आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निधिले भेटे भारतीय प्रधानमन्त्री मोदी, बुझाए प्रधानमन्त्री प्रचण्डको सन्देश

शनिबार, ०४ भदौ २०७३, १४ : ०१
शनिबार, ०४ भदौ २०७३

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतमा रुपमा दिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्दसँग शनिबार मध्यान्ह भेटघाट गरेका छन् । निधिले मोदीलाई उनको निवास सेभेन रेसकोर्समा भेटेका हुन् । भेटका क्रममा निधिले संविधान संशोधनमा भइरहेको प्रयास, संविधान कार्यान्वयनमा भारतको सहयोगलगायतका विषयमा मोदीसँग छलफल गरेको बताइएको छ ।

भेटका क्रममा निधिले सरकारले नेपाल भारतबीचको सदियौंदेखिको सम्बन्ध थप मजबुत बनाउन चाहेको भन्दै प्रधानमन्त्री प्रचण्डको चार सन्देश समेत मोदीलाई हस्तान्तरण गरेको बताइएको छ । प्रधानमन्त्रीको सन्देशमा संविधानमा आवश्यक संशोधन गरी त्यसलाई सर्वस्वीकार्य बनाएर सकेसम्म छिटो चुनावमा जाने , नयाँ सरकार भारतसँगको सम्वन्धलाई सुमधुर बनाउन तयार रहेको, दुई पक्षीय उच्चस्तरीय भ्रमण र नयाँ सरकारले विकासका परियोजनाहरुलाई अगाडी बढाउन चाहेको कुरा उल्लेख गरिएको छ । भेटका क्रममा मोदीले नयाँ सरकार बनेसँगै दुई देशबीचको सम्बन्ध मजबुत हुने विस्वास व्यक्त गरेको बताइएको छ । मोदी र निधिबीच ४५  मिनेट कुराकानी भएको थियो  । उपयुक्त समयमा नेपाल आउछु: मोदी  भेटका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू नेपाल आउन ईच्छुक रहेको स्पष्ट पारेका थिए । मोदीले भारत नेपालमा शान्ति, स्थायित्व र विकास भएको हेर्र्न चाहने समेत बताए । भेटमा भारतीय प्रधानमन्त्री मोदीलाई मन्त्री निधिले प्रधानमन्त्री प्रचण्डको नेपाल भ्रमणको निम्तो हस्तान्तरण गरेका थिए । मोदीले संविधान जारी भएपछिको नेपालको राजनीतिक अवस्थाको बारेमा चासो व्यक्त गरेका थिए । जवाफमा मन्त्री निधिले संविधानमा असन्तुष्ट राख्ने मधेशी मोर्चाको माग सम्बोधन गर्नेगरि छिट्टै संशोधन प्रस्ताव अघि बढाईनेवारे विश्वास दिलाएका थिए । भेटमा निधीले संविधान कार्यान्वयनमा भारतको सहयोग, द्धिपक्षीय सम्बन्ध सुधारका साथै दुई मुलुकबीच उच्चस्तरिय भ्रमण गराउने बिषयमा मोदीसंग कुराकानी गरेका छन् । मोदीले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुर्याउने गरि अघि बढ्नुपर्ने धारणा राखेका थिए । मोदीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘संविधान कार्यान्वयन भएर नेपालमा विकास भएको हेर्न हामी आतुर छौं ।’ निधिले प्रधानमन्त्री मोदीलाई जनकपुर, मुक्तिनाथ र लुम्बिनीमा धार्मिक भ्रमण गराउने बारेमा विशेष आग्रह गरेका थिए । जवाफमा मोदीले आफू उपयुक्त समयमा नेपाल भ्रमणमा आउने आश्वासन दिएका थिए । भेटमा भारतको तर्फबाट मोदीसँगै विदेश सचिव एस. जयशंकर, सुरक्षा सल्लाहकार अजित दोभल र नेपालका लागि भारतीय राजदुत रञ्जित राय रहेका थिए भने नेपालको तर्फबाट मन्त्री निधि र भारतका लागि कार्यवाहक राजदुत कृष्णप्रसाद ढकाल थिए ।  

बिहिबार भारत गएका निधिले शुक्रबारदेखि उच्चस्तरीय भेटघाट थालेका थिए । उनले शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी, विदेशमन्त्री सुष्मा स्वराजलगायतसँग भेटवार्ता गरेका थिए ।

दिल्लीमा निधिको उच्चस्तरीय भेटघाट र छलफलमा भारतीय उच्च अधिकारीले नेपाल सरकारले संविधान संशोधन र मधेसीका माग सम्बोधन सम्बन्धमा गरेका कार्यको प्रशंसा गरेको बताइएको छ ।

उपप्रधानमन्त्री निधिसँग भारतीय अधिकारीहरुको भेटघाट र उच्चस्तरको छलफलपछि निकट भविष्यमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालको भारत भ्रमण तथा भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे छलफल भएको स्वकीय सचिव विश्वास विक्रमले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप