आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२५ मेट्रिक टन फोहर व्यवस्थापन

शनिबार, ०४ भदौ २०७३, १४ : ५७
शनिबार, ०४ भदौ २०७३

काठमाडौँ, भदौ ४– उपत्यकाका प्रमुख नदी सफाइको क्रममा निस्केका २५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

बागमती सफाइको एकसय ७१ औँ हप्तामा आज काठमाडौँको त्रिपुरेश्वर र ललितपुरको गुसिङ्गाल क्षेत्रको नदी किनारमा सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ललितपुर उद्योग वाणिज्य महासङ्घ लगायत ३५ संस्थाका ६५० जनाको उपस्थिति थियो ।

सफाइका क्रममा गत हप्तादेखि बागमती नदी किनारमा फोहर फाल्नेलाई जरिवाना गर्न थालिएको बागमती समितिका समाजशास्त्री माला खरेलले जानकारी दिए ।

“नदी किनारमा फोहर फाल्नेबाट गत हप्ता रु ८१ हजार जरिवाना असुल गरिएकोमा यो हप्ता रु २५ हजार जरिवाना असुल गरिएको छ”–उनले भने ।

सफाइसँगै बागमती सफाइ महाअभियानले सुरु गरेको घरदैलो जनचेतनामूलक कार्यक्रमलाई आज पनि निरन्तरता दिइएको छ । जस अन्तर्गत त्रिपुरेश्वर, गुसिङ्गाल क्षेत्रका घर–घरमा गई नदीमा फोहर नफालौँ, फोहर फाल्नेलाई सामाजिक रुपमा बहिष्कार गरी कारबाहीको दायरामा ल्याऔँ र सफाइ महाअभियानमा सहभागी बनौँ लगायतका नाराले जागरण फैल्याइएको समितिले जनाएको छ ।

सफाइको नेतृत्व पूर्व खानेपानी तथा सरसफाइ सचिव सुरेशप्रकाश आचार्य र ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेले गरेका थिए । रुद्रमती सफाइको १३० औँ हप्तामा आज कमलपोखरीको सफाइ गरियो । प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा सम्पन्न सफाइमा कमलपोखरीको जलकुम्भी उखेलिएको रुद्रमती सरोकार समाजका अध्यक्ष वासुदेव मरासिनीले जानकारी दिए ।

प्रहरी, विद्यार्थी र समाजका गरी ६०० व्यक्तिको सहभागितामा सम्पन्न सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । आगामी शनिबार पनि एकसय ३१ औँ हप्ताको रुद्रमती सफाइ कमलपोखरीकै जलकुम्भी उखेल्न उपयोग गरिने अध्यक्ष मरासिनीले जानकारी दिए ।

विष्णुमती सफाइको १०६ औँ हप्तामा आज परोपकार पुल क्षेत्रको विष्णुमतीमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । धरहरा नजिकैको सुनधारा भन्दा पुरानो ३०० वर्ष लामो इतिहास बोकेको परोपकार पुल नजिकैको सुनधारामा ढलेका रुख पन्छाइएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिए ।

नख्खु खोलाको ५९ औँ हप्तामा आज कार्य विनायक नगरपालिकास्थित सफल पार्क गणेश मन्दिर क्षेत्र सफाइ गरिएको अभियानकर्मी बलदेव पाण्डेले बताए । यस क्षेत्रको घर–घरबाट ‘नेप्से म्याक’ प्रालिले फोहर सङ्कलन गरी लैजाने गरेको छ । यसका लागि घर धनीले मासिक रु ३५० तिर्ने गरेका छन् ।

यस्तै गुह्येश्वरीमाथिको बागमतीमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी तथा पुडासैनी मैत्री समाज र जोरपाटी नारायणटार पुलदेखि गोकर्णसम्मको बागमतीमा माहाङ्कालवारी टोल सुधार समितिले सफाइ गरेका छन् ।

बागमती सफाइ महाअभियानबाट प्रभावित भएर पोखरा उपमहानगरवासीले तिर्के बुलन्दी खोला सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । पोखरामा १२ हप्ता अघिदेखि सफाइ अभियान सुरु गरिएको हो ।

सफाइ अभियानको १२ औँ हप्तामा बागमती सफाइ महाअभियानका अभियानकर्मीद्वय नारायण श्रेष्ठ र एलपी भानु शर्मा हौसला प्रदान गर्न पोखरा पुगे । सफाइमा पोखरा उपमहानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मुक्तिनाथ विकास बैंकका गरी ५०० व्यक्तित्वको सहभागिता रहेको बागमती समितिको सदस्य समेत रहनुभएका श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप