सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यातायात कार्यालयमा भूकम्प प्रभावितको घुइँचो

सोमबार, १७ साउन २०७३, २० : ०२
सोमबार, १७ साउन २०७३
ललितपुर– नयाँ ट्याक्सी दर्ता गर्ने चिठ्ठा भर्न सिन्धुपाल्चोक धुस्कुन गाविसका भूकम्प प्रभावित नन्दलाल डोटेल दिनभर एकान्तकुनास्थित यातायात व्यवस्था विभागमा लामबद्ध भए । भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था कार्यालयको वाग्मती अञ्चल कार्यालयले भूकम्पपीडितलाई लक्षित गरी सुरु गरेको नयाँ ट्याक्सी दर्तामा उनी लाम लागेका हुन् । बिहान सबेरैबाट लाममा बस्नुभएका उहाँको दिउँसोसम्म पनि पालो आएको थिएन । गाउँमा नै खेतीपाती गर्दै आएको डोटेल ट्याक्सी दर्तापछि नयाँ किनेर छोरालाई चालक बनाउन चाहन्छन् । उनी भन्छन्, “गाउँमा भएको घर सम्पत्ति सबै भूकम्पले लग्यो अब ट्याक्सीले नै केही गुजारा गर्न सकिएला कि ?” दोलखाको घ्याङ्सुकाथोकर गाविसका राममणि भण्डारी पनि भूकम्पले क्षति गराएको सम्पत्ति ट्याक्सीबाट भएको आम्दानीबाट नै कमाउने आशामा भेटिए । पहिला सिकेर पनि चालक अनुमतिपत्र लिन नपाएका उनी अब सिक्ने र चालक अनुमतिपत्र बनाउने योजनामा छन् । भन्छन्, “सरकारले अहिले ट्याक्सी दर्ता गर्न जसरी नै ट्याक्सी किन्नका लागि पनि हामीलाई सहुलियत दिए हामी भूकम्पपीडितलाई राहत हुने थियो ।” भूकम्पपीडितलाई आर्थिक व्यवस्थापनमा गाह्रो भएको उनी बताउँछन् । सिन्धुपाल्चोकका नन्दलाल र दोलखाका राममणि जस्तै भूकम्पले भौतिक सम्पत्ति क्षति भएपछि आर्थिक सशक्तीकरणको आशामा धेरै भूकम्प प्रभावित नयाँ ट्याक्सी दर्ताका लागि कार्यालय पुग्ने गरेका छन् । नयाँ ट्याक्सी दर्ता खुलेको दुई साता बित्दा दैनिक दुई हजार जना भूकम्प प्रभावित कार्यालय पुगिरहेका छन् । मन्त्रालयले जम्मा एक हजार ५०० प्रभावितलाई मात्रै नयाँ ट्याक्सी दर्ता गर्ने बताएको छ । नयाँ ट्याक्सी दर्ताका लागि दैनिक नै त्योभन्दा बढी कार्यालय घुइँचो लाग्दै आएको छ । ट्याक्सी दर्ताका लागि दैनिक ठूलो सङ्ख्यामा भूकम्प प्रभावित कार्यालय आउने गरेको कार्यालयअन्तर्गतको सानाठूला सवारी शाखाका प्रशासन प्रमुख हरि लामिछाने बताउँछन् । गत ५ गते दर्ता खुलेकामा आगामी भदौं ५ गतेसम्म इच्छुक प्रभावितले फारम भर्न सक्छन् । क, ख र ग गरेर सबै खालका भूकम्प प्रभावितले ट्याक्सीका लागि फारम भर्नसक्ने उनी बताउँछन् । जम्मा दर्ता हुने ट्याक्सीभन्दा बढीले आवेदन परेको छ । गोलाप्रथाका आधारमा नाम निकालेर प्रभावितलाई दिइने बताउँदै उनले भने, “गोला प्रथाबाट क, ख वा ग जुनसुकै खालका भूकम्प प्रभावितको नाम निस्कन सक्छ ।” अहिलेसम्म भूकम्प प्रभावितलाई ट्याक्सीको नम्बर दर्तामा मात्रै सहुलियत दिइने निर्णय भएको छ । उनले भने, “ट्याक्सीको नम्बर पाएपछि प्रभावितले किन्दा अझै राहत हुन सक्छ ।” कतिपय भूकम्प प्रभावित ट्याक्सीमा नै सहुलियत भन्ने दोधारमा छन् । अहिलेसम्म ट्याक्सीमा नै सहुलियत दिइने विषयमा कुनै निर्णय नभएको उनी बताउँछन् । झन्डै दुई दशक नयाँ ट्याक्सीको दर्ता रोकिएकामा गत वर्षबाट खुलेको हो । यो दुई वर्षमा अहिले एक हजार ५०० नयाँ समेत गरेर झन्डै तीन हजार ३०० नयाँ ट्याक्सी दर्ता हुँदैछन् । ट्याक्सीमा व्यवसायीका आलोपालो प्रणालीका कारण नागरिकले चाहँदा सहज रुपमा नयाँ ट्याक्सीको नम्बर लिनसक्ने अवस्था छैन । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप