वाद, सहमति र कुटनीतिक छलफलका माध्यमबाट मात्रै उक्त समस्याको समाधान गर्न सकिने धारणा राखे । उनले उक्त समस्या अन्र्तराष्ट्रिय भएको उल्लेख गर्दै सोही तवरबाट दुवै पक्षका नेतृत्वले छलफल गरेर समाधान निकाल्नुपर्ने बताउँदै घट्नाका बारेमा सदनलाई जानकारी गराउने विश्वास दिलाए । त्यस्तै कार्यक्रममा भारतका लागि नेपाली पूर्वराजदुत डा. दुर्गेशमान सिंहले उक्त घट्ना कूटनीतिक समस्या भएकाले अन्तरदेशीय समितिहरुलाई क्रियाशिल गराएर समाधानतर्फ अघि बढ्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा तिलाठी बाँधका पीडितहरु संजिव यादव र रतन यादवले भारतले एकतर्फी रुपमा बाँध बाँधेर ६ सय विघा धान खेत डुबानमा परेको गुनासो पोखे । कार्यक्रममा फियान नेपालका महासचिव सत्य तोयान, युचेप नेपालका अध्यक्ष रविन घिमिरे र खाद्य अधिकारकालागि राष्ट्रिय सञ्जालका राष्ट्रिय संयोजक डा. केशव खड्काले भारतद्धारा एकतर्फी रुपमा खाँडो खोलामा बाँध निर्माण गरि ईतरदेशिय दायित्व (ईटियो) उल्लंघन गरेको कारण नेपालीहरुको खाद्य अधिकार उल्लंघन भएको गुनासो पोखे । उनीहरुले अन्र्तराष्ट्रिय कानुन हेल्सिन्की नियमहरु, १९६६ को नियम २९(२) अनुसार कुनै एक तटिय राष्ट्रले सीमावाट पानी निकास हुने कुनै क्षेत्रमा गर्न चाहेका प्रस्तावित निर्माण कार्य तथा संरचनाका बारेमा अर्को सम्बन्धित तटि राष्ट्रलाई अग्रिम जानकारी दिनुपर्ने बाध्यात्मक व्यवस्था रहेको उल्लेख गर्दै आफ्नो धारणा राखेका थिए । उनीहरुले तिलाठी बाहेक भारतद्धारा निर्मित लक्ष्मणपुर बाँध, कोशी ब्यारेज, टनकपुर बाँध, गण्डक ब्यारेज लगायतका बाँधहरुबाट समेत नेपालीहरुले निरन्तर दुःख पाईरहेको उल्लेख गर्दै यी क्षेत्रका समस्या समाधान गर्न समेत दुवै पक्षले जिम्मेवार भएर आफ्नो भूमिका निर्वाह गर्नुपर्ने माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप