पूर्वमन्त्री नवीन्द्रराज जोशीको जीवन : भूपूप्रेमिकाको कहिलेकाँही सम्झना आउँछ
‘मन्त्री बनुँला भनेर राजनीति गरेको होइन,’ पूर्वमन्त्री नवीन्द्रराज जोशीले भने, ‘राजनीतिक नेता समाजका लागि योगदान र प्रेरित गर्ने हुनुपर्छ ।’
अप्ठ्यारोमा परेको समाजलाई साथ दिन सक्नुपर्छ भन्ने पूर्वमन्त्री जोशीसँग रातोपाटीको मेरो जीवनका लागि लिलु डुम्रेले गरेको कुराकानी :
मेरो खाना
कुखुराको मासु र माछा मन पर्छ । मन नपर्ने खाना केही छैन । रेस्टुरेन्ट पुगिहाल्दा साँधेको केराउ मगाउँछु । रुचि भए पनि पकाउन जान्दिनँ ।
मेरो पोसाक
सामान्यतः कोट–पाइन्ट लागाउँछु । मन्त्री हुँदा दौरासुरुवाल लगाएँ । ‘ग्रीन कलर’ को ब्रान्डेड कपडा मन पर्छ । विदेश गएको बेला कपडा किन्छु । नेपाली टोपी लगाउँछु ।
मेरो फिटनेश
मर्निङवाक निस्कन्छु । डाइटिङ छैन । मन लागे योगा गर्छु । जोश हुँदा ट्रेडमिल प्रयोग गरें, अहिले जाँगर चल्दैन ।
मेरो अध्ययन
‘फिक्सन’ देखि धार्मिकलगायत सबै विधाका किताब पढ्न मन पर्छ । एउटा सकेर अर्को किताब पढ्ने बानी छैन । एउटा किताबको केही अंश सकेर अर्को सुरु गर्छु । उत्प्रेरणा जगाउने अंग्र्रेजी, नेपाली लेखकका किताब पढ्न रुचाउँछु । कर्ण शाक्य, कृष्ण धरावासी मन पर्ने लेखक हुन् । मासिक तीन हजार किताबमा खर्चन्छु । बजारमा आएका नयाँ किताब किनिहाल्छु ।
मेरो घुमफिर
घुम्न असाध्यै रुचि छ । नेपालका अधिकांश जिल्ला पुगेको छु । अमेरिका, चीन, बेलायत, जापान र दक्षिण अफ्रिकाको भ्रमण गरेको छु । ट्रेकिङ जान रुचाँउछु । शान्त ठाउँ मन पर्छ । घुमेकामध्ये अस्ट्रिया र चेक रिपब्लिक मन पर्यो । पोखरामाथिका क्षेत्र, इलाम र युरोप घुम्न मन छ ।
मेरो फुर्सद
राजनीतिबाट फुर्सद मिल्दैन । कार्यक्रम कम भए फुर्सद हुन सक्छ । चुनाव सकिएकाले केही फुर्सदिलो छु । फुर्सदमा किताब पढ्छु । छोरीसँग खेल्छु । घरपरिवारलाई समय दिन सकेको छैन । दिने विचारमा छु ।
मेरो खेलकुद
मन पर्ने खेल फुटबल र क्रिकेट हो । अन्य खेल पनि मन पर्छ । स्कुलदेखि कलेज पढ्दाताकासम्म खेलियो । राम्रो खेल्ने टिम रोजाइमा पर्छन् ।
मेरो मोबाइल
सामसुङको मोबाइल प्रयोग गरेको छु । काम गरुन्जेल मोबाइल प्रयोग गर्छु । धेरै एप्लिकेसन चलाउन आउँछ । मोबाइलमा गेम खेल्ने बानी छैन ।
मेरो टेलिभिजन
टीभीमा समाचार, टक शो, धार्मिक कार्यक्रम र कहिलेकाहीं फिल्म हेर्छु । बेलुका टीभी हेर्छु । फुर्सद भयो भने बिहान र अन्य समयमा पनि हेर्छु ।
मेरो चलचित्र
तीन वर्षअघि हलमै पुगेर हेरे पनि चलचित्रको नाम सम्झन सकिनँ ।
मेरो रोग
स्वस्थ छु । दीर्घ रोग छैन । कहिलेकाहीं ‘होलबडी चेक’ गराउँछु ।
मेरो राशी
मेरो राशी वृष हो । ग्रहदशा कस्तो होला, थाहा भएन । औंठी लगाएको छु ।
मेरो सौन्दर्य
कपालमा कहिलेकाहीं मेहेन्दी लगाउँछु । फेसियल गर्ने बानी छैन । सेभिङ गर्दा क्रिम प्रयोग गर्छु । पफ्र्युम प्रयोग गर्ने बानी छ ।
मेरो प्रेम
प्रेमविवाह गरेको हुँ । प्रेम त गरियो, प्रस्ताव कसले राख्यौं बिर्सें । जीवनमा एकतर्फी मन पराउने भइराख्छन् । अव्यक्त प्रेम त हुन्छ नि । त्यसलाई गम्भीर रूपमा लिनुभएन । पुरानो प्रेमिकालाई कहिलेकाहीं सम्झिन्छु ।
मेरो सपना
समृद्ध नेपाल, इमानदार र एकतापूर्ण समाज बनाउने सपना छ । मन्त्री भइसकें । यसपछिको ‘स्टेप’ भनेको प्रधानमन्त्री हो । काठमाडौंलाई बस्नयोग्य र आर्थिक रूपमा चलायमान बनाउने धोको छ ।
मेरो मृत्यु
मृत्यु स्वाभाविक छ । आफ्नो कामबाट समाजले सम्झियोस् ।
यो जीवनकथा पनि पढ्नुहोस्
मुख्यमन्त्रीका दाबेदार झपट बोहोराको जीवन : बैंकर्स बन्ने स्वप्नजीवी मुख्यमन्त्रीको ‘रेस’ मा