सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एउटै क्षमताका सौर्यबत्तीको मूल्यमा चौध हजारको फरक

बुधबार, ०१ भदौ २०७३, २३ : १७
बुधबार, ०१ भदौ २०७३

भक्तपुर– नेपाल सरकारको उज्यालो नगर कार्यक्रमअन्तर्गत मध्यपुर थिमि नगरपालिकामा जडान भइरहेका सौर्य सडक बत्तीमा अनियमितता भइरहेको खुलासा भएको छ । मध्यपुरमा जडान भइरहेका सो बत्तीको मूल्य जिल्लाका अन्य नगरको तुलनामा रु १४ हजार बढी मूल्यको रहेको छ ।

मध्यपुरमा जडान भइरहेका प्रति सौर्यबत्तीको मूल्य रु एक लाख एक हजार २९५ तोकिएको नपाले जानकारी दिएको छ । सो मूल्यमा अनुगमन शुल्क र प्राविधिक शुल्क थप तीन प्रतिशत लाग्ने जनाइएको छ । सोअनुसार एक थान सौर्यबत्तीको रु एक लाख चार हजार १९१ हुन्छ । सोही क्षमताको सौर्यबत्ती मध्यपुरको छिमेकी नगर अनन्तलिङ्गेश्वरमा रु ९० हजार ७५ मा जडान भइरहेको छ । सरकारले नगरका सार्वजनिकस्थल उज्यालो बनाउने उद्देश्यले स्थानीय निकाय र उपभोक्तासँगको सहकार्यमा सौर्यबत्ती जडान गर्ने नीति लिएको हो । सोही नीतिअनुरुप मध्यपुर थिमि र अनन्तलिङ्गेश्वर नपाका सडकमा सौर्यबत्ती जडान कार्य भइरहेको छ । मध्यपुरको आयोजना लगानी विवरणमा १४८ थान बत्तीको रु एक करोड ५४ लाख २० हजार ३४२ कुल लागत रहेको छ । सोहीअनुसार नपाले उपभोक्तासँग एक थान बत्तीका लागि रु १५ हजार ६०० का दरले रु २३ लाख १३ हजार ५१ उठाएको छ । अनन्तलिङ्गेश्वरमा उपभोक्ताले एक थान बत्तीलाई रु १३ हजार ५०० बुझाएको छ । दुईवटै नगरबाट प्राप्त सौर्यबत्तीको लागत अनुमानमा बत्तीको क्षमता एउटै रहेको छ तर मूल्य भने फरकफरक रहेको छ । मध्यपुरले स्वीकृत गरेको कोटेसनमा सोलार प्यानल १५० डब्लुपीको मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु १७ हजार ८५० छ भने अनन्तलिङ्गेश्वरमा सोही प्यानलको भ्याटबाहेकको मूल्य रु १६ हजार १५६ रहेको छ ।

त्यस्तै मध्यपुरमा ८० एएच सोलार जेल ब्याट्रीको भ्याटबाहेकको मूल्य रु २५ हजार ५०० रहेको छ भने अनन्तलिङ्गेश्वरमा १०० एएच ट्युबलर ब्याट्रीको मूल्य भ्याटबाहेक रु ३० हजार ११० रहेको छ । दुई नपाको स्वीकृत दरभाउमा बत्तीको मूल्यमा धेरै अन्तर देखिएको छ । तीस वाटको लेड बत्तीलाई मध्यपुरले भ्याटबाहेक रु १३ हजार ५०० स्वीकृत गरेको छ भने अनन्तलिङ्गेश्वरमा रु सात हजार ८३१ मा स्वीकृत गरिएको छ । मध्यपुरमा जिओपी इनर्जी प्रालि, बायो इनर्जी प्रालि, डिप लाइट इनर्जी प्रालि र काइनेटिक इनर्जी प्रालिले सौर्यबत्ती आपूर्ति गरिरहेका छन् । नपाले ती कम्पनी छनोट गरी उपभोक्तालाई सिफारिस गरेको र उपभोक्ताले ती कम्पनीसँग सौर्यबत्ती खरिद गरेको नपाका इन्जिनियर सुनिल होनाले जानकारी दिनुभयो । उपभोक्ता स्वयम्ले कम्पनीसँग सोझै खरिद गर्ने भएकाले अन्य नपाको तुलनामा मूल्य फरक परेको हुनसक्ने बताउँदै उहाँले नपाले कोटेसन स्वीकृत गर्दा जिल्लाको दरभाउ भन्दा निकै कम मूल्यलाई स्वीकृत गरेको दाबीसमेत गर्नुभयो । होनाले उपभोक्ता स्वयम्ले आपूर्ति कम्पनीसँग सोझै बत्ती खरिद गरेको दाबी गरे पनि त्यसमा कुनै सत्यता नभएको स्रोतको दाबी रहेको छ । मध्यपुरमा रु ९२ हजारमा सौर्यबत्ती आपूर्ति गर्न एक कम्पनी राजी भएको थियो तर कमिसनको लालसामा बढी मूल्य राख्ने कम्पनीसँग खरिद सम्झौता गरेको हो । स्रोतले भन्यो, “उपभोक्ताले सोझै कम्पनीसँग नेगोसिएसनमा बत्ती खरिद गरेको भए सबै उपभोक्ता समितिको एउटै दरभाउ कसरी सम्भव छ ?” एक उपभोक्ता समितिका अध्यक्षले नाम उल्लेख नगर्ने सर्तमा भने, “हामीले आपूर्तिकर्ता कम्पनी छनोट गरेको होइन । मूल्य पनि नपाले नै निर्धारण गरेको हो । सोहीअनुसार हामीले १५ प्रतिशत रकम जम्मा गरेका हौँ ।” मध्यपुर थिमि नपा स्रोतले भने सौर्यबत्ती खरिदका लागि निर्णय गरेर नै उपभोक्तालाई तोकिएको कम्पनीबाट खरिद गर्न लगाएको जानकारी दिएको छ । नपाको निर्णयअनुसार उपभोक्ता समितिले पनि सोही मूल्य बमोजिम १५ प्रतिशतले हुन आउने रकम नपामा जम्मा गरेको छ । नपाले उपलब्ध गराएको सौर्यबत्ती आयोजना लगानी विवरणमा पनि उपभोक्ता समितिसँग एक थान सौर्यबत्तीको रु एक लाख चार हजार १९१ का दरअनुसार नै १५ प्रतिशत रकम उठाएको उल्लेख गरिएको छ ।

अनन्तलिङ्गेश्वरले सौर्यबत्ती आपूर्तिका लागि आपूर्तिकर्तालाई दरभाउसहित सूचीकृत हुन राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरेको र सो सूचना बमोजिम सूचीकृत भएका चार वटा कम्पनीसँग छलफल र घटाघट प्रक्रियाबाट सिप्रदी इनर्जी प्रालिको कोटेसन स्वीकृत गरेको नपाका कार्यकारी अधिकृत होतराज पाण्डेले जानकारी दिनुभयो । मध्यपुरले भने नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेका नौ कम्पनीमध्ये चार वटा छनोट गरेको र उपभोक्ताले ती चारमध्ये कुनै एकसँग ‘नेगोसिएसन’मा खरिद गर्न सकिने व्यवस्था गरेको इन्जिनियर होनाले जानकारी दिनुभयो । थिमि नपामा कुल १४८ वटा सौर्यबत्तीमध्ये वडा नं १ मा पाँच, २ मा १५, ३ को टिगनीमा १०, निकोसेरामा सात, सयपत्रीमा छ, राधेराधेमा १०, नगदेशमा नौ, कुण्डोलमा आठ, गट्ठाघरमा १०, तेर्साटारमा १३, वडा नं १६ लोकन्थलीमा ३८ र वडा नं १७ सानोथिमिमा १० वटा जडान गर्ने योजना छ । अनन्तलिङ्गेश्वरले मन्त्रालयबाट प्राप्त ७१ वटा कोटामध्ये प्रत्येक वडालाई चार वटाका दरले ६० वटा र बाँकी ११ वटा उपभोक्ताले माग गरेबमोजिम वितरण गरेको कार्यकारी अधिकृत पाण्डेले जानकारी दिनुभयो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप