सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालले नेदरल्याण्डलाई १९ रनले हरायो

सोमबार, ३१ साउन २०७३, २२ : २७
सोमबार, ३१ साउन २०७३

काठमाडौँ – विश्व क्रिकेट लिग च्याम्पियनसिप लिगअन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपालले घरेलु टोली नेदरल्यान्डलाई १९ रनले पराजित गरेको छ ।

नेपालले प्रस्तुत गरेको २१८ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड ४८.३ ओभरमा सबै विकेट गुमाउँदै १९८ रनमा समेटियो ।

नेदरल्याण्डकोे ब्याटिङ ध्वस्त बनाउने क्रममा सोमपाल कामी, बसन्त रेग्मी र कप्तान पारस खड्काले समान २–२ विकेट लिए भने शक्ति गौचन, सन्दीप लामिछाने र सागर पुनले समान १–१ विकेट लिए ।

यसअघि नेदरल्यान्डको आमस्ट्रडममा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा नेपालले ९ विकेटको क्षतिमा २ सय १७ रन बनायो ।

कप्तान पारस खड्काले ९४ बलको सामना गर्दै ७ चौका र १ छक्काको मद्दतले ८४ रन बनाए । ३ विकेटको क्षतिमा ६५ रनको खराब स्थितिमा रहेको नेपाललाई पारस र सागर पुन मिलेर सम्मानजनक स्कोरतर्फ डोर्याए । शतकीय साझेदारी गर्ने क्रममा पुनले ४५ रनको योगदान दिए । दुवै मिलेर ११८ रन जोडे ।

नेपालको स्कोर १८३ रनको स्थितिमा पारस असान मलिकको बलमा क्याचआउट भए भने त्यस लगत्तै सागर पुन पनि क्याच आउट हुन पुगे । यसअघि टस हारेर पहिलो ब्याटिङ गर्ने निमन्त्रणा पाएको नेपालले ढिलो गतिमा शुरुवात गर्यो ।

९.५ ओभरमा नेपालले २२ रनको स्थितिमा पहिलो विकेट गुमायो । अनिल मण्डल मात्र ४ रन बनाएर पभिलियन फर्किए । त्यसपछि आएका शरद भेष्वाकर पनि मात्र ६ रन बनाएर फकिए । ओपनर ज्ञानेन्द्र मल्लले ३९ रनको योगदान दिए ।

शनिबार भएको पहिलो खेलमा भने नेपाल नेदरल्यान्डसँग सात विकेटको विशाल अन्तरले पराजित भएको थियो । जारी लिगमा १२ अङ्क जोडेको नेदरल्यान्डस शीर्ष स्थानमा छ । नेपालले ६ अंक जोडेको छ । समान खेल खेलेको केन्याको पनि ६ अंक भएपनि  रनरेटको आधारमा केन्यालाई पछि पार्दै नेपाल पाँचौं स्थानमा उक्लिन सफल भएको छ।

अब ४ खेल खेल्न बाँकी रहेको नेपालको विश्वकप छनोट खेल्ने आशा जिवितै रहेको छ । ८ टोली सहभागि लिगमा शीर्ष चारमा रहने टोलीले बङ्गलादेशमा सन् २०१८ मा हुने आइसिसी विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप