सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

क्षतिपूर्ति दिने सहमतिपछि काभ्रे बस दुर्घटनामा ज्यान गुमाएकाहरुको आफन्तले शव बुझे, सामूहिक दाहसंस्कार गरियो

बुधबार, ०१ भदौ २०७३, २३ : २४
बुधबार, ०१ भदौ २०७३

काठमाडौँ– काभ्रेपलाञ्चोकको बिर्ता देउराली–९ कोसीपारि सडकमा सोमबार भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्त र व्यवसायीबीच क्षतिपूर्तिबारे सहमति भएपछि पीडितले शव बुझेका छन् ।

क्षतिपूर्तिबारे मङ्गलबार दिनभर अरनिको यातायात समितिका पदाधिकारी, जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद र पीडितपक्षबीच धुलिखेलमा छलफल भएपनि क्षतिपूर्तिको कुरा मिलेको थिएन ।

आज बिहान भएको छलफलमा तेस्रो पक्ष बिमाबाहेक समितिको तर्फबाट पीडितलाई किरियाखर्चवापत रु एक÷एक लाख दिने मौखिक सहमतिपछि पीडितका आफन्तले शव बुझेको छलफलमा सहभागी सांसद तीर्थ लामाले जानकारी दिए ।

मृतकका आफन्तले तेस्रो पक्ष बिमाबाहेक आफूहरूले समितिको तर्फबाट थप एक÷एक लाख क्षतिपूर्ति पाउनुपर्ने माग राखेपनि समितिले स्पष्ट उत्तर नदिँदा मङ्गलबार सहमति हुन सकेको थिएन ।

समितिका अध्यक्ष जितबहादुर भारतीले भने पीडितलाई समितिको तर्फबाट एक÷ लाख दिने सहमति नभएको दाबी गरे ।

अध्यक्ष भारतीले भने, “उहाँहरुले पाउने क्षतिपूर्ति नियमानुसार पाउनुहुन्छ, समितिको तर्फबाट थप केही दिन सकिँदैन ।

छलफलका क्रममा उक्त रुटमा चल्ने सवारीले क्षमताभन्दा बढी यात्रु नबोक्ने, यात्रुवाहक बसले सामान ढुवानी गर्न नपाउनेलगायत सहमति भएको सांसद लामाको भनाइ छ ।

चालकको चालक अनुमितपत्र सक्कली

यसैबीच दुर्घटना गराउने बसका चालकको चालक अनुमतिपत्र नक्कली नभएको निक्र्योल भएको छ । दुर्घटनाग्रस्त २ ख १०६ नंको बस चालक चिन्तामणि गौतमको ०६–२१३४२९ नं.को सवारी चालक अनुमितपत्र यातायात व्यवस्था कार्यालयको अभिलेखमा भिडाउँदा सक्कली नै भएको भेटिएको प्रहरीले जनाएको छ ।

मृतकको सामूहिक दाहसंस्कार

उक्त दुर्घटनामा ज्यान गुमाएकाको आजै आ–आफ्नो धार्मिक संस्कारअनुसार दाहसंस्कार गरिएको छ ।

हिन्दु धर्मावलम्बीको पशुपति आर्यघाटमा, बौद्ध धर्मावलम्बीको स्वयम्भूमा, दुईजनाको इसाई परम्परा र रामेछापका दुईजनाको रामेछापमै आ–आफ्नो धार्मिक परम्पराअनुसार दाहसंस्कार गरिएको आफन्तले जानकारी दिएका छन् ।

मृतकको शव सम्बन्धित गाउँमै लैजान बढी खर्च र बाटोको समस्याका कारण काठमाडौँमै दाहसंस्कार गरिएको मृतकका आफन्त विक्रमदास दमाईले जानकारी दिऐ ।

दुर्घटनामा २७ जनाले ज्यान गुमाएका थिए । कात्तिके देउराली गाविसका ११, मादनकँडारीका नौ, गोठपानीका दुई, मेच्छेपौवा, बिर्तादेउराली र पोखरीचौरी रामेछापको गुन्सी भदौरे र लखनपुर गाविसका एक÷एक जनाको ज्यान गएको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप