सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेविसंघको १ सय २९ पदका लागि   ६ सय ८५ जनाको उम्मेद्वारी (भिडियो रिपोर्टसहित)

मङ्गलबार, ३२ साउन २०७३, १६ : ३३
मङ्गलबार, ३२ साउन २०७३

काठमाडौं–नेविसंघको ११ औं महाधिवेशनमा नेतृत्वका लागि ६ सय ८५ जनाको उम्मेद्वारी परेको छ । उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र सदस्यको १ सय २९ पद्का लागि ६ सय ८५ जनाको उम्मेद्वारी परेको हो । सभापतिमा ८ जनाको उम्मेद्वारी परेको छ । सभापतिमा शुभराम बस्नेत, नैनसिंह महर, मनोजमणि आचार्य, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य, पदमराज पन्त, नगेन्द्रसिंह ठकुरी र बचन कार्कीको उम्मेद्वारी परेको हो । नैनसिंह महर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्ण प्रसाद सिटौलाको पक्षका उम्मेद्वार हुन् भने मनोजमणि आचार्य पार्टी नेता रामचन्द्र पौडेल पक्षका हुन् । आनन्दराज त्रिपाठी पनि पौडेल पक्षकै हुन् । २ महामन्त्रीका लागि ५ जनाको उम्मेद्वारी परेको छ भने एक कोषाध्यक्षका लागि ४ जनाले उम्मेद्वारी दर्ता गराएको केन्द्रीय निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिए ।

केन्द्रीय निर्वाचन समिति केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारी दर्ताका लागि मंगलबार अपरान्ह १२ बजेसम्मको समय दिएको थियो । प्रतिनिधि छनोटको विवाद्का कारण महाधिवेशनको उद्घाटन भएको ९ औं दिनमा बल्ल उम्मेद्वारी दर्ता सम्भव भएको हो । महाधिवेशनलाई नीति बनाउने थलोका रुपमा लिने गरिए पनि नेविसंघमा भने नीतिका लागि वहस गर्न बन्द सत्र नै नगरी बुधबार मतदान गरिने भएको छ । निर्वाचन समितिका संयोजक खरेलले धेरै मतदाताले भोट दिने पद र क्षेत्रमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गराइने बताए । मतदानमा ४० वटा विद्युतीय मेसिन प्रयोग हुनेछन् । निर्वाचन समितिले बुधबार विहान ७ बजेदेखि साँझ ७ बजेसम्म नेपाली काँग्रेसको मुख्यालयमा मतदानको कार्यक्रम राखेको छ । मतदानबाट एक सभापति, ११ उपसभापति, २ महामन्त्री, १३ सहमहामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य चयन हुने छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप