सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एकता नहुँदा राष्ट्रवादी आन्दोलनमा गम्भीर धक्का पुग्योः सापकोटा

शुक्रबार, २८ साउन २०७३, ०५ : ४५
शुक्रबार, २८ साउन २०७३

राप्रपाका नेता शम्भुप्रसाद सापकोटा ‘अखण्ड’ ले राप्रपा नेपाल र राप्रपाबीच एकता नहुँदा राष्ट्रवादी आन्दोलनमा गम्भीर धक्का पुगेको बताएका छन् । उनले राष्ट्रवादी एकता अहिलेको आवश्यकता भएको भन्दै त्यसका लागि राप्रपा र राप्रपा नेपाल मिल्नुको विकल्प नभएको बताए । यही साउन २५ गते दुई राप्रपाबीच हुने भनिएको एकता अन्तिम समयमा भाँडिएपछि सापकोटाले दिएको प्रतिक्रिया उनकै शब्दमाः

साउन २५ गते राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकताको घोषणा गर्ने जुन तयारी थियो, त्यसले दुई राप्रपाका कार्यकर्ता र समर्थकहरुमा उत्साह थियो । तर, अन्तिम समयमा दुई पार्टीबीचको एकता प्रक्रिया रोकिनु दुर्भाग्यपूर्ण छ । राप्रपा, राप्रपा नेपाल , राप्रपा नेपाल समानान्तर र अरु राष्ट्रवादी आन्दोलनमा विस्वास राख्ने व्यक्तित्व तथा संगठनहरु एक ठाउँमा उभिँदा अहिले चलिआएको गणतन्त्र नामको दलिय सिस्टममा धक्का पुग्ने बुझेर एकता नचाहने शक्तिहरुबाट विभिन्न हल्ला चलाईको थियो । यही सन्दर्भमा सबै एक ठाउँमा उभिँदा गणतन्त्र पक्षधर दलहरु कमजोर हुने महसुश गरेर दलहरुले नै एकातिर राप्रपा नेपाललाई र अर्कोतिर राप्रपालाई नियन्त्रणमा लिएर एकै ठाउँमा आउन नदिँदा एकता घोषण रोकिएको छ । यसले राष्ट्रवादी आन्दोलनमा गम्भीर धक्का पुगेको त छ नै राष्ट्रवादीहरु मर्माहत भएका छन् । नेपालका गणतन्त्रवादी राजनीतिक दलहरुले राष्ट्रवादी शक्तिलाई एक हुन नदिएको आभास भएको छ । यसको थप कारण भविष्यमा खुल्दै जानेछ । यसबाहेक पार्टीभित्रकै अनेकन कारणले पनि एकता टरेको बुझ्न सकिन्छ । २०४६ सालदेखि नै राप्रपा हलो र राप्रपा गाईबीच द्धन्द्ध सुरु भएको हो। पछि २०५३  सालतिर राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावमा २० सिट जितेर पनि सरकारको नेतृत्व गरेको थियो । त्यतिबेला एमालेको समर्थनमा राप्रपाका लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बन्नुभएको थियो । तर, त्यसलाई सहनै नसकेर कांग्रेसले फेरि चन्द सरकार ढालेर सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनायो । सोहि कारणले राप्रपामा तीब्र विवाद समेत भयो । यसरी कांग्रेस र एमालेजस्ता दलहरु खेलेर राप्रपाभित्र विवाद निम्त्याइएको उदाहरण पुरानै हो ।

हुन त यसरी बाहिरी दल र शक्तिको प्रभावमा पर्नु पार्टीभित्रकै कमजोरी हो । त्यसलाई नबुझ्दा पार्टीले धेरै गुमाएको छ । हिन्दु धर्म मासियो । राजन्तत्र ढल्यो । अर्कातिर राष्ट्रियता नै संकटमा परेको छ । सबै समस्याको समाधानका लागि दुई राप्रपाको एकता जरुरी थियो । पार्टीकै केहि स्वार्थी समुह बाहिरी प्रभावमा पर्दा एकता हुन सकेन । तर जताततै राष्ट्रवादी एकताको चर्चा परिचर्चा चलेको बेला यो ढोका तत्कालका लागि बन्द जस्तै भएको छ । यहीबीचमा राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले पार्टी एकताको ढोका बन्द भएको छैन भन्नु भएको छ । उहाँले यो पनि भन्नुभएको छ कि एक अर्कालाई आरोप प्रत्यारोप गर्नु भन्दापनि मिल्न बाँकी रहेको विषयलाई मिलाएर एकता गर्नुपर्नेमा जोड दिनुभएको छ । राणा पहिले एकता बारे बोल्नु भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकताको ढोका बन्द भएको बताउनु भएको बेला राणाको अभिव्यक्ति आएको छ । देशभरका बहुसख्यक नेता कार्यकर्ता तथा समर्थकले एकता चाहेको हुनाले एकता हुनै पर्छ त्यसका लागि थापाले र राणाले पुन एक पटक गम्भीर भएर सोच्न जरुरी छ, पुर्नएकीकरणको पहलकदमी लिनु जरुरी रहेको छ । यसो त राप्रपाले यसअघि नै एकता प्रक्रियामा सहभागि राप्रपा नेपाल समानान्तरलाई मिलाएर अघि बढ्न सकेको छैन । एकीकरणको पोको केहि समय पहिले लगेर राप्रपाका तत्कालिन अध्यक्ष लोकेन्द्रबहादुर चन्दलाई बुझाइएको थियो । तर अहिले अध्यक्ष बन्नुभएका राणाले पोको फुकाएर केहि व्यक्तिलाई छानि अरु पोको त्यत्तिकै छाड्नु भएको सुनिएको छ । यसले थप समस्या हुन्छ नै उहाँको नतृत्वनै असफल हुन सक्छ । एकतापछि राप्रपामा संगठीत भएका सबैलाई पार्टीमा उचित स्थान दिइनुपर्छ ।

अहिले बहुमतिय खेलमार्फत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नु भएको छ । तर बहुमतिय खेलबाट बनेको सरकारबाट न देशको विकास हुन सक्छ न राष्ट्रिय एकता नै कायम हुन सक्छ । यसका लागि बृहद राष्ट्रवादी एकता नै आजको प्रमुख आवश्यकता हो । यसबाट मात्रै राष्ट्रियता बलियो हुनुका साथै देश विकास हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप