सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सैनिक कल्याणकारी कोषमा ३३ अर्ब ६ करोड थुप्रियो, नीतिको अभावले लगानीमा समस्या

मङ्गलबार, ३२ साउन २०७३, १७ : ३७
मङ्गलबार, ३२ साउन २०७३

काठमाडौं–नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ३३ अर्ब ६ करोड थुप्रिएपनि उचित नीतिको अभावमा लगानी गर्न समस्या देखिएको छ । मंगलबार सैनिक कल्याणकारी कोषको गतिबिधी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सहायकरथी गौरव तन्डुलले प्रवर्तक भएर लगानी गर्ने नीतिको अभावले अर्बौ रकम बैंकमा राखिएको बताए । उनले भने, ‘प्रवर्तक भएर लगानी गर्न मिल्ने स्पष्ट नियमावली छैन, त्यसैले ‘क’ बर्गका कर्मसियल बैंकहरुमा जम्मा गरेर राखेका छौं ।’

२०३२ सालमा १ करोड २४ लाख १ हजारबाट स्थापना भएको सैनिक कल्याणकारी कोषको रकम वृद्धि भएर २०७२ असार मसान्तसम्ममा ३० अर्ब ३४ करोड ६६ लाख २० हजार पुगेको थियो । २०७३ असार मसान्तसम्ममा सो रकम बढेर ३३ अर्ब ६ करोड पुगेको नेपाली सेनाले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त १ करोड २४ लाख रकमबाट शुरु भएको कल्याणकारी कोषले सुनाचुरी ईमल्सन्स प्लान्ट, चितवनमा घर जग्गा खरिद, अक्सिजन प्लान्ट, स्वास्थ्य विज्ञान संस्था, ईचंगुनारायणमा जग्गा खरिद र भवन निर्माण, नेपाली सेना कल्याणकारी बोर्डमा लगानी, भेट्रान्स तथा सिभील हस्पिटल, तथा जेपी प्रतिष्ठानमा गरेको पेश्कि लगानी सहित कुल ४ अर्ब चालिस करोड ९२ लाख लगानी गरेपनि ३३ अर्बभन्दा बढी रकम बैंकमा राखिएको छ ।

कोषको निक्षेपबाट आर्जित ब्याजको १५ प्रतिशत रकम अर्थात आर्थिक बर्ष ०७२/७३ मा २२ करोड ३८ लाख ४० हजार नेपाल सकारको राजस्वमा ब्याज कर दाखिला गरेको सहायकरथी तन्डुलले जानकारी दिए ।

सैनिक कल्याणकारी कोषले सञ्चालन गरेको विद्यालय तथा महाविद्यालयहरुमा अध्ययन गर्ने अवसर नपाएर अन्य विद्यालयहरुमा अध्ययन गर्दै आएका बहालवाला तथा अवकासप्राप्त सैनिकका छोराछोरी मध्ये प्रति एक लाई १० हजारका दरले छात्रवृद्धि तथा सैनिकको मृत्यु भएमा आश्रितलाई दिईने क्रियाकर्म अनुदान बढाएर २५ हजार पुर्याईएको छ ।

त्यस्तै बहालवाला सैनिकहरुको परिवारलाई आधारभुत आवश्यकताहरुको पहुँच पुग्नेगरी ब्यवस्थित आवास निर्माणका लागी नवलपुर, सर्लाही, धनुषाको धारापानी, राजविराज र तनहुँको खैरेनिटारमा ८० परिवार क्षमताका चार वटा परिवार आवास निर्माणकार्य शुरु भएको बताईएको छ । त्यस्तै कल्याणकारी कोषबाटै भुकम्प प्रभावित बहालवाला तथा अवकासप्राप्त सैनिकहरुलाई उल्लेख्य राहत वितरण गरिएको नेपाली सेनाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप