सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस–माओवादी र मधेशी मोर्चाबीच कुरा मिलेन, प्रचण्डले मागे कमल थापा र गच्छदारसँग सहयोग

मङ्गलबार, १८ साउन २०७३, २१ : १५
मङ्गलबार, १८ साउन २०७३

काठमाडौ –नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच मंगलबार कुनै सहमति हुन सकेन ।यी तीनै पक्षबीच आज दिनभरि संसद् भवनमा छलफल भएपनि सहमति बन्न नसकेको हो । त्रिपक्षीय कार्यदलले दुई दिनको प्रयासपछि सात बुँदे ड्राफ्ट  तयार पारेको थियो । त्यो साते बुँदेमाथि आज विहान नौ बजेदेखि ११ बजेसम्म शीर्ष बैठकमा छलफल भएको थियो । उक्त बैठकमा सात बुँदेलाई आवश्यक काँटछाट गरेर तीन बुँदे बनाउने मौखिक सहमति गरेर दलहरु बाहिरिएका थिए भने त्यसलाई दिउँसो फेरि बैठक बसेर हस्ताक्षर गर्ने तय गरिएको थियो । तीन बुँदे मौखिक सहमति गरेर प्रचण्डले प्रधानमन्त्रीको उम्मेदवारी दिन जाँदा त्यसमा मधेशी मोर्चाका नेताहरुले समर्थन जनाएका थिए ।

तीन बुँदे मौखिक अनुसार सरकार निर्माणपछि मधेस आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गर्ने मुद्दा फिर्ता लिने , घाइते र मृतकका परिवारलाई क्षतिपूर्तिलगायतका कार्य तत्काल गर्ने, मधेशी मोर्चा र संघीय गठनबन्धनले प्रस्तुत गरेको ११ बुँदे र २६ बुँदे मागलाई दृष्टिगत गर्दै अविलम्ब सविधान संशोधन गर्ने र प्रधानमन्त्रीको चुनावमा मतदान गर्ने सहमति भएको थियो । तर मोर्चाका नेताहरुसहितको समर्थनमा मनोनयन दर्ता गरेर गएपछि प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा पुनः बैठकमा नफर्केपछि अन्य नेताहरुको बीचमा सहमति हुन हुन नसकेको एक नेताले बताए ।

देउवा र प्रचण्ड नआएपछि माओवादीका कृष्णबहादुर महरा, वर्षमान पुन, काँग्रेसबाट विमलेन्द्र निधि, रमेश लेखक तथा मधेशी मोर्चाको तर्फबाट उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण, शरत सिह भण्डारी, रामनरेश राय यादवलगायतका नेताहरुको उपस्थितिमा दिउँसो छलफल भएको ती नेताले बताए । तर सो बैठकमा त्यसअघि भएका तीन बुँदे मौखिक सहमतिमा पुनः कुरा बाझिएको थियो ।

तीन बुँदे मौखिक सहमतिका केहि शब्दहरु फाइनल गर्ने क्रममा तलमाथि भएपछि विवाद उत्पन्न भएको थियो । शब्दहरुमा सहमति जुटाउनुको साटो बुधबार बिहान पुन छलफल गर्ने गरी बैठक सकिएको मधेसी मोर्चाका नेता केशव झाले जानकारी दिए । कांग्रेस माओवादी र मोर्चाबीच आज सहममति नहुनु तथा भोलि पनि सहमति बन्ने सुनिश्चित नहुँदा उसले प्रचण्डलाई मतदान गर्ने या नगर्ने भन्नेमा अन्योलता उत्पन्न भएको छ । यसैबीच मोर्चासँग सहमति नभएसँगै प्रचण्डले राप्रपा नेपालका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारसँग सहयोगका लागि आग्रह  गरेका छन् ।

छलफलका क्रममा प्रचण्डले कमल थापालाई ओली सरकारकै हैसियतका साथ सरकारमा सहभागि हुन आग्रह गरेका थिए भने गच्छदारलाई पनि सहभागिताका लागि आग्रह गरेका थिए ।

जवाफमा थापाले आफूहरुले भोलि पार्टीको बैठक बोलाएको र त्यसले के गर्ने भन्नेमा ठोस निर्णय गर्ने बताएका थिए भने गच्छदार प्रचण्डलाई सघाउन सकारात्मक भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप