आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भरतपुर अस्पतालमा एकैपटक छ स्थानबाट शल्यक्रिया सेवा

बुधबार, ०८ भदौ २०७३, २१ : १०
बुधबार, ०८ भदौ २०७३
चितवन - चितवनको सरकारी भरतपुर अस्पतालमा अलग–अलग छ शल्यक्रिया कक्षबाट सेवा सुरु गरिएको छ । यसअघि अस्पतालमा एकैकोठाबाट चारवटा अपरेशन टेबल राखेर शल्यक्रिया हुँदै आएकामा आजदेखि छुट्टाछुट्टै कोठाबाट अत्याधुनिक सेवासहित शल्यक्रिया सुरू गरिएको अस्पतालले जनाएको छ । हालै निर्माण सम्पन्न भएको ‘ए’ ब्लक भवनको दोस्रो तल्लामा अत्याधुनिक शल्यक्रिया सेवा थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रूद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । शल्यक्रिया कक्षमा दुईवटा आकस्मिक शल्यक्रिया कक्ष छुट्टाइएको छ । “प्रसूति सेवालाई एक अलग्गै जतिबेला पनि शल्यक्रिया गर्न मिल्ने गरी आकस्मिक कक्षको व्यवस्था गरिएको छ” अप्रेशन इन्र्चाज मीरा अधिकारीले भन्नुभयो – “अन्य आकस्मिक बिरामीका लागि अर्को एक आकस्मिक कक्ष छुट्टाइएको छ ।” त्यसबाहेक चारवटा शल्यक्रिया कक्षमा हप्ताको तीन दिन सबै विभागका लागि शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको छ । यसअघि हप्तामा दुई दिनमात्रै विभागलाई शल्यक्रियाको पालो दिइएको थियो । “अलग अलग शल्यक्रिया कक्ष भएपछि बिरामीमा सङ्क्रमणको खतरा पनि हुँदैन,” अस्पतालका मेसु डा मरासिनीले भन्नुभयो – “हरेक शल्यक्रिया कक्षमा अलग्गै टोली हुन्छ, यसले सेवाको गुणस्तरमा वृद्धि गराउँछ ।” “भरतपुर अस्पतालमा सबैभन्दा ठूलो चाप प्रसूति विभागमा छ,” उहाँले भन्नुभयो – “अलग्गै शल्यक्रिया कक्षको व्यवस्था भएपछि चाप घटाउन सहयोग हुनेछ ।” भरतपुर अस्पतालमा यसअघि दैनिक २० देखि २५ जनासम्मको शल्यक्रिया हुने गरेकामा अबदेखि भने दैनिक ३५ जनासम्मको शल्यक्रिया गर्न सकिने भएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप