बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

खोइ मानवता ? १०२ मिनेटसम्म रगताम्मे घाइतेलाई बाटोमा कसैले उठाएन उल्टै मोबाइल चोरियो

शुक्रबार, २८ साउन २०७३, १२ : १७
शुक्रबार, २८ साउन २०७३
नयाँ दिल्ली । पुलिसको काम कुनै आपराधिक घटनाको सत्यतथ्य छानबिन गरी अपराधिलाई पक्राउ गरी कानुनको दायराभित्र ल्याउने हो । तर त्यही पुलिसले केही ठूला घटनालाई नजरअन्दाज गरे कसको भर पर्ने ? मानिसहरुले यो समाजमा दिन प्रतिदिन नैतिकता, मानवता हराउँदै गएको टिका टिप्पणी गर्ने गरेका छन् । हो, यही भनाईलाई बुधबार बिहानको भारतको एक घटनाले चरितार्थ गरेको छ । सिसिटीभी क्यामरामा कैद यो घटनाले सिंगो मानव सभ्यतामाथि प्रश्नचिन्ह तेर्साएको छ । घटना यस्तो प्रकारको छः पश्चिम दिल्लीस्थित सुभाष नगरमा बुधबार बिहान ५ः४० मा सामान ओसारपसार गर्ने तीन पाङ्ग्रे टेम्पोको ठक्करले एक व्यक्ति सख्त घाइते भए । बीच सडकमा घाइते रगताम्मे भएर लडिरहेका थिए तर त्यहाँ उनलाई सहयोग गर्न कोही पनि आएन । सहयोग नपाएर उनको करिब १०२ मिनेट पछि मृत्यु भएको छ । यसबिच त्यहाँ पुलिसको भ्यानसहित १४० वटा कार, ८२ वटा तीन पाङ्ग्रे गाडी, १८१ बाइक र ४५ जना पैदल यात्रीले उनलाई उछिनेर गए तर उनलाई तीमध्ये कसैले पनि सहयोग गरेन । टाइम्स अफ इन्डियाका अनुसार सीसीटिभी फुटेजमा पुलिसको भ्यानले समेत बाटोमा रगताम्मे लडिरहेका ती व्यक्तिलाई वास्ता नगरेको देखिएको छ । पुलिसको गाडी घटनास्थल आइपुग्दा घाइते जिउँदै रहेको क्यामरामा कैद भएको छ । यदि पुलिसले त्यती बेला गाडी रोकेको भए सायद उनी बाँच्दथे । तर पुलिसको गाडी घाइतेलाई वास्तै नगरी हुइँकियो । पुलिसलाई यसबारे प्रश्न गर्दा उनीहरुले ती घाइतेलाई घरबारबिहिन मानिस भन्ने ठानेको र आफूहरुलाई अर्को ठाउँबाट फोन आएका कारण हतारमा भएको बताए । पुलिसको अर्को स्रोतका अनुसार गाडी तीब्र गतीमा भएका कारण उनीहरुले ती घाइतेलाई देखेनन् । त्यहाँ उनको रगत पनि देखिएको थिएन । यो घटनाको शिलशिला यतिमा मात्र समाप्त हुँदैन । दुर्घटनामा संलग्न तीन पाङ्ग्रे टेम्पोका चालकले उनलाई हान्ने बित्तिकै उनी टेम्पोबाट निस्किए र घाइते नजिक गए । तर घाइतेलाई धेरै चोट लागेपछि उनी फरक्क फर्किए र आफ्नो टेम्पोलाई कतै केही भएको छ कि भनेर चारैतिरबाट हेरे । अरु कार र पैदलयात्रीले छटपटाइरहेका उनलाई नदेखेझैं गरे । पुलिसको अर्को गाडी ६ बजेर ५२ मिनेट पछि आयो र उनलाई अस्पताल पुर्याए जहाँ उनलाई डाक्टरहरुले मृत घोषित गरे । उनको मृत्युको कारण अत्यधिक रक्तश्राव बताइयो । पुलिसका एक वरिष्ठ अधिकारीले भने, ‘यो एउटा ‘हिट एण्ड रन’ को केस हो जस बारे कसैले पनि पुलिसलाई जानकारी दिएन । टेम्पोले हाने पछि घाइते १० मिटर पर पुगेका थिए र उनी एउटा फोहोरको थुप्रोमा बजारिएका थिए । एकजना रिक्सा चालकले घाइतेको फोन चोरिरहेकोसमेत देखियो । घाइतेलाई हस्पिटलमा मृत घोषणा गरिएको हो ।’ अर्का पुलिस अधिकारी थप्छन्, ‘घटनाका दोषी टेम्पो चालकको खोजी भइरहेको छ । घटनाका कोही प्रत्यक्षदर्शी छैनन् । हामीले फोन चोर्ने रिक्सा चालकको पनि खोजी गरिरहेका छौं । अब उनीहरुलाई पक्राउ गरेर कारवाही गर्नेछौं ।’ दिउँसो रिक्सा चालक र राती सुरक्षागार्डको रुपमा काम गर्ने घाइते मतीबुलका परिवार अहिले शोकमा डुबेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप