सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रामचन्द्र पौडेलको आक्रोशः ‘इतिहास नबंग्याऔं, मैले जेलमा बनाएको झण्डा, साथीले कट्टुमा लुकाएर बाहिर ल्याएका थिए’

सोमबार, २४ साउन २०७३, ०० : ०३
सोमबार, २४ साउन २०७३

काठमाडौं– आइतबार राजधानीको भृकुटीमण्डपमा आयोजित नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि र आक्रोशको पोको फुकाएका छन् । करिब ६ घण्टा मञ्चमा बसेपछि विद्यार्थीलाई संवोधन गर्ने अवसर पाएका पौडेलले सुरुमै नेविसंघको इतिहास बंग्याउन खोजेको भन्दै आपत्ति जनाए । नेविसंघको अध्यक्षको उम्मेद्वार समेत रहेका नैनसिंह महरले सम्पादन गरेको ‘प्रतिज्ञा’ नामक पुस्तकमा आफूले जेलमा बनाएको झण्डाको इतिहास मेट्न खोजेको भन्दै आपत्ति जनाएका पौडेलले भने, ‘मैले जेलमा बसेर नेविसंघको झण्डा बनाएको हुँ, त्यही झण्डा श्रीकृष्णले कट्टुमा लुकाएर बाहिर ल्याएका थिए । तर एउटा भाईले निकालेको पुस्तकमा अर्कैले झण्डा बनाएको उल्लेख गरेको भेटियो, मेरो नाम त्यहाँबाट झिकिएको छ, यसरी इतिहाँस बंग्याउने प्रयत्न नगरौं ।’ पौडेलले नेविसंघको इतिहासबाट आफ्नो नाम मेट्न खोजेको बारे मात्र आक्रोश पोखेनन्, नेताहरु जेलमा भएको बेला ०३५÷३६ सालको विद्यार्थी आन्दोलन कुनै नेताको हस्तक्षेप बिना सफल बनाउन भुमिका खेलेको उल्लेख गर्दै भने, ‘मैले त्यो बेला देखि नै विद्यार्थी संगठनमाथि हस्तक्षेप गर्न छाडिसकेको थिएँ, तर साथिहरुले अझै छाडेका छैनन् ।’ विद्यार्थी निर्वाचनमा देउवा पक्षले हस्तक्षेप गरेको तर्फ संकेत गर्दै उनले भने, ‘मनि र मसलको राजनितीले सवैतिर बिगारेको छ, यसपटक नेविसंघको निर्वाचनमा अंकगणीत मिलाउन कहाँ कहाँ खेल भयो थाहा छैन ।’ नेता पौडेलले नेविसंघको नेता छान्न चुनाव हुनुपर्नेमा जोड दिँदै भने, ‘रञ्जित कर्णले धेरै घात÷प्रतिघात सहेर आजको ठाउँसम्म ल्याए, ११ जिल्लामा प्रतिनिधि छान्न बाँकी हुँदा पटक–पटक नेविसंघको महाधिवेशन स्थगित गरियो ।’ शुसिल कोईराला र शेरबहादुर देउवाको पानी खाने घाँटी बनेकाहरुलाई नेविसंघको विवाद पहिल्यैदेखि थाहा भएपनि ११ जिल्लाको विवाद मिलाउन कुनै पहल नभएको बारे पौडेलले सार्वजनिक रुपमा असन्तोष ब्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप