सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो रहेछ मधेसी मोर्चाले कांग्रेस-माओवादीसँग तीन बुँदे सम्झौता गर्नुको कारण

शुक्रबार, २१ साउन २०७३, २१ : ४१
शुक्रबार, २१ साउन २०७३

काठमाडौ – संघीय लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा  तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुले बाध्यतावश कांग्रेस - माओवादी केन्द्रसँग तीन बुँदे सम्झौता गरेको बताएका छन् ।

आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार, आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहाई तथा क्षतिपूर्तिका लागि तीन बुँदे सम्झौता गर्न बाध्य भएको उनको भनाई छ ।

‘जो घाइते छन्, उनीहरुले विभिन्न अस्पतालहरुमा उपचार गराएका छन्, तर कतिपय ठाउँमा अझै तिरिएको छैन, कसैले तिरेको छ भने व्यक्तिगत ढंगबाट तिरिएको छ, उनीहरुको दिन दिनै हामी कहाँ फोन आइरहेको छ,’ तराई मधेश विद्याथी फ्रन्टको आठौ वार्षिक उत्सवमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘फोनमा गुनासो सुन्दा सुन्दै दिक्क भइसकेको छु ।’

ठाकुरले आन्दोलनका क्रममा कतिपय व्यक्तिहरु थुनामा रहेको र उनीहरुको पनि दिन दिनै फोन आइरहेको अवस्थामा आफूहरुले केही जवाफ दिन नसकिरहेको बताए ।

यी सबै कुराको बारेमा यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जानकारी गराएपनि उनले वास्ता नगरेको दावी गर्दै उनले भने, ‘कमसेकम वर्तमान गठबन्धनको सरकारले हाम्रो कुरा सुन्न त तयार भएको छ ।’

अरु दिनको तुलनामा आजको कार्यक्रममा खुलेर बोलेका अध्यक्ष ठाकुरले अगाडि भने, घाइतेहरु र जेलमा रहेका बन्दीहरुको अवस्थाको बारेमा जानकारी गराउन कतियौं पटक म ओली निवास पुगेको छु तर उहाँले जहिले पनि आफ्नै कुरा सुनाएर खेर फाल्नु हुन्थ्यो, कहिले आफू जेल बसेको कुरा, कहिले खेतमा हलो जोतेको कुरा सुनाएर टाइमपास गर्नुहुन्थ्यो, र अन्त्यमा भन्नुहुन्थ्यो, ल अब अर्को बैठकमा कुरा गरौला भनि उठ्नु हुन्थ्यो । हाम्रो कुरा नै कहिल्यै सुन्न चाहनु भएन ।’ओली विरामी भएको बेला आफू उनको निवास बालकोटमा नै भेट्न गएको बताउँदै ठाकुरले भने, घाइतेको उपचारको खर्चको बारेमा कुरा गर्दा उहाँले यो त कुनै ठूलै समस्या नै होइन, म यहीबाट भन्दिछु, उपचार खर्च तुरुन्त पाउनु हुन्छ भनेर डायरीमा लेखेर राख्नु भयो तर आजसम्म त्यसको कुनै सुनुवाई भएन । कमसे कम वर्तमान सरकारले हाम्रो कुरा सुन्न तयार भएको छ । समस्या छ भनि स्वीकार गरेको छ यो नै ठूलो कुरा हो ।’

प्रचण्ड नेतृत्वको सरकारले पनि सबै माग पुरा नगर्ने आफूले बुझेको बताउँदै उनले जेजति गर्न सक्छ, त्यसलाई लिएर बाँकीको लागि कुरा गर्न सकिने बताए । घाइतेको उपचार, बन्दी रिहाई, फिर्ताका लगायतका काम भयो भने आफूहरुको तनाव अलि कम हुने उनले बताए ।

तर ओलीको जस्तै व्यवहार वर्तमान सरकार पनि देखायो भने आन्दोलनमा जाने उनले प्रस्ट पारे ।

ओलीले आफ्नो सरकार भएको बेलामा आफूहरुलाई निकै नै हेपेको कारणले आफूहरुलाई विपक्षमा बस्न मन भएपनि ओलीको पछाडीको कुर्सीमा बस्न मन नलागेको उनले बताए ।

फ्रन्टका अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक विश्लेषक सिके लाल, तुलानारायण साह, दिपेन्द्र झा, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत, सद्भावना पार्टीका महासचिव मनिष सुमन, राष्ट्रिय मधेश समाजवादीका महासचिव केशव झालगायतले आफ्नो धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप