आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अतिरिक्त क्रियाकलापले विद्यार्थीको सिकाइ बढ्यो

बिहीबार, ०९ भदौ २०७३, २१ : २४
बिहीबार, ०९ भदौ २०७३
काठमाडौँ- सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलापले विद्यार्थीमा सिकाइ उपलब्धि बढाएको सहभागीले बताएका छन् । शङ्खरापुरको जरहसिंहपौवामा ग्लोबल एक्सन नेपालले आज आयोजना गरेको ‘शिक्षा तथा बालसंरक्षणमा सामुदायिक सहभागिता’ विषयक गोष्ठीमा सहभागीले विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्नाले विद्यार्थीको सिकाइ उपलब्धि बढाएको बताएका छन् । कार्यक्रममा बालज्योति निमावि शङ्खरापुर–२ का प्रधानाध्यापक सीताराम ढुङ्गानाले विद्यालयमा अतिरिक्त क्रियाकलाप गरेसँगै विद्यार्थीले विद्यालयको पढाइ समयावधिमा पूरा समय बस्ने भएकाले सिकाइ उपलब्धि बढेको बताए । जरहसिंहपौवास्थित कालिकाशरण उमाविका प्रधानाध्यापक प्रमोद प्रधानले प्राथमिक तहमा खेल सामग्रीसँगै पढाउँदा विद्यार्थीको सिकाइमा सहयोग मिलेको बताए । शङ्खरापुर–२ चाँपाबोटस्थित चाँपाबोट उच्च माविका प्रअ नारायण धिमालले बालबालिकालाई शैक्षिक सामग्री दिएपछि बालकक्षादेखि कक्षा ३ का बालबालिकाको पढाइमा सकारात्मक परिवर्तन आएको जानकारी दिए । शङ्खरापुर नपा–१ देखि ५ सम्मका १४ विद्यालयमा विद्यार्थीलाई विद्यालय समयमा टिकाउनका लागि खेल सामग्री, शैक्षिक सामग्री प्रदान गर्नुका साथै अतिरिक्त क्रियाकलाप सञ्चालन गरेका छन् । ग्लोबल एक्सन नेपालका परियोजना प्रबन्धक दलबहादुर सुनारले खेल सामग्रीका माध्यमबाट पढाउँदा प्रारम्भिक कक्षाका बालबालिकामा पढ्ने वातावरण निर्माण भएको बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप