सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वीरगन्जका अस्पतालमा अवैध गर्भपतनको धन्दा

बिहीबार, ०२ भदौ २०७३, १७ : २०
बिहीबार, ०२ भदौ २०७३

वीरगन्ज– वीरगन्जका नीजी अस्पताल र क्लिनिकहरुमा सेवाग्राहीसंग चर्को रकम असुलेर गैरकानुनी रुपमा अनिच्छित गर्भपतन गराउने काम भइरहेको खुलासा भएको छ ।

नेपालको कानुन अनुसार अनिन्छित गर्भ रहेमा अधिकतम १२ हप्ता सम्मको गर्भ एक हजार रुपैया शुल्क लिएर गर्भपतन गराउन पाइने प्रावधान रहेपनि नीजी अस्पताल र क्लिनीकहरुले १५ देखि ५० हजार रुपैया सम्म असुलेर १२ हप्ता भन्दा बढिको गर्भपतन गरिरहेको खुलासा भएको हो। सरकारले अनिच्छित गर्भ रहेमा अधिकतम १२ हप्ता सम्म मात्रको गर्भपतन गराउन कानुनी मान्यता दिएको छ । त्यो पनि सरकारले तोकेका सरकारी तथा गैर सरकारी स्वास्थ्य संस्थामा मात्रै अनिच्छित गर्भ पतन गराउन पाइने नियम छ । पर्सामा बगही , बागवाना , विश्रामपुर , पोखरीया , सेढवा , निर्मलवस्ती , ठोरी , बागेश्वरी तित्रौना , महुवन र मुडली गाविसमा रहेका स्वास्थ्य चौकीहरुमा नौ हप्ता सम्मको मात्र अनिच्छित गर्भ औषधी सेवन गराएर गर्भपतन गराउन पाइने सेवा उपलब्ध छ । जसको सेवा शुल्क पाँच सय रुपैया मात्र छ ।यस्तै वीरगन्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पताल र मेरी स्टोप्स सेन्टरमा भने शल्यकृया गरेर अधिकतम १२ हप्ता सम्मको गर्भ पतन गराउन मिल्ने सेवा उपलब्ध छ । जसको सेवा शुल्क एक हजार रुपैया छ । यी बाहेक अन्य कुनै पनि स्वास्थ्य संस्था ,अस्पताल वा क्लिनीकमा गर्भपतन गराउन पाइदैन । तर वीरगन्जमा रहेका नीजी क्लिनीक र नर्सीङ होममा महिलासंग १८ देखि ४५ हजार रुपैया सम्म असुलेर १८ देखि २० हप्ता सम्मको गर्भ पतन गराउने काम भइरहेको छ । वीरगन्जको लिंक रोडमा रहेको मेरी स्टोप्स सेन्टरमा पनि राज्यले तोकेको शुल्क भन्दा बढि रकम असुलेर १२ हप्ता भन्दा बढिको गर्भ पतन गराउने काम भइरहेको श्रोतले जनाएको छ । यस्तै मेरी स्टोप्सकै ठिक सामुन्ने रहेको निकिता फार्मेसी भित्र सन्चालित डाक्टर ममता चौकीकारको क्लिनिकमा पनि १२ हप्ता भन्दा बढिको गर्भ गर्भवती महिलाको आर्थिक अवस्था अनुसार १५ देखि ४५ हजार रुपैया सम्म असुलेर गैरकानूनी रुपमा गर्भपतन गराउने गरिएको छ । मेरी स्टोप्स सेन्टरमा पुग्ने गर्भवति महिलाको गर्भ १५/२० हप्ता भन्दा बढिको भएमा भने त्यहाका कर्मचारीले सिधै अगाडि पट्टि नै रहेको डाक्टर चौकीकारको क्लिनीकमा पठाइदिने गरेका छन् ।त्यसबापत ती कर्मचारीले चार देखि पाँच हजार रुपैया कमीशन डाक्टर चौकीकारबाट लिने गरेका छन् । दुई छोरीका बुबा पर्सा जगरनाथपुरका जाकीर हुसेनले आफ्नी पत्निको गर्भमा फेरि छोरी नै रहेको थाहा पाएपछि गर्भपतन गराउने निधो गरे । चार महिनाको गर्भ पतन गराउनका लागि हुसेन वीरगन्जको लिंकरोडमा अवस्थित मेरी स्टोप्स सेन्टरमा पुगे । तर मेरी स्टोप्सका कर्मचारीले १२ हप्ता (तीन महिना ) भन्दा बढि समयको गर्भ पतन गर्न नमिल्ने भन्दै छेउकै निकिता फार्मेसी भित्र रहेको डाक्टर ममता चौकीकारको क्लिनीकमा जान सुझाव हुसेनलाई दिए ।

त्यसपछि हुसेनले १८ हजार रुपैया तिरेर डाक्टर चौकीकारको क्लीनकमा पत्निको गर्भपतन गराए । शुरुमा त ४५ हजार मागेका थिए , हुसेनले भने ,‘ धेरै रिक्वेष्ट गरेपछि १८ हजारमै गरिदिए । तर डाक्टर चौकीकारले भने आफनो क्लिनीकमा गैर कानूनी रुपमा गर्भपतन नगरिएको बताइन् ।

मेरो क्लिनीकामा त्यस्तो गैर कानूनी काम हुदैन , उनले भनिन् ,‘ यो सब निराधार कुरा हो । वीरगन्जमा रहेका डाक्टर चौकीकारको क्लिनीक , मेरी स्टोप्स सेन्टर र अन्य नीजी अस्पताल तथा नर्सीङ होमले चर्को रकम असुलेर गैर कानूनी रुपमा १२ हप्ता भन्दा बढि समय अवधीको गर्भ पतन गराउदै आएको भएपनि नियामक निकाय जिल्ला जनस्वास्थ्य कार्यालयले भने अहिले सम्म कुनै अनुगमन र निरिक्षण गर्ने गरेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख जन स्वास्थ्य अधिकृत राज किशोर पडितले भने अवैध गर्भपतन गराएको बारेमा कुनै गुनासो र उजुरी नआएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप