सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकारको आयु ९ महिनामात्रै होइनः प्रचण्ड

शनिबार, २२ साउन २०७३, २२ : ५२
शनिबार, २२ साउन २०७३

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृृत्वको सरकारको आयु ९ महिनामात्रै नभएको बताएका छन् ।  प्रधानमन्त्री प्रचण्डले सरकारको आयु नौ महिनामात्र हुने भन्नेबारेमा कांग्रेससँग  कुनै  लिखित सहमति भएको नभएको भन्दै बरु यतिभित्रमा कामसक्ने वा सरकारको प्राथमिकता के–के हुने भन्नेबारे केही आधारहरू भने तयार भएको बताए ।

प्रचण्डले संविधान कार्यान्वयनको वातावरण सिर्जना गर्नु सरकारको पहिलो प्राथमिकता भएको समेत बताएका छन् ।

आज बेलुका नेपाल टेलिभिजनबाट प्रसारित “सिधाकुरा प्रधानमन्त्रीसँग’मा कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने – “संविधान कार्यान्वयन गर्न वातावरण सिर्जना गर्नु आवश्यकता र चुनौती दुवै हो, त्यसका लागि संविधानप्रति असन्तुष्टि व्यक्त गर्ने आदिवासी जनजाति र मधेसी समुदायलाई सहमतिमा ल्याएर सरकार अगाडि बढ्नेछ ।”

संविधान कार्यान्वयनका लागि प्रतिपक्षी दलसँग समेत सहकार्य गरेर अगाडि बढ्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । त्यसैगरी प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारले पुनःनिर्माण, विकास र समृद्धि, भ्रष्टाचार, महँगी, कालोबजारी तथा देशमा व्याप्त दण्डहीनताको अन्त्य गर्ने सङ्कल्प गरे ।

प्रधानमन्त्री दाहालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका सबै निर्णय र नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने भन्दापनि राष्ट्र र जनताको पक्षमा भएका निर्णय आफ्नो सरकारले कार्यान्वयन गर्ने बताए ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सुरु भएको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’लाई आजदेखि पुनः निरन्तरता दिइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप