आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ललितपुरमा कफी व्यवसाय फस्टाउँदै

शनिबार, ०४ भदौ २०७३, १७ : १२
शनिबार, ०४ भदौ २०७३

ललितपुर- ललितपुरमा अर्गानिक कफीको व्यवसायिक उत्पादन हुन थालेको छ । यस व्यवसायवाट कृषकले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न समेत सफल भएका छन् । कफी खेतीका लागि किसानले आफ्नै वा अरुको जग्गा भाडामा लिने गरेका छन् ।

विशेषगरी जिल्लाको दक्षिणी भेगमा पर्ने दुर्गम गाविसमा यो व्यवसाय फस्टाउँदै गएको हो । लगनखेलबाट ६० किमीको दूरीमा अवस्थित ठूलादुर्लुङ, चन्दनपुर, गिम्दी, आश्राङ, प्युटारलगायतका गाविसमा अर्गानिक कफी उत्पादन हुने गरेको छ ।

यहाँ उत्पादित कफी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बिक्री वितरण हुँदै आएको छ । विगत ६ बर्षदेखि यस व्यवसायमा संलग्न रहनुभएका ठूलादुर्लुङ–२ का गोपाल विश्वकर्माले कफी व्यवसायबाटै आफ्नो घरगृहस्थी राम्रो संग चलाएको बताउँछन् ।

आफ्नो दुई रोपनी जग्गामा २०० वटा कफी लगाइएको छु, उनले भने – त्यसवाट बर्षेनी रु दुई लाख ५० हजारका दरले आम्दानी हुने गरेको छ । यही व्यवसायबाट आएको आम्दानीले चारजना परिवारको जीविकोपार्जन गर्दै आएकामा उनी दङ्ग छ । यो व्यवसायकै आम्दानीवाट एउटा छोरा र एउटा छोरीलाई बोर्डिङ विद्यालयमा पढाउन पाउँदा उनी झन खुसी छन् ।

यसैगरी आश्राङ गाविसका कृषक राम दङ्गालका अनुसार कफीखेतीबाट रामै्र फाइदा हुने गरेको छ । विगत १५ वर्षदेखि यही व्यवसायबाट आफ्नो जीविकोपार्जन गर्न सफल भएको उनले बताए । कफी प्राविधिक एवम् व्यवसायी मीठाराम जमरकटेलले कफीखेती नेपालको मध्य पहाडी भेगमा हुने गरेको बताउँदै यसलाई नगदेबालीका रुपमा लिने गरेको उल्लेख गरे । समुद्री तहबाट ८०० देखि एक हजार ६०० मिटरको उचाइसम्म यो खेती हुने गरेको उनको कथन छ ।

बिशेषगरी हिउँ, तुसारो नपर्ने स्थानमा यो व्यवसाय राम्रोसंग फस्टाउने गरेका छन् । कफी सहकारी सङ्घ ललितपुरका अध्यक्ष समेत रहेका कृषक डोलराज अधिकारीले पनि आफ्नै जग्गामा गर्दै आएको कफीखेतीवाट बर्सेनि उल्लेखनीय आम्दानी गरेको बताउँछन् ।

यहाँ उत्पादन भएका कफीमध्ये वार्षिक १२ टन ग्रीन विन्स (नभुटेको) जर्मनीमा निर्यात हुँदै आएको बताउँदै उहाँले यो कफी प्रतिकिलो रु ८०० मा बिक्री हुने गरेको भन्नुभयो ।

अध्यक्ष अधिकारीका अनुसार, वार्षिक १३ टन कफी स्थानीय बजारमा बिक्री हुने गरेका छन् । वार्षिक रुपमा यहाँ २५ टन कफी उत्पादन हुँदै आएको छ । विभिन्न स्थानमा गरेर जिल्लामा करिब ८० हेक्टर जग्गामा कफी खेती हुँदै आएको छ ।

नेपालको स्याङ्जा, पाल्पा, नुवाकोट, तनहुँ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, गुल्मीलगायतका जिल्ला कफीखेतीका लागि उपयुक्त मानिएको बताइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप