बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रंगमञ्च : ‘बोक्सी’ बनाइएकी महिलाको दर्दनाक कथा

बिहीबार, ०२ भदौ २०७३, १४ : ३५
बिहीबार, ०२ भदौ २०७३
‘बोक्सीको आरोपमा कुटिएकी महिला विस्थापित’ ‘बोक्सीको आरोपमा घर निकाला’ ‘बोक्सीको आरोपमा वृद्ध दम्पत्तिमाथि कुटपिट’ ‘बोक्सीको आरोप लगाएर छोराबुहारीले घरनिकाला गरेपछि आमा वृद्धाश्रममा’ ‘बोक्सीको आरोपमा महिलालाई दिसा कोच्याइयो’ ‘बोक्सीको आरोपमा निरन्तर बहिष्कृत’ ‘बोक्सीको आरोपमा यातना पाएकी पीडित महिलाको निधन’ ‘बोक्सीको आरोपमा हत्या’ ‘बोक्सी भन्दै छोराद्वारा आमाको हत्या प्रयास’ गत वर्ष बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ पारित भएर लागू भए पनि यस्ता समाचारका शीर्षक सञ्चारमाध्यममा आउन छाडेका छैनन् । कानुनीराजको त कुरै छाडौं, मानवीयताको समेत उपहास गर्ने यस्ता घटनाको समाचारले छोइरहेको थियो रंगकर्मी सुलक्षण भारतीलाई पनि । तीन वर्षअघि नै उनले यो विषयमा नाटक गर्नुपर्छ भन्ने सोचेका थिए । गत वर्षको अन्त्यतिर उनले नाटक निर्देशनमा हात हाले । आफैंले लेखेको नाटक ‘बिल गेट्स् पण्डित’बाट राम्रो प्रतिक्रिया पाएपछि उनले दोस्रो नाटकका लागि केही वर्षदेखि मनमा हिर्काइरहेको विषय नै छाने । नाटक लेखे– ‘बोक्सीको घर’ । एकल अभिनयका लागि तयार पारिएको नाटकमा कलाकार छाने ¬– सरिता गिरी । जुन नाटक साउन २८ गतेदेखि अनामनगरको सिंहदरबार पूर्वी गेटविपरितमा रहेको मण्डला थिएटरमा मञ्चन भइरहेको छ । ‘बोक्सीको घर’ नामले नै मानवीय संवेदना आकर्षित गर्छ । कसैलाई बोक्सीको नाममा गरिने अमानवीय व्यवहारको सम्झना दिलाउँछ त कतिलाई समाजले स्थापित गरिदिएको बोक्सीको मान्यताले त्रास पैदा गर्छ । मण्डला नाटकघर पुगेर नाटक हलमा पस्दाखेरि नै दुवै संवेदना जागृत हुने वातावरण तयार पारिएको छ । झाँक्रो फिँजाएर घुमिरहेका कलाकारहरुले पुरातन समाजले व्याख्या गरिदिएको ‘बोक्सी घर’को झझल्को दिलाउँछन् । अझ हलभित्र पस्नेबित्तिकै अन्धकारबीच बेलाबेला फैलिने प्रकाशको तेजमा देखिने दृश्यले ‘बोक्सीको कथा’ सुनेर आएका दर्शकमा त्रासको सिर्जना गरिदिन्छ । वैज्ञानिक विचारमाथि पूर्ण विश्वास गर्न नसक्ने दर्शकमा सहजै त्यसले प्रभाव पार्छ । त्यस्ता दर्शक नाटक सुरु हुनेबेलासम्ममा कुनै न कुनै रुपमा चिच्याइसकेका हुन्छन् । तर नाटकमा कथाको सुरुवातसँगै दर्शक बालापनमा तानिन्छन् । कथाले अलि पुरानो समाजमा लैजान्छ, जहाँ बालविवाहको प्रथा कायमै हुन्छ । धेरै उमेरको व्यक्तिसँग विवाह गर्ने चलन कायमै हुन्छ । त्यही चलनको चक्कामुनि पिसिँदै सुरु भएको बालिकाको जीवनमा कस्ता उतार–चढाउ आउँछन् र उनलाई कसरी परिवार र समाजले बोक्सी करार गरिदिन्छ भन्ने कथाले नाटकलाई बाँधेको छ । टकको सबैभन्दा सवल पक्ष भनेको यसले बोक्सीको सामाजिक र आर्थिक आधारलाई प्रष्ट पारेको छ । त्यसका साथै महिलामाथि हुने हिंसाका पराकाष्ठाहरुलाई उजागर गरिदिएको छ । आर्थिक वा सामाजिक रुपमा कमजोर महिलामाथि यस्तो आरोप लाग्ने गरेको नाटकले स्पष्ट पारिदिन्छ । बोक्सीप्रथालाई उपयोग गर्दै एकल महिलामाथि हुने हिंसाको वीभत्स रुप नाटकमा देखिन्छ । नाटक हेरिसक्दा दर्शक घरभित्रैबाट कसरी कथित ‘बोक्सी’को उत्पादन हुन्छ र त्यसको सामाजिक आर्थिक आधार कतिसम्म निकृष्ट छ भन्ने प्रष्ट हुन्छन् । त्यसो त नाटकमा आरोपित महिलालाई अझ निरीह बनाएर प्रस्तुत गरिएको छ । उसले मृत्युलाई सहज स्वीकार गराइएको छ । अहिलेको समाजका नारीलाई त्यति निरीह आँकलन गर्नु लेखकीय कमजोरी मान्छु म । हुन त समाजमा अझै पनि त्यस्तो कमजोरी नभएको होइन, तर समाजको मूल प्रवृत्तिचाहिँ अब कमजोर छैन । बालविवाह र धेरै फरक उमेरबीचको विवाहको चलन पनि फेरिएको छ । गरणको तह माथि उक्लेको छ, सहने प्रवृत्तिलाई विस्थापित गर्दै विद्रोहको प्रवृत्ति नै मुख्य हुँदै आइरहेको छ । त्यसैगरी समाजको संरचना पनि नाटकमा वर्णितभन्दा फरक भइसकेको छ । हिंसा उसैगरी कायम छ, तर स्वरुप फेरिएको छ । त्यसैले अबको कलासाहित्यले पनि समाजको त्यो उज्यालो प्रवृत्तिलाई नै बलियो बनाउँदै लिएर जानु आवश्यक छ भन्ने लाग्छ । फेरिएको हिंसाको खोज गरी त्यसलाई प्रहार गर्नु अबको कलासाहित्यको दायित्व पनि हो । नाटकमा कुनै न कुनै ढंगले त्यो प्रवृत्तिको कलात्मक संकेत आएको भए हुन्थ्यो । तथापि नाटकले अहिलेसम्म पनि ‘बोक्सी प्रथा’ कायम रहनुको कारण भने पहिल्याएको छ । समाजले कसरी कुप्रथाको आडमा नारीलाई ‘बोक्सी’ करार गर्दै उसलाई प्रतिरोधविहीन अवस्थामा पुर्याउँछ भन्नेचाहिँ नाटकमा अभिव्यक्त छ । जे पनि गर्न सक्ने भनिएको ‘बोक्सी’हरुले केही गर्न नसक्ने भनिएका दुव्र्यवहारकर्तालाई नै केही गर्न नसकेको पात्रको स्वीकारोक्तिमा नै हामीले प्रतिरोधको झिल्को खोज्नुपर्ने बाध्यता हुन्छ नाटकमा । नाटकको कथाक्रमको अन्तिमतिरको उक्त संवादले ‘बोक्सीप्रथा’को पुरातन मान्यतालाई चाहिँ खारेज गरिदिएको छ र यो नारी शोषणको निकृष्टतम् कर्म हो भन्ने प्रमाणित गरिदिएको छ । निर्देशनको दोस्रो खुड्किलोमा आइपुग्दा सुलक्षणले आफूलाई कलात्मक रुपमा अझ सचेत निर्देशक प्रमाणित गरेका छन् । पहिलो त नाटकमा उनले समाजका रुढिले पैदा गर्ने ‘हरर’लाई कलात्मक ढंगले प्रयोग गरेका छन् । उनी नाटकको सुरुमा रुढिग्रस्त समाजको प्रभाव बोकेर आएका दर्शकको डरको तह जाँच्छन् र अन्तिममा नाटकमार्फत सचेतना पैदा गराएपछि पनि अवचेतन मनमा बसिरहने रुढिको तह जाँच्छन् । यसरी हेर्दा रुढिग्रस्त मान्यताले पैदा गरेको डरबाट ‘हिलिङ’ हुने प्रक्रिया पनि नाटकमा प्रयुक्त छ । अर्कातिर यो राज्यप्रति ध्यानाकर्षणको प्रयास पनि हो । राज्यको केन्द्र सिंहदरबारनजिकै रहेको नाटकघरमा अझै ‘बोक्सी’ विषयमा नाटक देखाउनुपर्ने बाध्यता भनेको आफैंमा ‘राज्य कहाँ छ ?’ भन्ने चर्को स्वर हो । कानुनै बनिसक्दा पनि यस्ता घटना बारम्बार भइरहनु र त्यसमा प्रशासकीय चासो नदेखिनु आफैंमा कानुनीराजको दुहाइ दिने राज्यप्रति कुरीकुरी हो । त्यो हिसाबले यसमा प्रयुक्त व्यंग्यको लक्षणा बलियो छ । नाटकको मञ्च फरक र आकर्षक छ । जसको परिकल्पना पनि लेखक तथा निर्देशक सुलक्षणले नै गरेका हुन् । मञ्चमा देखिने दीर्घजीवी पीपलको बोटले समाजमा दीर्घकालदेखि जरा गाडिरहेको कुप्रथाको संकेत गर्छ । पीपलको बोटछेउछाउ ‘बोक्सी’ आउँछन् भन्ने अवैज्ञानिक र पुरानो मान्यताको बोटमुनि नै नाटककारले महिलामाथि हिंसा भएको घटनालाई देखाएर त्यो मान्यताको पंगुपना र आधारहीनता प्रमाणित गरेका छन् । त्यसो तख कथावाचनमा महत्वपूर्ण पात्रको रुपमा पीपलको पातलाई उपयोग गरिएको छ । पात्रले अधिकांश कथा पातलाई सुनाउँछिन् अर्थात पुरानो मान्यताको जड वर्ग र त्यसलाई मान्यता दिइरहने राज्यलाई घटनाको दर्द सुनाउन र बुझाउन चाहन्छिन् । मञ्चको भुई पाँच प्राकृतिक रंगले सजिएको छ । जसले धर्तीको सम्पूर्ण अस्तित्वलाई बिम्बित गर्छ । जमिनमा पाइने पाँच तह त्यसमा प्रस्तुत छ । त्यसमा प्रयोग भएका प्राकृतिक रंगले पनि पात्रको मनोविज्ञानलाई अभिव्यक्त गर्छ । बालापनको सुकसुकाउँदो उज्यालो रंग, उमेर नै नपुगी बिहे गर्नुपर्दाको उजाड मनको उदास रंग, जीवन अन्धकारमा डुब्दाको कालो रंग, वैधव्यतापछिको सपाट रंग आदि पात्रले अभिनय गर्ने भूइँमै देखिन्छ । त्यसैगरी प्रकाश परिकल्पनाले पनि नाटकलाई विम्बात्मक रुपमा बलियो बनाएको छ । दिपल बरालका साथमा सुलक्षणले प्ररिकल्पना गरेको प्रकाश दिपलले परिचालन गरेका छन् । नाटकको अधिकांश भागका नीलो प्रकाश प्रयोग गरिएको छ, जसले पात्रको जीवनको चिसोपनलाई अभिव्यक्त गरेको छ । त्यसो त विवाहको माहौलमा प्रयोग भएको गुलाबी प्रकाश र बालापनको अवस्थामा प्रयोग भएको उज्यालो प्रकाशले कथाको भावलाई रंगमार्फत अभिव्यक्त गरेका छन् । त्यसो त नाटकलाई प्रभावशाली हुनको अर्को पाटो रंगकर्मी सरिता गिरी हुन् । कुनै पनि कलाकारको लागि ‘सोलो पर्फमेन्स’ अवसर र चुनौती दुवै हो । उसले आफ्नो प्रतिभालाई सम्पूर्ण रुपमा प्रस्तुत गर्ने पूर्ण अवसर प्राप्त गर्छ भने सम्पूर्ण नाटकलाई आफ्नै बलमा थाम्नुपर्ने चुनौती पनि उत्तिकै हुन्छ । सामूहिक नाटकमा एउटा कलाकार कुनै बेला कमजोर बने पनि अर्कोले उठाइदिने अवसर हुन्छ । प्रतिक्रिया हुने हुँदा कमजोर हुने सम्भावना पनि कम हुन्छ । तर एकल प्रस्तुतिमा यस्तो अवसर हुँदैन । सरिताले यो चुनौतीलाई अवसरमा बदलेकी छिन् । सम्पूर्ण नाटकभर दर्शक उनको अभिनय कौशलतामा कायल हुन्छ । त्यसो त उनी यसअघि पनि सोलो नाटकमा अब्बल सावित भइसकेकी हुन् । गुरुकुलमा मञ्चित ‘मिस मार्गरिटा’ र प्रज्ञा प्रतिष्ठानमा मञ्चित ‘स्वास्नीमान्छे’ नाटकबाट उनले उत्साहपूर्ण प्रतिक्रिया प्राप्त गरेकी थिइन् । ती नाटकमा एउटै पात्रको मनोविज्ञानमा उनले काम गरेकी थिइन्, तर यसमा भने एउटै पोशाकमा विविध पात्रको मनोविज्ञानलाई व्यक्त गर्नुको चुनौती थियो । त्यो चुनौतीमा पनि उनले आफूलाई प्रभावशाली प्रमाणित गरेकी छिन् । सामाजिक अभियानकै हिसाबले पनि यो समाजका सबै पक्षले हेर्नुपर्ने नाटक बनेको छ । नाटक १२ भदौसम्म सोमबारबाहेकका दिनमा साँझ सवा पाँच बजे र शनिबार दिउँसो एक बजे अतिरिक्त मञ्चन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप