सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेविसंघको नेतृत्वमा रस्साकस्सी, बन्दसत्र सुरु गर्न बस्नेतको माग

बुधबार, २६ साउन २०७३, ०० : ०३
बुधबार, २६ साउन २०७३
काठमाडौं– कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघको ११ औं महाधिवेशनको बन्दसत्र मंगलबार पनि हुन सकेन । नेताहरुले अब बुधबारदेखि बन्दसत्र सुरु हुने  बताएपनि मंगलबार अबेरसम्म कुनै सहमति जुटेको छैन । ११ जिल्लाको विवादको कारण बन्दसत्र सुरु हुन नसकिरहेको अवस्थामा नेतृत्वले अध्यक्षका प्रत्यासीहरुको व्यवस्थापन गर्न नसक्दा थप समस्या उत्पन्न भएको छ । यसै सन्दर्भमा तत्काल बन्दसत्र सुरु गरिनुपर्ने माग राख्दै अध्यक्षका प्रत्यासी शुभराम बस्नेतका समर्थकहरुले नेतृत्वलाई दवाव दिने उद्देश्यका साथ मंगलबार दिउँसो पद्मोदय मोड अगाडि र्याली निकालेको छ । र्याली पछि आयोजित संक्षिप्त सभामा अध्यक्षका प्रत्यासी बस्नेतले तत्काल बन्दसत्र सुरु गर्न माग गर्दै बन्दसत्र लम्ब्याएर चुनाव नगर्न खोजिएको बताए । उनले बन्दसत्र लम्ब्याइँदै जाँदा प्रतिनिधिहरुमा अन्योलता छाएको समेत बताए । यस्तै विद्यार्थी नेता मौसम राईले तत्काल चुनाव हुनुपर्नेमा जोड दिँदै नेविसंघले पनि अरु विद्यार्थी संगठनबाट लोकतान्त्रिक प्रक्रिया कसरी हुन्छ भन्ने कुरा नेविसंघले सिक्न जरुरी रहेको बताए । सो क्रममा बस्नेत समर्थक कार्यकर्ता तथा प्रतिनिधिहरुले कुनै पनि हालतमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । यस्तै  उनीहरुले केहि व्यक्तिको नाममा सहमति भएको भन्दै हल्ला फैलाइएको प्रति  आक्रोस समेत व्यक्त गरेका थिए । सङ्घको महाधिवेशन उद्घाटन यही साउन २३ गते भए पनि निर्धारित समयमा बन्दसत्र हुन नसक्दा मुलुकभरबाट आएका हजारौँ विद्यार्थी नेता कार्यकर्ता निर्वाचन हुने/नहुने भन्ने अन्यौलमा देखिएका छन् । सङ्घको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले सहमतिको प्रयास गरिरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप