सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतीय राष्ट्रपतिसँग निधिको भेट, भारतद्वारा सरकारको प्रशंसा

शुक्रबार, ०३ भदौ २०७३, २३ : २४
शुक्रबार, ०३ भदौ २०७३

काठमाडौँ– भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भेटघाट गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रूपमा भारत गरेका उपप्रधानमन्त्री विमलेन्द्र निधिले आज नयाँ दिल्लीमा राष्ट्रपति मुखर्जीसँग भेटवार्ता गरेको निधिका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिए । सो अवसरमा राष्ट्रपति मुखर्जीले भारतले सदैव नेपालमा शान्ति, स्थिरता र विकास भएको हेर्न चाहेको बताएका थिए ।

भेटमा उपप्रधानमन्त्री निधिले नेपालका राष्ट्रपतिका तर्फबाट भारतीय राष्ट्रपतिलाई पठाउनुभएको नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए । साथै राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका बारेमा समेत कुराकानी भएको थियो । यसअघि राष्ट्रपति भण्डारीको भारत भ्रमण अन्तिम समयमा स्थगन भएको थियो ।

आज भएको दिनभरको उच्चस्तरीय भेटघाट र छलफलमा भारतीय उच्च अधिकारीले उपप्रधानमन्त्री निधिलाई नेपाल सरकारले संविधान संशोधन र मधेसीका माग सम्बोधन सम्बन्धमा गरेका कार्यको प्रशंसा गरेको स्वकीय सचिव विक्रमको भनाइ छ ।

उपप्रधानमन्त्री निधिसँग भारतीय अधिकारीहरूको भेटघाट र उच्चस्तरको छलफलपछि निकट भविष्यमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालको भारत भ्रमण तथा भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे छलफल भएको स्वकीय सचिव विक्रमले बताए ।

उपप्रधानमन्त्री निधिले आजै यसअघि भारतीय गृहमन्त्री राजनाथ सिंह र विदेश मामिलामन्त्री सुष्मा स्वराजसँग भेटघाट गरेका थिए । गृहमन्त्री निधिले शनिबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाट गर्ने बताइएको छ । भेटका अवसरमा उपप्रधानमन्त्री निधिले प्रधानमन्त्री दाहालको भारत भ्रमणका बारेमा छलफल गर्नेछन् ।

नयाँ सरकार गठनपछि प्रधानमन्त्री दाहालको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयानुसार उपप्रधानमन्त्री निधि दुई देशबीचको उच्च भ्रमणको तयारी तथा राजनीतिक भेटघाटका लागि बिहीबार भारत प्रस्थान गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप