बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रोग एकाथरी, बिरामी धामीझाँक्रीको शरणमा जाँदा स्थिती नाजुकः कतिको त मृत्यु

बिहीबार, ०२ भदौ २०७३, १४ : ०८
बिहीबार, ०२ भदौ २०७३
जाजरकोट । सक्ला–१ का पदमबहादुर खत्रीकी श्रीमती राधिका खत्री ढाड र पेट दुखेर हैरान भएपछि उनले धामीकहाँ गएर श्रीमती निको पार्ने जुक्ति निकाले । जतिसुकै धामी, झाँक्रीलाई देखाए पनि पदमकी श्रीमतीको दुःखाई थोरै पनि कम भएन, बरु बढी दुःखाई बढ्यो । उनले श्रीमतीका लागि दर्जन बढी बोका, कुखुरा देवीदेवतालाई चढाए । राधिकाको समस्या बढ्दै गएपछि उनले एकदिन दिल्लीस्थित स्वास्थ्य संस्थामा ल्याएर भिडियो एक्स–रे गर्दा मिर्गौलामा पत्थरी भएको खुल्यो । त्यस्तै, दह गाविस वडा नं ५ का धनबहादुर पुन पेसाले शिक्षक हुन्, तर उनी आफैँ बिरामी हुँदा धामी, झाँक्रीको शरणमा परे । करिब दुई महिनासम्म समस्या समाधान नभएपछि रुकुमको चौरजहारीमा मिसन अस्पतालमा आउँदा मिर्गौलामा पत्थरी भएको पुष्टि भएपछि नेपालगन्ज गएर शल्यक्रियापछि अहिले विद्यालय जाने र आउने काम भइरहेको छ । सक्ला–१ कै डबलबहादुर खत्रीको श्रीमती धनकुमारी खत्रीलाई पेट दुख्ने समस्या हुँदाहुँदै धामीकै शरणमा पुग्दा मृत्यु भयो । त्यस्तै खगेनकोट वडा नं ६ का ग्वामे नेपालीको पेट दुख्यो भनी कराउँदा कराउँदै माधीकै शरणमा पु¥याउँदा ४३ वर्षकै उमेरमा मृत्यु भयो । यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । यहाँका अधिकांश ग्रामीण क्षेत्रका स्थानीयवासी स्वास्थ्य संस्थाभन्दा पहिला धामी, झाँकीको शरणमा जाँदा हजारौँ रुपैयाँ खर्च हुने गरेको छ । भूतप्रेत, देवीदेवता लागेको भनी गलत प्रचार गर्दा यहाँका मानिस अकालमै मृत्युको शिकार बन्नुपरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । देवीदेवता, बोक्सीलगायतको उपचारका लागि भन्दै हजारौँ रुपैयाँ खर्चेपछि मात्र अन्त्यमा औषधि पसलमा गएर कडा डोजका औषधि खुवाउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य संस्थाभन्दा औषधि पसलमा जाँदा रोग नै पत्ता नलागी जथाभावी औषधि सेवन गर्न लगाउँदा समस्या चरमोत्कर्षमा पुगेपछि मात्र सरकारी स्वास्थ्य संस्थामा आउने चलनको सिकारमा यहाँका स्थानीयवासी परेका छन् । औषधि बिक्री गर्न स्थापना गरेका औषधि पसल नै बिरामीको अन्धाधुन्ध उपचार गर्ने विज्ञ डाक्टर बन्दा बिरामी थप समस्यामा परेका छन् । सरकारी स्वास्थ्य संस्थामा पर्याप्त औषधि नहुनु र औषधि पसलबाट नै औषधि खरीद गर्नुपर्ने भएकाले पनि सरकारी स्वास्थ्य संस्थाभन्दा औषधि पसलमा मानिसको ध्यान गएको छ । जाजरकोटका अधिकांश गाउँ विकट ठाउँमा भएका कारण सञ्चारमाध्यमको उपयोग न्यून रहेको छ । दर्जन बढी गाउँमा त अहिलेसम्म फोनले काम नै गर्दैन । गाउँमा मानिस भिरबाट लडेर घाइते भए पनि अस्पताल जानुको साटो धामीकहाँ पु¥याउँदा निकै समस्या हुने गरेको छ । पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुनु अर्को समस्या हो । स्वास्थ्य संस्थाको सङ्ख्या थप्नुका साथै सबै ठाउँमा सडक सञ्जालले छोएमा यहाँका स्थानीयवासीको स्वास्थ्य संस्थाप्रतिको विश्वास बढ्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप