सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चालु आवभित्र मेलम्चीको खानेपानी काठमाडौँमा वितरण हुने

बुधबार, १९ साउन २०७३, २१ : ४३
बुधबार, १९ साउन २०७३

काठमाडौँ, १९ साउन -खानेपानी तथा सरसफाइ मन्त्रालयले चालु आर्थिक वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा वितरण गर्ने भएको छ ।

उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी सङ्घको चौधौँ वार्षिक अधिवेशनमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा सञ्जय शर्माले मेलम्ची आयोजना सम्पन्न गर्न तीव्रगतिमा कार्य भइरहेको र उक्त आयोजनापछि काठमाडौँ उपत्यकामा १७ करोड लिटर खानेपानी प्रतिदिन आपूर्ति गर्न सकिने जानकारी दिनुभयो ।

सरसफाइका क्षेत्रमा देशव्यापी रुपमा विभिन्न कार्यक्रम भइरहेको र विभिन्न गाविस तथा नगरपालिकाले खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लहरसमेत चलेको उल्लेख गर्दै उहाँले स्थानीयवासीको सहयोगबिना सरकारका कुनै पनि कार्यक्रम सफल नहुने बताउनुभयो ।

कार्यक्रममा सङ्घका अध्यक्ष विष्णु दाहालले ‘काठमाडौँ उपत्यकामा ट्याङ्करबाट खानेपानी आपूर्तिको अवस्था’ बारे कार्यपत्र प्रस्तुत गर्दै खानेपानीको गुणस्तरअनुसार ट्याङ्करमा स्पष्टसँग ‘खानेपानी ट्याङ्कर’ भनी उल्लेख गरिनुपर्ने सुझाव दिनुभयो ।

उहाँले अहिलेको खानेपानी ऐन, उद्योग ऐनलगायतका ऐनलाई समयानुकूल नियमन गर्ने किसिमले संशोधन गर्नुपर्ने र खानेपानी विकास बोर्डको छुट्टै निर्देशिका बनाउनु बताउनुभयो ।

काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर माग हुँदै आएकामा अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले सुक्खायाममा नौ करोड लिटर र वर्षायाममा ११ करोड लिटर पानी मात्र आपूर्ति गर्न सकेको छ ।

हाल मन्त्रालयले देशभर ८५ प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानी पु¥याएको जनाएको छ । सन् २०३० सम्ममा सबै नेपालीलाई खानेपानी र सरसफाइमा पहुँच पु¥याउने सरकारको लक्ष्य रहेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप