बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘आइरन लेडी’ इरोम शर्मिला बारे थाहा पाउनुपर्ने १० कुरा

मङ्गलबार, २५ साउन २०७३, १३ : २९
मङ्गलबार, २५ साउन २०७३
इरोम शर्मिलाले मंगलबार आफ्नो १६ वर्षे अनशन तोड्दैछिन् । अनशन तोड्ने उनको निर्णयका कारण उनले ज्यान मार्ने धम्कीसमेत खेप्नुपर्यो । उनका धेरै समर्थक र परिवारका केही सदस्यले उनले अनशन जारी राखून् भन्ने इच्छा व्यक्त गरेका थिए । शर्मिलाले आफ्नो नयाँ जीवनको बाटो तय गरिरहेका बेला उनीसँग सम्बन्धित केही कुरा तपाईंले जान्न जरुरी छः १. ‘मनिपुरको आइरन लेडी’ भनेर चिनिने शर्मिला उनको परिवारको ९ सन्तानमध्येकी कान्छी हुन् । उनी डाक्टर बन्न चाहन्थिन् तर उनले पछि अधिकारकर्मी हुने सोच बनाइन् । २. सन् १९७२ मा जन्मिएकी शर्मिलाले सन् २००० को नोभेम्बर ४ तारिकमा २८ वर्षको हुँदा अनशनमा बसेकी थिइन् । आसाममा बन्दुकधारीले १० जना सर्वसाधारणलाई गोली हानी हत्या गरेको दुई दिनपछि उनी अनशनमा बसेकी थिइन् । यो घटना मनिपुरको राजधानी इम्फाल नजिकै मालोमको हो जसमा ट्युसन जान लागेका युवाहरु पनि समावेश थिए । ३. विशेष शक्तिसहितको सेना परिचालन विरुद्धका कुनै पनि आन्दोलनको नेतृत्वमा उनी त्यतिबेलादेखि देखिन थालिन् । उनको स्वतन्त्र उडिरहेको घुम्रिएको कपाल र नाकमा राखिएको खानाको पाइपले उनलाई चिनाउन थप मद्दत गरेको थियो । ४. शर्मिलालाई ‘इम्फाल्स सजिवा सेन्ट्रल जेल’ को हिरासतमा राखिएको थियो तर उनले राजधानीस्थित जवहारलाल नेहरु इन्सटिच्युट अफ मेडिकल साइन्सेजमा आफ्ना समय बिताइन् । कम्तीमा पनि ४० व्यक्तिहरु जसमध्ये ५ डाक्टर, १२ नर्स र तीनजना महिला पुलिसकर्मीले उनले नाकमार्फत खाना खाएको छ कि छैन भनेर हेरफेर गर्दथे । ५. सन् २००० मा जब उनलाई पहिलो पटक पक्राउ गरियो तब उनलाई तत्काल छोडियो र पटक पटक समातियो किनभने उनले आत्महत्या गर्न खोजिरहेकी थिइन् जुन अहिले पनि अपराध मानिन्छ । ६. शर्मिला आफ्नो स्थानीय भाषा ‘मैतेलोन’ की लेखिका र कवि हुन् । ७. सन् २००६ मा शर्मिलाले आफ्नो आन्दोलनलाई नयाँ दिल्लीसम्म पुर्याइन् जहाँ उनीलगायत उनका अरु कार्यकर्ताले जन्तरमन्तरमा भोक हड्ताल गर्न थाले । उनी त्यहाँ पक्राउ परिन् तर उनको भोक हडताले अन्तर्राष्ट्रिय ध्यानआकृष्ट गर्न सफल भयो । युरोपेली संसदले भारतीय सरकारलाई सेना परिचालनबारे आफ्नो नीति सच्याउनका लागि आग्रह गरेको थियो । ८. शर्मिलाले थुप्रै पुरस्कार जितेकी छिन् जसमा सन् २००७ मा ‘जिवाङ्जु पुरस्कार’, सन् २०१० मा ‘रबिन्द्रनाथ टेगोर शान्ती पुरस्कार’, ‘एशियाली मानव अधिकार आयोग पुरस्कार’ पर्दछन् । एम्नेस्टी इन्टरनेशनलले उनलाई सन् २०१३ मा ‘विवेकको कैदी’ को उपमा दिएको थियो । ९. शर्मिलाको सार्वजनिक जीवन उनको व्यक्तिगत जीवनका कारण प्रभावित हुन थाल्यो जब उनले भारतीय मूलका बेलायती नागरिक डेसमण्ड कौटिन्होलाई सन् २०११ को मार्चमा हस्पिटलमा भेटिन् । शर्मिला र कौटिन्हो, त्यतिबेला ४८, ले सन् २००९ देखि चिट्ठी आदानप्रदान गर्ने गरेको बताइएको छ । शर्मिलाले कौटिन्होलाई मन पराएको बताएकी थिइन् । १०. जुलाई २६ मा शर्मिलाले आफ्ना समर्थकलाई अनशन तोड्ने, निर्वाचन राजनीतिमा समावेश हुने र विवाह गर्ने भन्दै अचम्मित पारिदिइन् । यदि उनी आफ्नो निर्णयमा अडिग रहिरहिन् भने मंगलबार उनी अनशनमुक्त हुनेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप