आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नयाँ शक्ति निकट युवा अभियानमा विवाद, ७ नम्बर प्रदेश संयोजक हटाइए

शनिबार, ०४ भदौ २०७३, १६ : २५
शनिबार, ०४ भदौ २०७३

काठमाडौं–नयाँ शक्ति निकट राष्ट्रिय युवा अभियानमा विवाद चर्किएको छ । नयाँ शक्ति नेपालकी ७ नम्बर प्रदेश संयोजक लिला भण्डारीले एक भेला मार्फत शुक्रबार युवा अभियानको संयोजक परिवर्तन गरेपछि विवाद चर्किएको हो ।

भण्डारीले एक भेलाको आयोजना गरि सुरेन्द्र खडायतलाई युवा संयोजक बनाएको बताइएको छ । तर, सुरेन्द्रलाई संयोजक बनाइएको भन्दै यसअघिका संयोजक राजेन्द्र सिंह भण्डारी ‘राज’ ले विरोध जनाएका छन् ।

प्रदेश नम्बर ७ की पार्टी संयोजक भण्डारीले गुटबन्दी गरी पूर्वाग्रह राखेर आफूलाई हटाएर सुरेन्द्रलाई संयोजक बनाएको भन्दै राजले नयाँ शक्ति नेपालको कार्यालय बबरमहलमा पुगेर नेतृत्वलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । रातोपाटीलाई प्राप्त उक्त ध्यानाकर्षणपत्रमा उनले भण्डारीले पूर्वाग्रह राखेर ७ जिल्लाका युवा संयोजकहरुको अनुपस्थितिमै सुरेन्द्रलाई संयोजक बनाएको दाबी गरेका छन् ।

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई सम्बोधन र युवा अभियानका संगठन विभाग प्रमुख, कार्यालय व्यवस्थापन प्रमुख र संयोजक कमल शाहीलाई बोधार्थ गरिएको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘राष्ट्रिय युवा अभियान प्रदेश नम्बर ७ को आधिकारिक संयोजकसँग कुनै पनि छलफल, जानकारी र सहमति नलिई निरंकुशता र तानाशाह शैलीमा प्रदेश नम्बर ७ का सबै जिल्लाका बहुमत युवा संयोजकहरुको सहभागिता बिना केन्द्रको योजना र कार्यक्रम नहुँदा पनि मेरो अनुपस्थितिमा आज तीन गते प्रदेश नम्बर ७ का ९ जिल्लामध्ये ७ जिल्लाका संयोजकहरुको समेत अनुपस्थितिमा भेला गरी गुटबन्दीलाई प्रशय दिइएको छ ।’

उनले पार्टी नेतृत्वले आफ्नो असहमतिलाई गम्भीरताका साथ समिक्षा गरी समस्याको समाधान नगरेमा सोको असर पार्टी निर्माण र युवा अभियानमा पर्ने समेत ध्यानाकर्षण पत्रमार्फत चेतावनी दिएका छन् ।

                                                                  राजले पार्टी केन्द्रीय कार्यालयमा बुझाएको ध्यानाकर्षण पत्रको एक अंश

नयाँ शक्ति नेपाल राष्ट्रिय युवा अभियानको उत्प्रेरकमा देवेन्द्र पराजुली रहेका छन् भने संयोजकमा कमल शाही रहेका छन् । तर, उनीहरुलाई बिना जानकारी सो भेला भएको बताइएको छ । यस विषयमा रातोपाटीले राजसँग बुझ्दा आफूनै प्रदेश नम्बर ७ को संयोजक रहेको र आफ्नो अनुपस्थितिमा नयाँ संयोजक तोकिएको सुन्न आएको भन्दै त्यो आफूलाई अमान्य हुने बताए ।

यस्तै नयाँ शक्ति नेपाल राष्ट्रिय युवा अभियानका प्रचारप्रसार तथा सुचना विभागका प्रमुख कृष्ण घिमिरेले नयाँ शक्तिको प्रदेश नम्बर ७ को संयोजक यसअघिको भेलाबाट राजेन्द्र सिंह भण्डारीलाई चयन गरिएको बताउँदै नयाँ संयोजक बनेको बारे भने आफूलाई थाहा नभएको बताए । पार्टीको युवा विभागका उत्प्रेरक पराजुलीसँग विवादका विषयमा प्रतिक्रिया लिन पटक पटक सम्पर्क गर्दा सम्पर्कमा आएनन् । यसअघि नयाँ शक्ति निकट विद्यार्थी युनियनमा पनि विवाद भएको सार्वजनिक भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप