सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेविसङ्घका कार्यकर्ता र प्रहरीबीच झडप, झडपपछि के भन्यो प्रहरीले ?

आइतबार, ३० साउन २०७३, २२ : २०
आइतबार, ३० साउन २०७३

काठमाडौँ – नेपाल विद्यार्थी सङ्घको एघारौँ महाधिवेशनअन्तर्गतको प्रक्रिया अगाडि बढिरहेका बेला विद्यार्थी र प्रहरीबीच भएको झडपमा थुप्रै व्यक्ति घाइते भएका छन् ।

शनिबार राति सार्वजनिक भएको महाधिवेशन प्रतिनिधिको सूचीलाई लिएर नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा असन्तुष्ट पक्षका विद्यार्थी प्रवेश गर्ने क्रममा आज झडप भएको हो । झडपमा परी विद्यार्थी र प्रहरी दुवैतर्फ घाइते भएका छन् ।

विद्यार्थीतर्फ घाइते हुनेमा नीलकण्ठ रिजाल, हिमालदत्त श्रेष्ठ, अनिल शाही, लेखनाथ पोखरेल, प्रदीप राई, वामदेव अधिकारी, नारायण भारती, योगेश सरतक राजपुत, महेश नेपाली, राकेश झा, अर्जुन पाण्डे रहेको विद्यार्थी नेता पाण्डव पौडेलले जानकारी दिए । त्यसैगरी रमेश तिमिल्सिना, विकास लामा, ललिता सुनार, कविना कट्टेल, किशोर चौधरी, देवराज उपाध्याय, अनु शर्मा, सीता मिजार, साधना घिमिरे, उमेश भण्डारी, पुनम लामा, विनय खतिवडा, कृष्ण मिश्र, पुस्कर बाँस्तोला र कृष्णबहादुर कुवँर घाइते भएको उहाँले बताए । घाइतेको सानेपास्थित स्टार अस्पताल र बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीतर्फ सात जना घाइते भएको प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए । घटना भएका बेला सुरक्षाकर्मीको नेतृत्व गरेका सिंहले विद्यार्थीले इँटा र ढुङ्गा प्रहार गर्दा आफू पनि घाइते भएको बताए ।

उनका अनुसार प्रहरीतर्फ निरीक्षकद्वय रामकृष्ण सापकोटा र वसन्त शर्मा, प्रहरी सहायक निरीक्षक लालकाजी श्रेष्ठ, प्रहरी जवान अनिकृत सिंह, पुकार खड्का र निरबहादुर पौडेल घाइते भएका छन् । उनले प्रहरीका तर्फबाट संयमता अपनाउँदाअपनाउँदै विद्यार्थीले ढुङ्गा प्रहार गरेपछि सामान्य झडप भएको बताए । घटना भएपछि त्यस क्षेत्रमा झन्डै ३०० सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।

अध्यक्षका आकाङ्क्षी मनोजमणि आचार्यले भने विद्यार्थी महाधिवेशन प्रतिनिधि नामावलीका बारेमा बुझ्न जाँदा प्रहरीले अनावश्यक हस्तक्षेप गरेको बताए । उनले त्यसक्रममा भएको झडपमा प्रहरीले विद्यार्थीमाथि दमन गर्दा झन्डै ३० जना घाइते भएको बताउँदै घाइतेलाई हात, खुट्टा, टाउकोसहित शरीरका विभिन्न अङ्गमा चोट लागेको बताए । फर्जी नामावली नसच्याएसम्म निर्वाचन हुन नदिने उनले स्पष्ट पारे ।

निर्देशन समितिले लामो छलफलपछि तीन हजार ४६० प्रतिनिधि रहने निश्चित गरिसकेका अवस्थामा रातारात ३०० फर्जी प्रतिनिधि थपेको भन्दै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका विद्यार्थीले सच्याउन माग गरेका छन् ।

नेपाली काँग्रेसले नेता डा प्रकाशशरण महतको संयोजकत्वमा गोविन्द भट्टराई, गुरुराज घिमिरे, किशोरसिंह राठौर र प्रदीप पौडेल सदस्य रहेको निर्देशन समिति गठन गरेको थियो ।

पौडेलद्वारा भत्र्सना

सङ्घको महाधिवेनका क्रममा विद्यार्थीमाथि प्रहरीद्वारा भएको हस्तक्षेपप्रति काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कडा आपत्ति जनाएका छन् । उनले आज विज्ञप्ति निकालेर निष्पक्ष निर्वाचन हुन नदिन नियोजित तरिकाले झडपको अवस्था निम्त्याइएको आरोप लगाएका हुन् । यस्तै नेविसंघ अध्यक्ष रञ्जित कर्णले पनि प्रहरी हस्तक्षेपको विज्ञप्ती निकालेर विरोध गरेका छन् ।

मतदान तोकिएकै दिन हुने

नेवि सङ्घको निर्वाचन गर्न गठित केन्द्रीय निर्वाचन समितिले विद्यार्थी र प्रहरीकाबीच झडप भएर अप्रिय अवस्था आए पनि मतदान भने तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ । निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले ३२ गते मतदान गराउने गरी आफूहरुले निर्वाचन प्रक्रिया अगाडि बढाइरहेको बताए ।

महाधिवेशन प्रतिनिधिको नामावलीसम्बन्धी विवादका कारण उम्मेदवारी दर्ता आजको सट्टा भोलि सरेको उनले बताए । निर्वाचन समितिले आज बिहान १२ बजेदेखि मतदाता परिचयपत्र, झोला, विभिन्न दस्तावेजलगायतका सामग्री पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवनबाट वितरण गर्न थालेको छ । आज पहिलो दिन झन्डै दुई हजार प्रतिनिधिलाई वितरण गरिएको र भोलिसम्ममा वितरणको काम सकिने खरेलले बताए ।

निर्वाचन संयोजक खरेलले महाधिवेशन प्रतिनिधिको नामावली सच्याउन झन्डै २०० वटा निवेदन आएको पनि जानकारी दिए । प्रतिनिधिको पूरा नाम, क्याम्पस आदि नमिलेका विषयमा सच्याउन भन्दै परेको निवेदन निर्देशक समितिलाई बुझाइने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप