बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

क्रुजबाट खसेकी चीनियाँ महिला ३८ घण्टा समुन्द्रमा रहँदासमेत जीवित !

मङ्गलबार, ३२ साउन २०७३, १३ : ०१
मङ्गलबार, ३२ साउन २०७३
क्रुज जहाजबाट खसेर ३८ घण्टा समुन्द्रमा रहेकी एक चीनियाँ महिलालाई माझीले जीवितै उद्धार गरेका छन् । फ्यान थर भएकी यी महिला साङ्घाईकी हुन् । चीनियाँ मिडियाका अनुसार फ्यान जहाजको डेकबाट यति धेरै झुकिन् कि उनी त्यहाँबाट खसिन् । उनी चौथो डेकबाट खसेको बताइएको छ । यो सात तल्ले घरबाट खसे जत्तिको उचाई हो । अचम्म त के छ भने ३१ वर्षीया ती महिला यति ठूलो दुर्घटनामा परिन् तर उनलाई सामान्य चोटमात्र लागेको छ । रोयल क्यारीबियन नामक क्रुजमा उनी साङ्घाइबाट दक्षिण कोरिया हुँदै जापानको यात्रामा थिइन् । उनको भ्रमण पाँच दिनको थियो । क्रुजबाट खसिसकेपछि उनले कुनै वस्तुमा साहारा लिन पाइनन् । माछा मार्ने डुङ्गा नदेखुञ्जेल उनी पानीको बहावसँगै पानीमा तैरन बाध्य थिइन् । उनीसँग क्रुजमा रहेका उनका परिवारले उनी खसेको निकै घण्टा पछि मात्र थाहा पाए । फोनमा छोरीको आवाज सुनेपछि उनका बुवाले आफ्नी छोरी जीवितै छिन् भन्ने पत्याउनै सकेनन् । ‘उनले ओलम्पिकमा भाग लिनुपर्छ’ उनका अनुसार बुधबार राती जब उनी दुर्घटनावश समुन्द्रमा खसिन् तब त्यहाँ साढे पाँच फिटकी महिला वरिपरिको दृश्य हेर्न मस्त थिइन् । उनले सहयोगका लागि चिच्याइन् तर उनलाई कसैले पनि सुनेनन् । पछि उनी थाकिन् र निदाइन् । उनी निदाउँदा पनि पानीको बहावसँगै बग्न सफल भइन्, चीनियाँ मिडियाले जानकारी दियो । शुक्रबार बिहान ब्यूँझिएपछि उनले माछा मार्ने एक भाँडो देखिन् । फ्यानको पाखुरामा जेलीफिसले चिलेको सामान्य घाउमात्र छन् । माइक्रो ब्लगिङ साइट, सिना वेइबोमा यस विषयमा मानिसहरुले टिका टिप्पणी गरेका छन् । ‘समुन्द्रमा उनले ३८ घण्टासम्म केही पनि खाइनन् तरपनि उनी बाँचिन् ? यो त चमत्कार हो,’ एक प्रयोगकर्ताले भने । ‘यो पत्याउनै सकिन्न,’ अर्का प्रयोगकर्ताले भने । एकजना कमेन्ट गर्ने व्यक्तिले भने, ‘उनले ओलम्पिकमा भाग लिनुपर्छ ।’ रिपोर्टका अनुसार युनिभर्सिटीमा खेलकुदको अध्ययन गरेकी फ्यान शारिरिक रुपमा बलियो भएका कारण उनी बाँच्न सफल भएकी हुन् । उनले पाँच वर्षको उमेरदेखि नै पौडी खेल्न सुरु गरेकी थिइन् । स्थानीय समाचार एजेन्सीले उनले यति कम तापक्रममा कसरी बाँच्न सफल भइन् भन्ने कुराको जानकारी दिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप