सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दोलखाको पुल तथा सडक तत्काल मर्मत गर्न प्रधानमन्त्रीको निर्देशन

आइतबार, २३ साउन २०७३, २० : ३०
आइतबार, २३ साउन २०७३

काठमाडौँ – प्रधानमन्त्री प्रचण्डले केही दिन पहिले दोलखा जिल्लामा बाढी पहिराका कारण क्षति पुगेका सडक तथा पुल तत्काल मर्मत गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनबहादुर कार्कीलाई निर्देशन दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) सम्बद्ध दोलखाका प्रतिनिधिमण्डलले दोलखा जिल्लामा बाढीपहिराले पुल तथा सडक बगाएका विषयमा ध्यानाकर्षण गराउनेबित्तिकै प्रधानमन्त्रीले तत्काल मर्मतसम्भार गर्न र धोढीखोलामा बेलीब्रिज हालेर सवारी आवागमन सहज बनाउन निर्देशन दिएका हुन् ।

भेटमा सहभागी नेकपा माओवादी केन्द्रका दोलखा जिल्ला अध्यक्ष विशाल खड्काले प्रधानमन्त्रीले समस्या समाधान गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई निर्देशन दिएको र सचिव कार्कीले एकाध दिनभित्रै बेलीब्रिज हाल्ने बताएको जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रतिनिधिमण्डलले तामाकोसीबाट मन्थली जाने धोढीखोलाको पुल केही दिन पहिलेको बाढीले बगाएको भन्दै तत्काल बेलीब्रिजको व्यवस्था गर्न अनुरोध गरेको थियो ।

प्रतिनिधिमण्डलले दोलखामा पुनःनिर्माणको काम प्रभावकारी हुन नसकेकाबारे प्रधानमन्त्रीलाई अवगत गराएको थियो । साथै प्रतिनिधि मण्डलले भूकम्पको पुनःनिर्माणबारे निर्माण गरिएको कार्यविधि अनुदार भएको भन्दै सहज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

भेटमा प्रधानमन्त्री दाहालले दोलखाको समस्यालाई गम्भीरतापूर्वक लिएको भन्दै समस्या समाधान गर्ने विश्वास दिलाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप