सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बालगोपालेश्वर मन्दिर पुनःनिर्माण तीस प्रतिशत सकियो

बिहीबार, ०२ भदौ २०७३, ११ : ५०
बिहीबार, ०२ भदौ २०७३

काठमाडौँ– भूकम्पले गर्दा क्षति पुगेको रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम तीस प्रतिशत सकिएको छ । तिहारसम्ममा मन्दिर निर्माणको सबै काम सकिने बताइएको छ ।

यही साउन ५ गतेदेखि सुरु भएको पुनःनिर्माणको कामअन्तर्गत अहिले पिल्लर खम्बा राख्ने काम सकेर वरपर पर्खाल लगाउने काम भइरहेको निर्माणको जिम्मा लिएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले बताउनुभयो । तीस प्रतिशत काम सकिएको छ, अबको केही दिनमा मन्दिरमा पर्खाल लगाउने र गजुर राख्ने काम गरिन्छ, उहाँले बताउनुभयो ।

“यो मन्दिर भाइटीकाको दिन मात्र खुल्छ, यस वर्ष पनि सर्वसाधारणले मन्दिरमा बसेर टीका लगाउन पाउँछन्, जहाँ दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जाने गर्छन्, आउँदै गरेको तिहारलाई लक्षित गरेर निर्माणको काम भइरहेको छ”, कँडेलले भन्नुभयो । रानीपोखरीमा केही वर्षदेखि छठ पर्व पनि मनाउन थालिएको छ ।

मन्दिरको बाहिरी भागमा पनि पर्खाल लगाउने काम भइरहेको छ, पोखरीमा रहेको केही पानी निकालिसकिएको भएपनि बर्सातको समय भएको हँुदा बाँकी पानी फाल्ने काम गर्न समस्या भएको छ । पानी फाल्ने काम सकेपछि महत्वपूर्ण कामका रूपमा रहेको पोखरीको हिलो फाल्ने काम सुरु हुनेछ ।

त्यहाँ रहेका सबै माछा भने बालाजु बाइसधारामा लगिसकिएको छ । झन्डै ४०० वर्षदेखि सफा नगरिएको पोखरीको हिलो फाल्ने कामका लागि कति जनशक्तिको आवश्यकता पर्ने, कति खर्च लाग्ने, हिलो कहाँ व्यवस्थापन गर्ने भन्ने यकिन नभएको काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले जानकारी दिनुभयो ।

पोखरीको गहिराई स्थानीयवासीले एक बाँस बराबर छ भनेका छन् भने सरकारी अधिकारीले सात फिटसम्म मात्र गहिराइ रहेको भनेपनि हिलो फालेपछि मात्र पोखरीको गहिराइ कति छ भन्ने यकिन थाहा हुने प्रमुख तामाङले भन्नुभयो ।

पोखरीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि रानीपोखरीको पुनःनिर्माण अन्तर्गत केही स्थानमा विद्युत् जडान गरी झिलीमिली बनाइने तथा पोखरीको संरक्षणका लागि चारैतिर बार निर्माण गरिने, बोटबिरुवा रोपिने, हरियाली र रङ्गीन पानीको फोहोरा बनाउने कामपाले जनाएको छ ।

त्यसैगरी, पोखरीको वरिपरि घुम्नका लागि दुईवटा बाटोसँगै छेउछेउमा कफी पसलको व्यवस्थासमेत गर्ने कामपाको योजना रहेको छ । चारसय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको रानीपोखरी प्रताप मल्लले कान्छा छोरा चक्रवर्तिन्द्र मल्लको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउनका लागि निर्माण गराएको भनाइ छ ।

विसं १७२५ देखि विसं १७२७ सम्म दुई वर्ष लगाएर पोखरी बनाइएको हो । पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उहाँका छोराहरू सहितको सेतो मूर्ति छ । पोखरीको चारै कुनामा सोह्रहाते गणेशसहितका मन्दिर छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप