सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खोप्रा लेक : पहाडकी परी

शनिबार, ०४ भदौ २०७३, १० : ५६
शनिबार, ०४ भदौ २०७३

म्याग्दी–पहाडको टाकुरामा वरपर हरियाली छाएको भिरालो घाँसे मैदान । पुष्ठभुमिमा दन्तलहरझै हिमाल । तलतिरका वन, टाढा, टाढाका मनमोहक पहाडी भुगोल एवं ग्रामिण बस्तीहरु । बिहानीमा देखिने सुर्योदयले म्याग्दीको शिख गाविस ६ मा पर्ने खोप्रा लेकको सौन्दर्यलाई थप आकर्षक बनाउँछ ।

‘पहाडकी परी’को रुपमा परिचय बनाउदै गएको खोप्रा लेक समुन्द्री सतहदेखि तिन हजार ६०० मिटरको उचाईमा अवस्थित छ । मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी, धौलागिरी, गुर्जा लगायतका दर्जनौ हिमशृङखलालाई नजिकबाट अवलोकन गर्न पाउनु खोप्राको प्रमुख बिशेषता हो । दृष्य अवलोकनका लागि मात्र नभई खोप्रा प्राकृतिक, जैविक र भौगोलिक हिसावले पनि मनमोहक छ । भिरालो पहाडको टुप्पोमा अवस्थित समथर खोप्राबाट सुर्योदयको साथमा म्याग्दी, पर्वत र कास्कीका पहाडी बस्ती एवं पोखरा बजार लगायत थुप्रै मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

यसका साथै खोप्रा क्षेत्रमा ५० भन्दा बढी प्रजातीका जडिवुटी तथा हिमाली वनपैदावारका साथै एक दर्जन प्रजातीका लालीगुराँस पाईन्छन् । मृग, घोरल, डाँफे लगायत जंगली जनावर र पंक्षीहरुको अवलोकन गर्न सकिन्छ ।

प्राकृतिक सौन्दर्यता, रंगिविरंगी मगमग बास्ना आउने दर्जनौ प्रजातीका फुल, जडिवुटी, बोटबिरुवाको अवलोकन गर्न पाउनु खोप्राको बिषेशता रहेको शिख पाउद्धारका अगुवा भिमबहादुर तिलीजाले बताए । रमथर भुगोलको चरनमा पालीएका चौरी र भेडाका बथानले पर्यटकलाई लोभ्याउने गरेको छ ।

एकै ठाउँमा प्रकृतीको धेरै किसीमका सौन्दर्यतामा रमाउन पाउनु खोप्राको आकर्षण भएको हालै त्यस क्षेत्रको भ्रमण गरेर फर्कीएका बागलुङका सुवास श्रेष्ठले बताए । खोप्रामा सूचना प्रबिधिका अभियन्ता महाबिर पुनले बेतारे ईन्टरनेटको रिपीटर टावर, मौसम सूचना केन्द्र सञ्चालन गरेका छन् ।

बसन्त ऋतुमा खोप्रा वरपरका पाखो लालीगुराँस फुलेर रंगीन्छ । बर्खा याममा रंगी बिरंगी बुकी फुलेर वातावरणमा उमंग थपिन्छ । बादलले एकै छिनमा हिमाललाई ढाक्ने र केही समयमा खुल्ने गरेको दृष्य बादल र हिमालले लुकामारी खेलेजस्तो लाग्छ । खोप्रालाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न स्थानीय बासिन्दाले व्यवस्थित पदमार्ग निर्माण र खानेबस्ने सुबिधाका लागि सामुदायीक लज सञ्चालन गरेका छन् ।

वि.स २०६५ मा स्थापना भएको २० जना क्षमत्ताको सामुदायीक लजको आम्दानी पाउद्धार मावि र नांगीको हिमाञ्चल उच्च मावि सञ्चालनका लागि खर्च हुदै आएको छ । वार्षिक करिब चार सय जनाको अनुपातमा खोप्रामा बिदेशी पर्यटक भ्रमणका लागि आउने गरेका सामुदायीक लजका व्यवस्थापक नविन पुनले बताए ।

हरेक वर्षको साउन महिनामा करिब एक हप्तासम्म खोप्रा लेकमा चौरी गाईको आलो रगत पिउने मेला लाग्ने गर्छ । असोज, कात्तिक र चैत, बैशाखको याम खोप्रा यात्राको लागि उपयुक्त मानिन्छ । शिखको बयली, कास्कीको घान्द्रुक, म्याग्दीको तातोपानी पाउद्धार र नारच्याङ हुँदै खोप्रा पुग्न सकिन्छ ।

विश्व प्रसिद्ध पर्यटकीय गन्तब्य मानिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) अन्तरगत पर्ने खोप्रालाई अन्नपूर्ण धौलागिरी सामुदायीक पर्यावरणीय पदमार्गले समेटेको छ । बयली डाँडखर्क र नारच्याङ हुदै खोप्रा पुग्ने बाटो भिरालो, साधुरो तथा पदचिन्ह नहुँदा पर्यटकले दुख पाउने गरेका छन् ।

खोप्रा भएर अन्नपूर्ण हिमालको फेदीमा रहेको खयरबाराही तालमा पुग्न सकिन्छ । समुन्द्री सतहदेखि चार हजार ६०० मिटरको उचाईमा अवस्थित खयरबाराही तालमा हरेक वर्षको जनै पूर्णीमाको दिन मेला लाग्ने गर्छ । पृष्ठभुमिको हिमाल देखिने ताल परिसरको थानमा पुजाआजा र दर्शन गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ ।

खोप्राको पर्यटन प्रर्वद्धनका लागि पाउद्धारका बासिन्दाले आफन्तको स्मृतीमा पदमार्ग निर्माण गर्दै आएका छन् । डाँडखर्क र नारच्याङ तर्फको पदमार्गको मर्मत एवं सुधारका लागि पहल गरेपनि सरकारी निकायबाट सहयोग नभएको स्थानीयको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप