सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाढीपहिरो पीडितलाई राहत तथा पुनःस्थापना गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

बुधबार, २६ साउन २०७३, २२ : २६
बुधबार, २६ साउन २०७३
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का प्रदेश नं ५ का नेता तथा सांसदले बाढीपहिरोका कारण सो प्रदेशमा भएको जनधनको क्षतिपछिको उद्धार, राहत तथा पुनःस्थापना र त्यसको नियन्त्रणप्रति प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् । उनीहरूले बाढीपहिरोको कारण विस्थापित परिवारलाई घर निर्माणका लागि जस्तापात र राहतस्वरुप रु दुई लाखका साथै खाद्यान्न, लत्ताकपडा र औषधोपचारसहितको राहत प्याकेज प्रदान गर्न माग गरेका छन् । प्रकोपका कारण अनाथ भएका बालबालिकाको पालनपोषण र शिक्षा दिक्षासहित सम्पूर्ण जिम्मेवारी राज्यले लिन व्यवस्था गर्नुपर्ने मागपत्रमा उल्लेख छ । बाढीपहिरो उच्च जोखिममा रहेका गाउँ बस्तीको विज्ञ सम्मिलित टोलीबाट अध्ययन गराई पुनःवासको व्यवस्था गर्न माग गरिएको छ । माओवादी केन्द्रका नेता वर्षमान पुन, रेखा शर्मा, कृष्णध्वज खड्का, सन्तकुमार चौधरी, पुनराम थापालगायतका नेता आज प्रधानमन्त्री कार्यालय सिंहदरवारमा पुगेका थिए । प्रधानमन्त्री दाहालले माग सुनुवाइ गर्न आफ्नातर्फबाट सक्दो पहल गर्ने बताएको भेटमा सहभागी माओवादीका नेता खड्काले जानकारी दिए । सो टोलीले यसअघि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटेर मागपत्र बुझाइसकेको छ । प्रकोपका कारण प्युठानमा ५०, गुल्मीमा ११, पाल्पामा चार र दाङमा दुई जनाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप