सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

८५ प्रतिशत नेपाली अझै आँखासम्बन्धी स्वास्थ्य सेवाबाट बञ्चित, सेवा लिने धेरै विदेशी

बिहीबार, ११ माघ २०७४, १८ : ५२
बिहीबार, ११ माघ २०७४

काठमाडौँ । नेपालको जनसङ्ख्या र आँखा स्वास्थ्य सेवा लिनेको हालको अवस्था हेर्ने हो भने १५% मात्रै नेपालीसम्म आँखा स्वास्थ्य सेवा पुगेको देखिन्छ । नेपाल नेत्र ज्योती संघका कार्यक्रम प्रमुख शैलेश कुमार मिश्रको अनुसार अहिले सम्म नेपालको आँखा स्वास्थ्य सेवा लिनबाट ८५% नेपाली समक्ष आँखा सेवा पुग्न सकेको छैन । 

दृष्टिविहीनसम्बन्धी विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा अध्ययन अनुसार नेपालमा दृष्टिविहीनताको स्थिति सन् १९८१ मा ०.८४% रहेको थियो भने हाल ०.३५% घटेको छ । तर, दृष्टिविहीनताको स्थिति सन् १९८१ को तुलनामा समानुपातिक रुपले आधाभन्दा बढी घटेको भए पनि अहिले देशको जनसङ्ख्या अनुसार दृष्टिविहीनको कुल सङ्ख्यामा भने कुनै पनि परिवर्तन भएको छैन । अर्थात नेपालमा सन् १९८१ मा १ लाख २० हजार दृष्टिविहीन थिए भने अहिले पनि नेपालमा त्यतिनै दृष्टिविहीन आँखा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् ।    

यो संख्या भनेको निकै जटिल अवस्था अथवा दुबै आखाँ देख्न नसक्ने नागरिकहरु रहेका छन् ।  परिवारमा कोही नभएको , अथवा परिवारमा भएका पनि दृष्टिविहीननै हुदा त्यस्ता नागरिकलाई शिविर अथवा स्वास्थ्य संस्थासम्म ल्याउने कुनै पनि माध्यय नभएका व्यक्तिहरु छुटेको संघले जनाएको छ ।   

नेपालमा ६ मिटरको दूरीलाई आधार मान्दा अनुमानित २ लाख २० हजार नागरिकहरु दृष्टिविहीन रहेका छन् भने ३ मिटरलाई आधारमान्दा अनुमानित ९३ हजार ४ सय नागरिक दृष्टिविहीन रहेका छन् । ती मध्ये ५० वर्षभन्दा माथिका नागरिकको अनुमानित संख्या २.५ प्रतिशत रहेको छ । दृष्टिविहीनहरुमध्ये ६६ प्रतिशत उपचारका माध्यमबाट निवारण गर्न सकिने छ भने १६ प्रतिशत दृष्टिविहीन रोकथाम गर्ने खालको रहेका छन् ।

 शल्यक्रिया गर्नेमा विदेशी नागरिक धेरै 
नेपालमा मोतियाविन्दूको शल्यक्रिया गराउनेमा नेपाली भन्दा पनि अन्य मुलुकका नागरिकहरु धेरै रहेको देखिएको छ । नेपाल नेत्रज्योती संघ दिएको जानकारी अनुसार नेपालमा एक वर्षमा ३ लाख ५० हजार नागरिकले मोतियाविन्दूको शल्यक्रिया गरेका छन् । जसमा १ लाख २५ हजार नेपाली र २ लाख २५ हजार अन्य मुलुकका नागरिकले शल्यक्रिया गरेका छन् । भारतको विहार, उत्तर प्रदेश, आशाम, बङगाल लगायत विभिन्न राज्यबाट नेपालमा आखाँ उपचारको लागि आउने गरेका छन् । यस्तै भुटान र बंगलादेशका नागरिकहरु पनि नेपालको आँखा अस्पताल र केन्द्रहरुबाट उपचार गराएका छन् ।

यसमा पनि बार्षिक ४० हजार नेपाली नागरिकको मोतियाविन्दूको शल्यक्रिया नेपाल सरकार र संघको सहकार्यमा निःशुल्क गराउँदै आइरहेको छन् ।  ३ लाख १० हजारले भने विभिन्न आँखा अस्पताल मार्फत मोतियाविन्दूको शल्यक्रिया गराउने गरेका छन् । 

जनसङ्ख्या अनुसार छैन सेवा 
सन् १९८१ मा आँखा स्वास्थ्य सेवाबाट बञ्चित भएका दृष्टिविहीनको संख्या १ लाख २० हजार रहेको थियो ।  झण्डै ४ दशक पछि पनि आँखा स्वास्थ्य सेवा नपाएका नागरिक १ लाख २० हजारनै रहेका छन् । ०८१ को जनसङ्ख्या र अहिलेको जनसङ्ख्यामा दोब्बरनै बढेको कारण दृष्टिविहीनको संख्या पनि बढेको हुँदा प्रतिशतको आधारमा केही कम भए पनि संख्याको आधारमा भने कुनै पनि परिवर्तन भएको छैन ।

तथ्याङ्कलाईनै आधार मान्ने हो भने प्रमुख मिश्रको अनुसार बार्षिक २ लाख नेपालीले मोतियाविन्दूको शल्यक्रिया सेवा पाउनु पर्ने हो । तर १ लाख २५ हजारले मात्रै सेवा पाइरहेका छन् । हालको जनसङ्ख्या अनुसार वर्षमा अझै ७५ हजार नेपालीले मोतियाविन्दूको शल्यक्रिया गर्नबाट बञ्चित भएका छन् ।  

सरकारले आँखाको स्वास्थ्य सेवामा शिविर बाहेक अाँखाको उपचारमा निःशुल्क व्यवस्था गरेको छैन् । छुटेका मध्ये धेरै आर्थिक अभावका कारण आँखा उपचार केन्द्रमा नआउनेहरु रहेका छन् ।  

भन्छन्, बजेट पुगेन 
नेपाल नेत्र ज्योती संघ र आँखाको सवालमा काम गर्ने विभिन्न संघ संस्थाले गरेर बार्षिक एक हजार भन्दा बढी अाँखा शिविरहरु संचालन गरिदै आइरहेको छ । सरकारले अाँखाको सवालमा काम गर्नको लागि नेत्र ज्योती संघलाई बार्षिक ५ करोड ८० लाख बजेट विनियोजन गर्दै आइरहेको छ । यो रकम नेपालको अाँखाको क्षेत्रमा काम गर्नको लागि अपुग रहेको संघले जनाएको छ । यो बजेट भनेको स्वास्थ्य मन्त्रालयमा विनियोजन गरेको बजेटको ०.०२ प्रतिशत हो । 

सरकारले स्वास्थ्य क्षेत्रमा विनियोजन गर्ने बजेटको १० प्रतिशत अाँखाको क्षेत्रमा छुट्याउने हो भने मात्रै नेपालका सबै नागरिकले सेवा पाउने छ । ¥याप सर्वे अनुसार नेपालमा मोतियाविन्दू प्रमुख अन्धोपनको समस्या हो तर संघको अनुसार क्रमिक रुपमा जलविन्दूको विरामीको संख्या बढ्दै गएको छ । 

विश्वमा आँखा रोगीको अवस्था 
विश्व स्वास्थ्य संगठनको अनुसार विश्वमा करिब २८ करोड५० लाख मानिसहरु न्यूनदृष्टि  दृष्टिविहीनताको समस्याबाट प्रभावित भएका छन् । जसमध्ये अन्धोपनको समस्या ३ करोड ९० लाख मानिसमा रहेको छ भने २४ करोड ६० लाख न्यूनदृष्टिको समस्या भएको पाईएको छ । विश्वका कुल दृष्टिविहीनहरुमध्ये ६५ प्रतिशत मानिस ५० वर्ष माथिका रहेका छन् । विश्वमा ६५ प्रतिशत अन्धोपन मोतियाविन्दू बाट भएको छ भने आँखाको पर्दाजन्य रोगहरुबाट १४ प्रतिशत,आँखाको नानीमा हुने अन्धोपन ६ प्रतिशत,जलविन्दु ५ प्रतिशत र अन्य कारणबाट १० प्रतिशत मानिस दृष्टिविहीन भएको तथ्य रहेको छ । 


  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप