सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जाजरकोटमा शैक्षिक सुधारका लागि ५ वर्षे जिल्ला शिक्षा योजना

शनिबार, ०४ भदौ २०७३, १० : ४८
शनिबार, ०४ भदौ २०७३

जाजरकोट – जिल्लाको शैक्षिक सुधारका लागी जिल्ला शिक्षा कार्यालयले ५ बर्षे जिल्ला शिक्षा योजना निर्माण गरेको छ । यस बर्षलाई शैक्षिक सुधार बर्ष घोषणा गरेर शैक्षिक सुधारका कार्यक्रम संचालन गदै आएको शिक्षा कार्यालयले पञ्चबर्षिय शैक्षिक कार्यक्रम बनाएर सुधारको योजना थालेकोे हो ।

जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिहले एक कार्यक्रमका वीच जिल्ला शिक्षा योजनाको खाका प्रस्तुत गरेका छन् । जिल्ला शिक्षा योजनामा सरोकारवालासँग सुझाव लिन आयोजित कार्यक्रममा विद्यालय तहको सिकाई उपलब्धी ३६ प्रतिशत मात्र रहेकोमा आगामी ५ बर्ष भित्र कम्तीमा ६० प्रतिशतमा पुरयाउने, हाल विद्यालय उमेर समूहका करिव ६ प्रतिशत बालबालिकाहरु विद्यालय वाहिर रहेकोमा योजनाको अन्त्यमा शुन्यमा झार्ने, कक्षा छाड्ने दर ९ प्रतिशत भएकोमा ५ प्रतिशतमा झार्ने, कक्षा दोह¥याउने दर समग्रमा १० प्रतिशत रहेकोमा योजनाको अन्त्यमा ५ प्रतिशतमा झार्ने लक्ष्य लिईएको जिल्ला शिक्षा अधिकारी सिहले जानकारी गराएका थिए ।

साथै प्रस्तावित योजनामा अनुगमन र सुपरीवेक्षण प्रणालीलाई चुस्त, दुरुस्त, प्रभावकारी बनाउने, विद्यालयको सामाजिक परीक्षण, वित्तिय लेखा परीक्षणलाई प्रभावकारी बनाउन, शिक्षा नियमावलीले तोके अनुसार पुरा दिन विद्यालय संचालनको सुनिश्चितता गर्ने उल्लेख छ । त्यस्तै बालमैत्री सिकाईमा जोड दिने, विद्यालयलाई राजनैतिक हस्तक्षेपबाट मुक्त राख्ने, करार शिक्षक नियुक्तीमा पारदर्शीता र निष्पक्षता कायम गर्ने, योग्यता पुगेका शिक्षकलाई प्रधानाध्यापकमा नियुक्ती गर्ने, भुकम्प प्रतिरोधी र बालमैत्री भौतिक पुर्वाधारको विकास गर्ने, विद्यालयमा शिक्षक विद्यार्थीको नियमित उपस्थितीलाई सुनिश्चित गर्ने लक्ष्य राखिएको जिल्ला शिक्षा अधिकारी सिहले जानकारी दिए ।

योजनामा जिल्लाको शैक्षिक उन्नययनका लागि सर्वपक्षीय सहकार्य, साझेदारी र प्रयत्नलाई जोड दिइ सर्वसुलभ विद्यालय शिक्षाको सुनिश्चितता, शिक्षामा पारदर्शिता, सुशासन र गुणस्तर कायम गर्दै नमूना शैक्षिक संस्थाहरुको प्रर्वद्धन मार्फत यस जिल्लालाई शैक्षिक पर्यटनको गन्तव्य जिल्लाका रुपमा विकास गर्ने दुरदृष्टी लिईएको छ । शैक्षिक योजनालाई सफल बनाई जिल्लाको शैक्षिक विकासमा सहयोग गर्न सरोकारवालालाई जिल्ला शिक्षा समितिका अध्यक्ष एवं स्थानिय विकास अधिकारी इन्द्र गौतमले आग्रह गरेका छन् । उनले सवै पक्ष लाग्ने हो भने योजना कार्यान्वनमा सहजता हुने र योजना कार्यान्वयन हुने वित्तिकै शैक्षिक सुधारमा आमुल परिवर्तन आउने बताए ।

कार्यक्रमका सहभागीले ५ बर्षे योजना शैक्षिक उन्नयनका लागी कोशे ढुङ्गा सावित हुने बताउँदै कार्यान्वयनमा जोड दिएका छन् । कार्यक्रममा नागरिक अगुवा राजेन्द्र विक्रम शाहले शैक्षिक सुधारका लागी शिक्षकलाई राजनिति गर्नबाट बन्देज लगाउनु पर्ने धारणा राखे । विद्यालय बालमैत्री हुनु पर्नेमा जोड दिदै शैक्षिक सुधारको लागी विद्यार्थी, अभिभावक र शिक्षक अग्रसर रहनु पर्ने उनको भनाई छ ।

त्यस्तै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष जनक के.सीले नपढाउने शिक्षकलाई कारवाही गर्नु पर्ने बताउँदै कागजमा योजना मात्र नहुने भएकोले कार्यालयले कार्यान्वयनमा कडाईका साथ लाग्नु पर्ने सुझाव दिए । कार्यक्रममा सहभागी जिल्ला स्थित राजनैतिक दल, नागरिक समाजका प्रतिनिधीहरु, गैरसरकारी संस्थाका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, पत्रकार लगायतले जिल्लाको शैक्षिक अवस्था निकै खस्किएकोले योजनाले शैक्षिक सुधारमा सहयोग गर्ने भन्दै जिल्लाको शैक्षिक योजनाले निर्धारण गरेका लक्ष्य पुरा गर्न आ आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । प्राप्त सुझावहरुलाई समेटेर केही दिनमै ५ बर्ष जिल्ला शिक्षा योजनालाई मुर्त रुप दिई कार्यान्वयनमा ल्याउने जिल्ला शिक्षा अधिकारी सिहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप