आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आधिकारिक ट्रेड युनियनलाई काम गर्ने बाटो खुल्यो

आइतबार, ०५ भदौ २०७३, २२ : ०७
आइतबार, ०५ भदौ २०७३
काठमाडौँ– निजामती कर्मचारीको सङ्गठन आधिकारिक ट्रेड युनियनका निर्वाचित कार्यसमितिलाई काम गर्ने बाटो खुलेको छ । सर्वोच्च अदालतले आधिकारिक ट्रेड युनियनका विषयमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन नपर्ने भनेपछि युनियनका कार्यसमितिलाई काम गर्ने बाटो खुलेको हो । सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज दिएको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन नपर्ने भन्दै कामका लागि बाटो खुला गराएका हुन् । राष्ट्रिय कर्मचारी सङ्गठनका तर्फबाट वीरेन्द्र बस्नेतले आफूहरुले उपाध्यक्ष पद पाउनुपर्ने र निर्वाचित उपाध्यक्षलाई कामकारबाही गर्न नदिने भन्दै नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यालयलाई विपक्ष बनाई अन्तरिम आदेश माग गरेका थिए । इजलासले पहिलो मत प्राप्त गर्ने सङ्गठनले नै उपाध्यक्ष पद पाउने व्यवस्था भएकाले तेस्रो मत ल्याउने सङ्गठनले उक्त पद पाउनुपर्दछ भन्ने मागसँग सहमत हुन सकिएन भन्ने फैसला गरेको छ । जेठ १९ गते भएको ट्रेड युनियनको निर्वाचनमा पहिलो हुनेले नेपाल निजामती कर्मचारी सङ्गठनले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित आठ, दोस्रो हुने नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले महासचिवसहित सात र तेस्रो हुने नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले सचिवसहित तीन सदस्य पाएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप