मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

फेरि जुर्मुराउँदैछ मुलपानीको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (फोटो/भिडियो)

बिहीबार, ११ माघ २०७४, १४ : ५२
बिहीबार, ११ माघ २०७४

काठमाडौँ । मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा भएको जग्गा विवाद साम्य भएपछि अब निर्माणको काम अघि बढ्ने भएको छ । 

मुलपानीमा निर्माणाधिन क्रिकेट मैदानमा ५२ आना जग्गाको मुआब्जाको विषयमा स्थानीयसँग कुरा नमिलेपछि निर्माणको काम अबरुद्ध भएको थियो । 

राष्ट्रिय खेलकुद परिषद र सरकारले स्थानीयलाई उनीहरुको जग्गाको सट्टामा अर्काे जग्गा दिने सहमती गरेपछि रंगशाला निर्माणको काम अघि बढ्ने देखिएको हो । 

यसका लागि स्थानीय, नापी विभाग, भूमिसुधार कार्यालयबीच छलफल भई सहमती बनिसकेको यूवा तथा खेलकुद मन्त्री राजन केसीले रातोपाटीलाई जानकारी दिए । 

उनले भने–‘क्रिक्रेट मैदान निर्माणका लागि मुआब्जा विवाद समाधान भइसकेको छ, उनीहरुलाई सट्टामा अर्को जग्गा दिने सहमती भइसकेको छ, भूमिसुधार, नापी सबैसँग छलफल गरी फाइल तयार छ । केही प्राविधिक कुरा मिलाँउनुपर्ने भएकोले काम रोकिएको हो । संभवत अर्को मन्त्रीपरिषदको बैठकमा यो विषयमा निर्णय हुनसक्छ ।’

यस्तै राष्ट्रिय खेलकुद परिषदले समस्या समाधान हुने भएपछि काम अघि बढाउनका लागि तल्लो रंगशालाको थप प्याराफिट निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौताका लागि फाइल तयार पारेर बसेको जनाएको छ । राखेपका सदस्य सचिव केशव विष्टले रातोपाटीसँग कुरा गर्दै महालेखा परिक्षकको कार्यालयले विवाद समाधान भएपछि मात्र काम गर्नु भन्दै पत्र लेखेपछि काम रोकिएको बताउँदै अब विवाद समाधानतर्फ गएकोले आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण कामको तयारी गरेको बताए ।

स्थानीयसँग प्याराफिट बाहिर सडकमा जोडिएको जग्गा सट्टामा दिने गरी सहमती भएको उनले बताए । रंगशालामा एउटा ब्लक प्याराफिट निर्माणको काम लगभग सकिएको छ भने अब विवाद समाधान भएपछि अर्को प्याराफिट निर्माण गरिन लागेको हो । झन्डै २२ करोड हाराहारीमा अर्को प्याराफिट निर्माण गरिने लागेको हो । यो रंगाशाला निर्माणको जिम्मा प्रेरा प्रतिष्ठा मुन्ना एन्ड आचार्य जेभीले लिएको छ । तल्लो मैदानमा ९ वटा ब्लकमा प्याराफिट निर्माण गरिएको छ, प्याराफिट मुनी कार्यालय र पार्किङ रहने भएको छ । 

माथिल्लो मैदानको काम पूरा 
मुलपानीमा निर्माण गरिएका २ क्रिकेट मैदान अन्र्तगत माथिल्लो मैदानको काम लगभग सकिएको छ । माथिल्लो मैदानमा क्रिकेट तालिम गरिने र तल्लो मैदानमा क्रिकेट प्रतिस्पर्धा गराइने लक्ष्यका साथ निर्माण गरिएको सदस्यसचिव विष्टले जानकारी दिए । माथिल्लो मैदानमा प्याराफिट निर्माण गरिएको छैन भने मैदानमा एउटा पिच निर्माण गरिएको छ । २०६२ साल देखि निर्माण शुरु गरिएको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानले बल्ल मुर्तता पाउन लागेको छ । अहिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरको विकल्पमा मुलापनीको माथिल्लो मैदानमा क्रिकेट प्रतियोगिताहरु सञ्चालन हुने गरेका छन् । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप