सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सर्वोच्चमा न्यायाधीश पूर्णता, ११ न्यायाधीश सपथपछि सर्वोच्चमा हाजिर

सोमबार, १७ साउन २०७३, १८ : ०६
सोमबार, १७ साउन २०७३

काठमाडौं–न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाईपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार ११ जना न्यायाधीश नियुक्त गरेसँगै सर्वोच्च अदालतले पूर्णता पाएको छ । ११ जना न्यायाधीशको नियुक्तिसँगै सर्वोच्चमा न्यायाधीशको संख्या २० पुगेको छ । संविधानमा प्रधानन्यायाधीशका अतिरिक्त सर्र्वोच्चमा बढीमा २० जना न्यायाधीश रहने व्यवस्था छ । नवनियुक्त ११ जना न्यायाधीशहरु सपथग्रहण लगत्तै सोमबार सर्वोच्च अदालतमा हाजिर भएका छन् । नवनियुक्त न्यायाधीशद्वय हरिकृष्ण कार्की र सपना प्रधान मल्ल एकसाथ अदालतभित्र प्रवेश गरे । वर्षौंपछि संविधानमा व्यवस्था गरिएअनुसारको संख्यामा न्यायाधीश पाएका कारण अब पुराना मुद्दाहरुको चाप उल्लेख्यरुपमा घटेर जाने सर्वोच्चको विश्वास छ । सर्वोच्च अदालतमा अहिले २४ हजार १ थान मुद्दा छन् । तीमध्ये १० हजार ७ सय ८१ थान मुद्दा दुई वर्ष तथा २ हजार १२ थान मुद्दा पाँच वर्ष पुराना हुन् । सर्वोच्चका सह रजिष्ट्रार नहकुल सुवेदीले ११ जना न्यायाधीशको नियुक्तिसँगै अब दैनिक १० वटा इजलास संचालन हुने र त्यसबाट मुद्दाको फछ्र्योट दर बढाउन ठूलो सहयोग पुग्ने बताए ।

न्यायाधीशको संख्या एक दर्जनभन्दा कम भइ जम्मा ६ वटा इजलास संचालन हुँदा पनि सर्वोच्चले गत आर्थिक वर्षमा ११ हजार १ सय ६३ वटा मुद्दामा फैसला सुनाएको थियो । जुन जम्मा मुद्दाको ३२ प्रतिशत हो । सर्वोच्चले २४ जना न्यायाधीश हुँदाका बखत पनि एक वर्षमा यति धेरै मुद्दाको फैसला गरेको रेकर्ड छैन । गत वर्षको भुकम्पले मुल भवनमा क्षति पुगेपछि सर्वोच्चले ६ वटै इजलास एनेक्स भवनमार्फत संचालन गर्दै आएको छ । सह रजिष्ट्रार नहकुल सुवेदीले नवनियुक्त सबै न्यायाधीशका लागि एनेक्स भवनमा नै इजलास थप गर्न सम्भव नरहेकाले ४ वटा इजलास अब मूल भवनमा स्थापना गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप